• १० जेठ २०८१, बिहिबार

दुवै पुलिसको उपाधि जित्ने दाबी

blog

खेलअघि ट्रफी सार्वजनिक गर्दै पुलिस र एपिएफका कप्तान । तस्बिर सौजन्य : विवाइसी

काठमाडौँ, वैशाख ९ गते । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच शनिबार राति प्रतिस्पर्धा हुँदैछ । धनगढी रङ्गशालामा हुने फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । 

शुक्रबार धनगढी रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका हुन् । उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले उपाधि जित्नका लागि आफ्नो टोली तयार रहेको बताउनुभयो । ‘पहिलो पटक फर्डलाइटमा खेल्दा केही गाह्रो भइरहेको छ । तर हामी लय गुमाउने पक्षमा छैनौँ । महिला गोल्डपक पहिलो पटक भएको हुँदा यसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पियन बन्न चाहन्छौँ,’ बस्नेतले भन्नुभयो ।

एपिएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताउनुभयो । ‘लिगमा पनि लगातार जितिरहेका छौँ । नकआउट प्रतियोगिता पनि जित्छौँ ।’ प्रशिक्षक थारुले भन्नुभयो–‘हामीले पुलिसलाई हराउँदै आएका छौँ । फेरि हराएर उपाधि जित्छौं ।’ एपिएफल सेमिफाइनलमा आर्मीलाई ३–२ गोलले हराएको थियो । 

नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दाबी गरेको छ । लामो समयपछि प्रतियोगिताको फाइनलमा पुगेकोले यस अवसरलाई सदुपयोग गर्ने पुलिसको भनाइ छ । पुलिसकी कप्तान घिमकुमारी गुरुङले जित्नको लागि खेल्ने बताउनुभयो । ‘हामी जित्नकै लागि खेल्छौँ । सबै जनाले सोही अनुसार तयारी गरेका छौँ,’ कप्तान गुरुङले भन्नुभयो । 

पुलिसका प्रशिक्षक सञ्जीव जोशीले पनि पुलिसको एउटै लक्ष्य उपाधि भएको दाबी गर्नुभयो । ‘धेरै वर्षपछि फाइनल पुगेका छौँ । मैदानमा केही समस्या छ । बललाई चाहे अनुसार खेलाउन गाहे भइरहेको छ । तर पनि खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । नतिजा पुलिसको पक्षमा आउनेमा आशावादी छु,’ जोशीले भन्नुभयो ।

पुलिसले सेमिफाइनलमा आयोजक वीवाइसी क्लबलाई ३–० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो । गोल्डकपको विजेताले ट्रफीसहित पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ ।