काठमाडौँ, वैशाख ३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा हाइ लेभल स्पोर्ट्स सेमिनार बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
सेमिनारको औपचारिक उद्घाटन भने राखेपका सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार गर्ने कार्यक्रम रहेको छ । सेमिनारमा राखेपमा कार्यरत विभिन्न १२ खेलका ३० प्रशिक्षक सहभागी छन् ।
सहभागीलाई सुशिलनरसिंह राणाले एप्लाइड सायन्स, जगदीश भट्टले मोटिभेसन र स्पोर्ट्स म्यानेजमेन्ट, सञ्जय महर्जनले स्पोर्ट्स न्युट्रिसन तथा लक्ष्मण अधिकारीले बायो मेकानिकल सम्बन्धी ज्ञान दिनुहुने छ ।
कूल सय पूर्णाङ्कको असेस्मेन्ट हुने छ । त्यसमा मल्टिपल च्वाइस क्वेसनमा ७५ अङ्क, प्राक्टिकलमा १५ अङ्क, विषयगतमा पाँच अङ्क र आन्तरिकमा पाँच अङ्क छुट्टाइएको छ । सेमिनार वैशाख १२ गतेसम्म चल्ने छ । यो सेमिनार गत वर्षदेखि सुरु भएको हो ।