पाल्पा, वैशाख १३ गते । पाल्पामा दुई जना सदस्य पदका लागि नेकपा एमालेको तर्फबाट मात्र उम्मेदवारी परेको छ । पूर्वखोला गाउँपालिकाको वडा नं. २, जल्पामा महिला सदस्य र वडा नं. ५ वीरकोटमा दलित महिला सदस्यकाे मात्र उम्मेदवारी परेको बताइएकाे छ। वडा नं. २ मा महिला सदस्यका लागि भिमीसरा आले र वडा नं. ५ मा दलित महिला सदस्यको लागि पार्वती हिताङ उम्मेदवारी परेको थियो । दुबै जनाले उम्मेद्वारी दिनुभएको पदमा मनोनयन दर्ता गर्ने अवधिसम्ममा अरु कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाल्पा, वैशाख ९ गते । तिनाउ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । आगामी निर्वाचनमा उम्मेदवार बन्न लागेको जानकारी दिनुहुँदै वडा अध्यक्ष श्रेष्ठले राजीनामा दिएको बताउनुभएको छ । पाल्पामा बहालवाला जनप्रतिनिधिमध्ये पहिलो पटक श्रेष्ठले नै राजीनामा दिनुभएको हो ।निर्वाचनसम्बन्धी ऐनले सरकारी सेवासुविधा लिएका बहालवाला जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रावधानका कारण आफूले राजीनामा दिएको उहाँले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरलाई श्रेष्ठले राजीनामा बुझाउनुभएको हो । श्रेष्ठ नेकपा माओवादी केन्द्रबाट तिनाउ गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्ने पक्कापक्की भएको छ । वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनपछि आफूले पदमा रहँदा जनताको विश्वास जितेर काम गरेको उहाँले दाबी गर्नुभयो । पाल्पाका दश वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमायसैबीच, पाल्पाका दश वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । सदरमुकाम तानसेनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाभर अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन भयरहित, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न जिल्लाभर निर्वाचन अधिकृतको कार्यालय खुलेको हो । तानसेनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश खड्गबहादुर केसीको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । निर्वाचनमा सहभागी सबै राजनैतिक दल, मतदाता, पत्रकार, नागरिक समाज सबैको आपसी सहयोगमा निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने मुख्य निर्वाचन अधिकृत केसीले बताउनुभयो । ‘निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ, उहाँले भन्नुभयो ।’ पाल्पाको दश वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय खुलेको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो । पालिकासँगको समन्वयमा सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको उहाँले बताउनुभयो । पाल्पामा खटिनुभएका निर्वाचन अधिकृतहरू सम्बन्धित पालिकामा पुगेर काम सुरु गरिसकेको निर्वाचन अधिकारी अर्यालले जानकारी दिनुभयो ।जिल्लाको निस्दीको मित्याल, रम्भाको रम्भा, माथागढीको झडेवा, तिनाउको दोभान, रामपुरको रामपुर, बगनासकालीको चिर्तुङ्धारा, पूर्वखोलाको रिङ्नेरह, रिब्दीकोटको खस्यौली, रैनादेवी छहराको छहरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकाे छ ।
पाल्पा, वैशाख ७ गते । पाल्पा जिल्लाको तिनाउ–१, कचलमा रहेको कचल फाँट सिंचाइ आयोजनाको काममा खटेका बेला सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । मङ्गलबार बेलुका ५ बजे कचलफाँट सिँचाइ आयोजनाको कुलो खन्ने गर्ने क्रममा एक्कासि सुख्खा पहिरोले पुरिएर बेपत्ता हुनुभएका स्थानीय ६१ वर्षीय डिलबहादुर हिस्की बुधबार बिहान मृत भेटिनुभएको हो । कुलो खन्ने क्रममा हिस्कीलाई सुख्खा पहिरोले च्यापेको थियो । हिस्कीको शव सुख्खा पहिरो हटाउने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिस्कीको शव निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी दीपेन्द्र थापाले जानकारी दिनुभयो ।