रामकृष्ण बोहरा
बागलुङ, वैशाख ३ गते । कालीगण्डकी नदीमा उत्खननकाे काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मोदीवेणी धाममा ब्यानर प्रदर्शन गरेको छ ।
कालीगण्डकीको अवैध दोहनले नदीको दिगोपनलाई दुई तिहाइले घटाइदिएको र जन्मदेखि मृत्युसम्मका परम्पराको स्रोत र स्थलमा भएको दोहनविरुद्ध ब्यानर प्रदर्शन गरेर विरोध जनाइएको कालीगण्डकी बचाऔं अभियानका संयोजक एवम् प्रकृति, पर्यावरण तथा सम्पदा चिन्तक आरके अदीप्त गिरीले बताउनुभयो ।
कालीगण्डकी किनारै किनार खनिएको कालीगण्डकी (क, ख) काेरिडोर सडक संजाल तथा त्यस सडकसँगै आएको अव्यवस्थित सहरीकरण, एकाध व्यक्तिको स्वार्थ, लाभ र दादागिरीमा वातावरणीय प्रभाव मूल्याङ्कनबिना खोलिएको क्रसर उद्योगहरूले मानव तथा प्राणीजगत जोखिममा परेकाले विरोधस्वरूप ब्यानर प्रदर्शन गरिएको गिरीले बताउनुभयो ।
‘‘नदीमाथि जथाभाबी उत्खनन् गर्ने, मलमुत्र, फोहर मैला विसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण, वन फँडानी र बालुवा तस्करको चपेटामा छ’’ गिरीले भन्नुभयो, ‘‘कालीगण्डकीलाई बचाउनु मानव सभ्यता बचाउनु हो । बाँध र डाइभर्सनको कुरा उठिरहेको छ, यो अतिको विरुद्व सबै एकजुट हुनुपर्छ ।’’
सैयौंको सङ्ख्यामा खोलिएका कालीगण्डकी तटीय क्षेत्रका क्रसर उद्योगको कारण नदी दिन प्रतिदिन मरिरहेको भन्दै नदी माथिको हस्तक्षेपविरुद्व आवाज बुलन्द गर्न र साझा लडाइँमा जोडिन सम्पूर्ण गण्डकी–लुम्बिनीवासी नागरिकमा अभियानले अपिल गरेको छ ।
मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएकाको कालीगण्डकीबाट गिटी, ढुङ्गा, बालुवा उपयोगका नाममा एकोहोरो दोहन भइरहेकोले नदी गहिरो बन्दै गएको र यसको जलाधार झन तल गएर नदी तटीय भागमा विगत दुई दशकदेखि बाढी र कटानको समस्या सिर्जना भइरहेको अभियानका संयोजक गिरीले बताउनुभयो ।
कालीगण्डकी नदीलाई हिन्दु र बौद्ध धर्मावलम्बीले पवित्र नदीका रूपमा लिने गर्दछन् । कालीगण्डकीको शिर मुक्तिनाथलाई हिन्दु र बौद्धमार्गी दुवैले पवित्र र अलौकिक क्षेत्र मान्दछन् । कालीगण्डकीकै अर्को शिर दामोदर कुण्डलाई पनि आस्थाले पुज्ने गरिन्छ ।
अभियानले विगतमा पटक पटक दोहनविरुद्ध डेलिगेसन जाने, उत्खनन गर्ने डोजर कब्जा गर्ने, पर्यावरणीय र्याली निकालेर विरोध गर्दैआएको छ । ध्यानाकर्षण, खबरदारी र सिर्जनात्मक विरोधले राज्य तहमा आवाज नपुगेकाले अभियानले विरोधको स्वरूप परिवर्तन गर्दै छिट्टै विविध कार्यक्रमसहित ’कालीगण्डकी मार्च’ गर्ने उदघोष गरेको छ ।