• ७ जेठ २०८१, सोमबार

युवाले नेतृत्व गरेको हेर्न चाहन्छौं : मुख्यमन्त्री जम्कट्टेल

blog

बागमती युवा दोस्रो सम्मेलन-२०८१ कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।

हेटौँडा, वैशाख २८ गते । युवाले विगतलाई कसरी हेर्ने, वर्तमानलाई कसरी लिने र भविष्यलाई कस्तो बनाउने भन्ने सोच्न जरुरी रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभएको छ । 'हामी स्वच्छ समाज सहितको सफल नेपाल चाहान्छौं, युवाले नेतृत्व गरेको हेर्न चाहान्छौं', बागमती युवा दोस्रो सम्मेलन २०८१ को कार्यक्रमलाई उद्घाटन तथा सम्बोधन गर्नुहुदैँ मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो ।

"युवाले नेतृत्वको लागि बहस गर्नुस्, शिक्षामा बहस गरौं, परीक्षा प्रणाली कस्तो बनाउने, परिक्षा प्रणालीलाई मेरिट बेसमा लैजाने र मेरिटको आधारमा आफ्नाे भविष्य कस्तो बनाउने भन्ने विषय छनौट गरौं । सम्मेलनमा तपाईहरुले छनौट गर्नुभएको विषयमा बहस गर्नुहोस् । विकास भएको छ त्यो विकासलाई आम्दानीसँग जोड्न सकेका छैनौं । विकासलाई आर्थिक उन्नतीसँग जोडेर हेरौं", उहाँले भन्नुभयो, "उद्यमशीलता हुनेगरी लगानी गर्नुपर्दछ भन्ने कुरा बुझौं । अब हामीले लगानी युवालाई गर्नुपर्दछ, युवालाई लगानी गरेर मात्र देशको विकास सम्भव छ ।"

 त्यस्तै, कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेशले निर्माण गरेको युवा नीतिमा टेकेर युवाको विकासको लागि काम गरेको बताउनुभयो । 

उद्यमशिलता, सिप दक्षता, वेरोजगारबाट कसरी मुक्त गर्ने भन्ने यस सम्मेलनको उद्देश्य रहेको बागमती प्रदेश सभाका समाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो । आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ उहाँले भन्नुभयो, "नीतिमा बसेर कस्ता खालका कार्यक्रम ल्याउँदा युवाहरुको विकासको लागि उपयुक्त हुनेछ, राजनीतिक रुपले निराश बनेर नबसौँ सकारात्मक सोचले अगाडि बढ्नुपर्छ ।"


यसैगरी, कार्यक्रमका सभाध्यक्ष गर्नुभएका बागमती, प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाको भावनालाई ध्यानमा राखेर काम गर्दा फलदायी हुने बताउनुभयो । "हामी जागिरको खोजीमा छौं, बा आमा कृषि काम गर्ने मजदुर खोजी रहनुभएको छ", उहाँले भन्नुभयो ।

यस्तै, कार्यक्रममा ९१ पलिकाले सहभागीता जनाएको छ । "सरकारले नीति तथा कार्यक्रमको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमले आउँदो वर्षको कार्यक्रम बनाउनमा सहयोग पुग्नेछ । हाम्रो विचारको प्रतिनिधित्व हुने गरी घोषणापत्र तयार गरेर सरकारलाई हस्तान्त्रण गर्नेछौं । पहिलो सम्मेलनले तय गरेको सिपमूलक कार्यक्रमको लागि पहल गरेको भएर यस वर्ष ६ हजार युवालाई सिप सिकाउने कामको थालनी गर्दैछ । मुलुकको समृद्धिको मुख्य द्वार भनेको युवा हो त्यसमा लगानी गर्नुपर्छ", कार्यकारी उपाध्यक्ष चौलगाईंले भन्नुभयाे ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।