• १० जेठ २०८१, बिहिबार

गाउँमै सरकारको अनुभूति दिन प्रयत्नरत छौँ

blog

मीनबहादुर गुरुङ अध्यक्ष– माछापुच्छ्रे गाउँपालिका

कास्कीको उत्तरी भूभागमा पर्ने माछापुच्छ्रे गाउँपालिकाको नाम पोखरा उपत्यकाबाट माछाको पुच्छर जस्तो देखिने सुन्दर हिमाल माछापुच्छ्रेको नामबाट राखिएको हो । साबिकका माछापुच्छ्रे, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङ घलेल गाउँ विकास समिति समेटेर माछापुच्छ्रे गाउँपालिका बनेको हो । अन्नपूर्ण तेस्रो, चौथो, गङ्गापूर्ण, माछापुच्छ्रे र मर्दी हिमालको दक्षिणी ढालबाट उत्पत्ति भएका नदीनाला सेती, मर्दी र मोदीबाट साना तथा मझौला क्षमतामा विद्युत् उत्पादनका साथै सिँचाइ र पोखरा क्षेत्रमा खानेपानी आपूर्ति गरिएको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी पालिका अध्यक्ष निर्वाचित हुनुभएका मीनबहादुर गुरुङसँग गोरखापत्रका पत्रकार फडिन्द्र अधिकारीले गर्नुभएको कुराकानी :

 ‘पर्यटन, कृषि, ऊर्जा र गुणस्तरीय पूर्वाधार : समुन्‍नत माछापुच्छ्रे निर्माणको मूल आधार’ पालिकाको यो नारा सार्थक हुँदै छ ? 

पालिकाले पर्यटन प्रवर्धनमा काम गरिरहेको छ । कृषिमा अलिक गाह्रो भयो । कृषिलाई सुधार्न भूमि बैङ्कको अवधारणा ल्याएका थियौँ । भूमि बैङ्कसम्बन्धी कार्यविधि पनि बनाइसकेका छौँ । उत्पादनका लागि पालिकाले सघाउने योजना छ तर बाँदरको बिगबिगीले गर्दा धेरै समस्या आयो । खेतीबाली लगायो, पाकेर भित्र्याउने बेलामा बाँदरले खाइदिने भएको छ । बाँदर नियन्त्रणको उपाय नखोजेसम्म कृषिमा उन्नति गर्न कठिन देखिन्छ । अहिले बसाइँसराइले गाउँ खाली हुँदै छन् । अर्गानिक उत्पादनसँगसँगै युवालाई गाउँमै रोजगारी मिलोस् भनी यो अवधारणा ल्याएका हौँ । अहिले घरैछेउका खेतबारी पनि बाँझै हुन थालेका छन् । 

पहाडदेखि हिमालसमेत समेटिएको भूगोलमा काम गर्दाको अनुभव कस्तो छ ?

कुल ५५४ वर्ग किमीमा रहेको हाम्रो गाउँपालिका भौगोलिक रूपमा त्यति मिलेको छैन । सबै जनप्रतिनिधि साथी सक्रिय भएर खटिनुभएको छ । उहाँहरूमा केही नयाँ गरौँ भन्ने सोच छ । सबै वडा कार्यालयसम्म सडक पुगेको छ । सबैभन्दा धेरै मागचाहिँ बाटो पिच बनाइदेऊ भन्ने नै छ । गाउँको उत्पादन बजारसम्म लैजान बाटो भने महत्वपूर्ण नै हो ।  

पर्यटन क्षेत्रमा काम भइरहेको छ ? 

माछापुच्छ्रेको मुख्य सम्भावना भनेको पर्यटन हो । माछापुच्छ्रे, मर्दी हिमाल पोखरालाई चिनाउने सम्पदा मात्र नभई पर्यटन विकासका आधार हुन् । माछापुच्छ्रे हेर्न कास्कीमा धेरै पर्यटक आउँछन् । ती पाहुनालाई माछापुच्छ्रेकै फेदीमा पुर्‍याउन लागिपरेका छौँ । अहिले दैनिक दुई सयदेखि तीन सय मानिस आइरहेका छन् । आन्तरिक पर्यटकको आगमन राम्रो हुँदै छ । विस्तारै बाह्य पर्यटकसमेत बढ्ने अपेक्षा गरेका छौँ । 

कस्ता ऐन कानुन निर्माण भएका छन् ? 

ऐन नियम बाझिएर हामीलाई काम गर्न अलिक अप्ठ्यारो परेको छ । सङ्घीय नियमावली, प्रदेश र पालिकाका ऐन बाझिँदा समस्या आएको छ । आवश्यकताका आधारमा कार्यविधि बनाउँदै गएका छौँ । कोदोको रक्सीलाई ब्रान्ड बनाउन स्थानीय मदिरासम्बन्धी ऐन बनाएका छौँ । कोदो उत्पादन बढाएर कोदाको रक्सीलाई बजारीकरण गर्ने लक्ष्य छ तर उत्पादन बढाउन नसक्दा यो प्रभावकारी भएन । भूमि बैङ्कसम्बन्धी कार्यविधि निर्माण गरेका छौँ । पर्यटन सेवा शुल्क व्यवस्थापन कार्यविधि बनाएर पर्यटकसँग प्रवेश शुल्क लिन थालेका छौँ ।

एक्यापसँग किन विवाद भइरहन्छ ?

एक्यापको आफ्नै नियमावली, निर्देशिका छ । उनीहरू त्यसमै टेकेर काम गर्छन् तर सरकारको ऐन अर्कातिर हुने अवस्थाले विवाद भएको हो । गण्डकी प्रदेशका पाँच जिल्लाका १५ पालिकामा संरक्षण क्षेत्र छ । यी सबै पालिका प्रमुख मेरै नेतृत्वमा बसेर साझा राय र ज्ञापनपत्र पनि बुझाएका छौँ । यो पालिकाको बजेट ६६ करोड ५० लाख छ । हाम्रो आन्तरिक आम्दानी भने तीन करोड पनि छैन । यहाँ आउने पर्यटकबाट शुल्क, जडीबुटी, नदीजन्य पदार्थको राजस्व सबै एक्यापले उठाउँछ । हामीले एक सय रुपियाँ लिँदा पनि विवाद भयो । संरक्षण क्षेत्र भएका पालिकामा दुई खालका सरकार भए जस्तो भइरहेको छ । यसले गर्दा द्वन्द्व भएको हो । यसलाई सुल्झाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । ऐन संशोधन गरी संरक्षण र उपभोग पनि गर्नु पर्छ भन्ने हाम्रो अडान हो । यहाँ क्रसरहरू चलिरहेका छन्, तिनीलाई करको दायरामा ल्याउन सकिएको छैन ।

जनताको मुख्य माग के पाउनुभयो ? 

स्थानीयको मुख्य सरोकार शिक्षा, स्वास्थ्य र रोजगारी नै हो । हामीले शिक्षामा केही परिवर्तन गरेका छौँ । पालिकाभरि १० मावि, ३० वटा आधारभूत स्कुल छन् । क्याम्पस भने छैनन् । सबै वडामा स्वास्थ्य चौकी छन् । पालिकास्तरीय अस्पताल कुन ठाउँमा राख्ने भन्ने विवादले काम अघि बढ्न सकेको छैन । विवाद समाधान गरी अस्पताल बनाउनुपर्ने छ । रोजगारी प्रवर्धनका लागि विभिन्न तालिम दिएका छौँ । आन्तरिक आम्दानी बढाउँदै जनतालाई गाउँको सिंहदरबार हो भन्ने अनुभूति दिलाउँछौँ । 

गाउँपालिकाको लक्ष्य अनुसार काम भएको छ ? 

पालिकाका नौ वटै वडामा राम्रो मोटरबाटो बनाउने लक्ष्य छ । शिक्षामा केही परिवर्तन ल्याउने योजना छ । स्कुल मर्ज गर्ने बरु नमुना स्कुल बनाउने सोच छ । सबै वडामा स्वास्थ्य चौकी भए पनि पालिकास्तरको अस्पताल बनाउन बाँकी छ । हाम्रो काम ठिक लागे समर्थन र बेठिक लागे सिर्जनात्मक आलोचनाको अपेक्षामा छौँ । हामी स्थानीयलाई गाउँमै सरकारको अनुभूति दिन प्रयत्नरत छौँ ।