• १२ मंसिर २०८१, बुधबार

बिजुलीको सास्ती हट्यो

blog

बुटवल समाचारदाता

बुटवल, जेठ ३ गते । रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा ३३ केभिएको विद्युत् सबस्टेसन सञ्चालन भएपछि सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाका स्थानीय हजारौँ घरपरिवारले ‘लो भोल्टेज’ बाट मुक्ति पाएका छन् ।  विद्युत् सबस्टेसन नबन्दासम्म विद्युत् भोल्टेज नहुँदा निकै सास्ती पाएका स्थानीयले अहिले गर्मीयाममा भोल्टेजमा सुधार भएकोमा ठुलो सुविधा पुगेको बताएका छन् । सैनामैना नगरपालिका वडा नं. ९ का पूर्ववडाध्यक्ष डोलराज भण्डारीले सब–स्टेसन निर्माण भएपछि सैनामैना र कञ्चन गाउँपालिकामा लो भोल्टेज समस्या हल हुँदा गर्मीको समयमा जनतालाई राहत मिलेको बताउनुभयो ।   

कपिलवस्तुको मोतीपुर सबस्टेसनबाट करिब ३० किलोमिटरको दुरीमा रहेको सैनामैनाको पिपलडाँडामा निर्माण गरिएको ३३ केभिए सबस्टेसनमा विद्युत् सप्लाई गरी ११ केभिएको चार वटा फिडरमा वितरण सुरु गरिएको हो । 

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश बुटवलका प्रमुख हरिप्रसाद पाण्डेयले सबस्टेसन निर्माण भएपछि सैनामैना र कञ्चन क्षेत्रमा विद्युत्को प्राविधिक चुहावट घट्दा भोल्टेजमा सुधार आएको बताउनुभयो । उहाँले ३३ केभिए विद्युत्लाई सबस्टेसनमार्फत ११ केभिएको चार वटा फिडरबाट सैनामैना र कञ्चनमा वितरण गरिएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा ट्रान्सफर्मर र स्विच गियर खरिदका लागि छ करोड, कन्ट्रोल बिल्डिङ र स्टाफ क्वाटर निर्माणका लागि तीन करोड ४५ लाख गरी नौ करोड ४५ लाख लागतमा आरके इन्टरनेसनल प्रालिसँग ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । 

आरकेले सम्झौता अनुसार समयमा काम गर्न नसकेपछि २०८० साल असोज ६ गते ठेक्का सम्झौता रद्द गरेर हाइटेन्सन स्विच गियरबाट सबस्टेसनका लागि छ करोड ४५ लाखको ट्रान्सफर्मर र स्विच गियर निर्माण गरी प्राधिकरण आफैँले विद्युत् नियमित गरेको पाण्डेयले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्र अन्तर्गत  मुर्गिया फिल्ड सेवाका प्रमुख नरेश टन्डनले पहिले कुनै ठाउँमा समस्या देखिए सबै ठाउँको विद्युत् काट्नुपर्ने बाध्यता रहेकोमा सबस्टेसन निर्माण भएपछि हटेको बताउनुभयो । उहाँले अहिले जुन फिडरमा समस्या देखिएको हो त्यही फिडरको लाइन काटेर अन्यत्र फिडरको सञ्चालन गर्न सकिने भएकाले यसबाट ग्राहकलाई ठुलो सुविधा पुगेको बताउनुभयो ।