• १२ साउन २०८१, शनिबार

सैनिक आवासीय च्याम्पियन

blog

उपाधि विजेता सैनिक आवासीय टोली ।

काठमाडौँ, वैशाख ३० गते । सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु–१६ अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सैनिकले मोक्षदा स्कुललाई डकवर्थ लुइस पद्धति (डिएलएस)का आधारमा १० विकेटले हराउँदै उपाधि जितेको छ । 

वर्षाका कारण दोस्रो इनिङ नौ ओभरमा झारिएपछि ७० रनको विजय लक्ष्य पाएको सैनिकले ६.५ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । सैनिकका लागि रमन गिरीले अविजित ३५ र रोजल खड्काले ३३ रन बनाउनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मोक्षदाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । मोक्षदाका लागि सम्यम नेपालले ३७, नितिश बुढाथोकीले २४ र आलोक शाहले २२ रन बनाउनुभयो ।

बलिङमा सैनिकका लबकुमार ठाकुर, शुभ विष्ट र प्रत्युश आचार्यले एक एक विकेट लिनुभयो । उपाधिसँगै सैनिकले एक लाख ५० हजार र उपविजेता मोक्षदाले ७५ हजार रुपियाँ पुरस्कार पायो । काठमाडौँ जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।