• २० कात्तिक २०८२, बिहिबार

वीरगन्ज भन्साार नाकाः विद्युतीय सवारी साधन आयातमा वृद्धि

blog

वीरगन्ज (पर्सा), कात्तिक २० गते । चालु आवको तीन महिनामा वीरगन्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९  विद्युतीय जीप,कार र भ्यानहरू आयात भएका छन् । 

गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारी साधनको आयात ह्वातै वृद्धि भएको छ । गत आवको तीन महिनामा भने ९७  मात्रै विद्युतीय जीप,कार र भ्यानहरू आयात भएको थियो । सर्वसाधारणको विद्युतीय सवारी साधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ । 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारी साधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । गत आवको तीन महिनाको अवधिमा भने वीरगन्ज नाका हुँदै १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप,कार र भ्यानहरू आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारी साधन आयातबाट नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।  

चालु आवको तीन महिनामा २८ करोड ७९ लाख मूल्य पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने २१ करोड १७ लाख मूल्य पर्ने एक हजार चार सय ८१  विद्युतीय मोटरसाइकल आयात भएको थियो ।  रासस