• २९ असोज २०८२, बुधबार

खेवाङले दिए गाउँलेलाई ‘भ्यू-टावर’ उपहार

blog

पाँचथर,  असोज २९ गते ।  पाँचथरको याङवरक गाउँपालिका-६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू-टावर निर्माण गरी गाउँलाई उपहार दिनुभएको छ । 

बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त हुनुभएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आउनुभएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू-भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू-टावर निर्माण गर्नुभएको हो । 

व्यक्तिगत रु १५ लाखको लागतमा निर्माण गरिएको भ्यू-टावरको सोमबार खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गर्नुभयो । 

खेवाङको ९७औँ जन्मदिनको अवसर पारेर याङवरक गाउँपालिका-६ को कार्यालय र स्थानीयवासीले भ्यू-टावरको उद्घाटन तथा खेवाङलाई शुभकामना दिने कार्यक्रम आयोजना गरेका थिए ।

खेवाले गाउँमा आइपर्ने सबै समस्यामा आर्थिक र नैतिक सहयोग गरेर ठूलो योगदान दिएका कारण जन्मदिनको अवसरमा सम्मान गरिएको याङवरक-६ का वडाध्यक्ष अमृतबहादुर योङहाङले वताउनुभयो । खेवाङले कमजोर आर्थिक अवस्थाका गाउँलेहरुको स्वास्थ्योपचार, काजकिरिया, सामाजिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आउनुभएको वडाध्यक्ष योङहाङले वताउनुभयो ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले वयोवृद्ध खेवाङले बेलायतमै बस्ने अवसर भए पनि त्यसलाई छोडेर गाउँको सेवामा ५० वर्षदेखि क्रियाशिल हुनु समग्र गाउँपालिकाका लागि भाग्यको कुरा भएको बताउनुभयो । “उहाँले गाउँका हरेक क्षेत्रका योगदान दिनुभएको छ”, उपाध्यक्ष मेन्याङ्बोले भन्नुभयो, “उहाँको आफ्नो जीवनशैली पनि उदाहरण र प्रेरणादायी छ ।”

खेवाङका दुई छोराहरु गणेशबहादुर र दलबहादुर पनि बेलायती सेनामै काम गरी क्रमशः लेफ्टिनेन्ट र गोरखा मेजर पदबाट सेवा निवृत्त हुनुभएको छ । विसं १९८६ असोज २७ गते ताप्लेजुङको थिङलाबूमा जन्मनुभएका खेवाङको परिवार विसं २००५ देखि पाँचथरको चित्तोकमा बस्न थालेको थियो । सोही वर्ष खेवाङ भारतको दार्जिलिङस्थित जलपहाड बेलायती सेनामा भर्ना हुनुभएको थियो । विसं २०३२ मा सेवा निवृत्त भएपछि खेवाङ परेवाडाँडामा आइ बसोबास गर्दै आउनुभएको छ ।

खेवाङको परिवारका कतिपय सदस्य बेलायतमै छन् । आफू पटक–पटक घुम्न बेलायत गए पनि बस्न मन नलागेको उहाँको भनाइ छ । “मलाई यहाँ गाउँमै बस्न, गाउँले जीवनशैलीमा रमाउन मन लाग्छ”, खेवाङले भन्नुभयो, “मलाई मेरा ब्याजीहरुले धरान, काठमाडौँ, दार्जिलिङलगायत ठाउँमा बसौँ भनेका थिए । तर मलाई यहाँ ९परेवाडाँडा० मै बस्ने सहज लागेर बसेको हुँ ।”

आफूले गाउँका लागि सक्दो सहयोग गर्ने गरेको र यसमा सबै गाउँलेहरु खुसी भएको उहाँको भनाइ छ । खेवाङले भन्नुभयो, “परेवाडाँडाबाट धेरै ठाउँको दृश्य राम्रो देखिने भएकाले भ्यू–टावर बनाइदिएको हुँ ।” भ्यू-टावरमा विश्रामस्थल, मोबाइल चार्ज गर्ने व्यवस्थासमेत मिलाइएको छ । भ्यू-टावरबाट तेह्रथुमको आठराई, ताप्लेजुङका दर्जनौँ गाउँहरु तथा पाँचथरतर्फ नेपाल-भारत सीमा चिवाभञ्ज्याङसम्मका दृश्य देख्न सकिने स्थानीयको भनाइ छ । रासस