• २४ वैशाख २०८१, सोमबार

उम्मेदवार बन्न गाउँपालिका अध्यक्षबाट राजीनामा, सबै पालिकामा निर्वाचन कार्यालय खुल्यो

blog

उम्मेदवार बन्न गाउँपालिका अध्यक्षबाट राजीनामा दिँदै, सबै पालिकामा निर्वाचन कार्यालय उद्घाटन हुँदै, तस्विर – रेखीराम राना

पाल्पा, वैशाख ९ गते । तिनाउ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । आगामी निर्वाचनमा उम्मेदवार बन्न लागेको जानकारी दिनुहुँदै वडा अध्यक्ष श्रेष्ठले राजीनामा दिएको बताउनुभएको छ । पाल्पामा बहालवाला जनप्रतिनिधिमध्ये पहिलो पटक श्रेष्ठले नै राजीनामा दिनुभएको हो ।

निर्वाचनसम्बन्धी ऐनले सरकारी सेवासुविधा लिएका बहालवाला जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रावधानका कारण आफूले राजीनामा दिएको उहाँले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरलाई श्रेष्ठले राजीनामा बुझाउनुभएको हो । 

श्रेष्ठ नेकपा माओवादी केन्द्रबाट तिनाउ गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्ने पक्कापक्की भएको छ । वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनपछि आफूले पदमा रहँदा जनताको विश्वास जितेर काम गरेको उहाँले दाबी गर्नुभयो । 

 पाल्पाका दश वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

यसैबीच, पाल्पाका दश वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । सदरमुकाम तानसेनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाभर अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो । 

आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन भयरहित, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न जिल्लाभर निर्वाचन अधिकृतको कार्यालय खुलेको हो । तानसेनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश खड्गबहादुर केसीको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।  

निर्वाचनमा सहभागी सबै राजनैतिक दल, मतदाता, पत्रकार, नागरिक समाज सबैको आपसी सहयोगमा निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने मुख्य निर्वाचन अधिकृत केसीले बताउनुभयो । ‘निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ, उहाँले भन्नुभयो ।’ 

पाल्पाको दश वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय खुलेको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो । पालिकासँगको समन्वयमा सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको उहाँले बताउनुभयो । पाल्पामा खटिनुभएका निर्वाचन अधिकृतहरू सम्बन्धित पालिकामा पुगेर काम सुरु गरिसकेको निर्वाचन अधिकारी अर्यालले जानकारी दिनुभयो ।

जिल्लाको निस्दीको मित्याल, रम्भाको रम्भा, माथागढीको झडेवा, तिनाउको दोभान, रामपुरको रामपुर, बगनासकालीको चिर्तुङ्धारा, पूर्वखोलाको रिङ्नेरह, रिब्दीकोटको खस्यौली, रैनादेवी छहराको छहरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकाे छ ।