• ३ वैशाख २०८३, बिहिबार

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

blog

साङ्केतिक तस्बिर

पाल्पा, वैशाख ३ गते । यहाँको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् । 

बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृत अवस्थामा भेटिएका हुन् ।

बस्यालको हिजो बुधबार र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उनीहरू मङ्गलबार नयाँ वर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनीहरूको स्थानीय बासिन्दा, सुरक्षाकर्मी र बुधबार नेपालगन्जबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरी शव फेला पारेको प्रनाउ चौधरीले बताउनुभयो ।  

बस्याल चन्द्र मावि चापपानीमा प्राविधिक शिक्षातर्फ शिक्षक हुन् भने भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए । मृतक दुवै एउटै टोलका भएकाले चापपानी, झिरभञ्ज्याङ गाउँ अहिले शोकमा डुबेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रासस