• २० कात्तिक २०८२, बिहिबार

गोरखामा मनाइयो ‘मकै सुकाउने’ पर्व

blog

गोरखा नगरपालिका–६ ठुलो आँगनमा अन्नबाली सुकाएर मनाइएको पर्व । तस्बिर : भिमलाल श्रेष्ठ

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक २० गते । गोरखा जिल्लामा नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ । गोरखा नगरपालिका–६ ठुलो आँगनमा नेवार समुदायका महिलादेखि वृद्धवृद्धासम्मको सहभागितामा विभिन्न थरीका अन्न विशेषगरी मकै, गहुँ, चामल, केराउ, सिमीलगायत अन्नबालीलाई चन्द्रमाको उज्यालोमा सुकाएर यस वर्ष पर्व मनाइएको हो ।

नेवार समुदायको धार्मिक र सांस्कृतिक विश्वास अनुसार कात्तिक शुल्क पूर्णिमाको उज्यालो रातमा अमृत वर्षा हुने जनविश्वास रहिआएको छ । त्यहि कारण यस रातमा चन्द्रामाको उज्यालोमा सुकाइएका अन्नलाई ‘अमृत समान’ मानिएकाले उज्यालो रातीमा सुकाइएका अन्न सेवन गरेमा रोग नलाग्ने, शरीरमा स्फुर्ति बढ्ने र पाचन प्रणाली सबल हुने विश्वास रहेको छ । 

यस चाडपर्वको अवसरमा स्थानीय युवायुवती र वृद्धावृद्धाले भजन, नेवारी धिमे बाजाका तालमा नृत्य र चुट्का नाच प्रस्तुत गरी पर्वलाई झन् मनोरञ्जनमय बनाएका थिए । महिलाहरुले परम्परागत पोशाकमा सजिएर घर घरमा तयार पारेको प्रसाद र मिठा परिकारलाई वितरण गरी वातावरण भक्तिभाब र उल्लासको सम्मिश्रण झल्किएको थियो । 

गोरखा सदरमुकामका नेवार समुदायले २०७६ सालदेखि यस पर्वलाई व्यवस्थित रुपमा ऐतिहासिक संरक्षण क्षेत्र तथा बिकास समितको आयोजनामा मनाउँदै आएका छन् । समितिका अध्यक्ष सुरेशमान श्रेष्ठका अनुसार यस पर्वले नेवार समुदायको पुरानो परम्परा जोगाउने मात्र होइन, युवापुस्तामा संस्कृति प्रति गर्व र पहिचान जागृत गराउने कार्य गर्दै आएको छ ।’

मकै सुकाउने पर्वमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसस्थाका प्रतिनिधीहरुको पनि सहभागिता थियो । कार्यक्रमको अन्त्यमा सुकाइएका अन्नहरु चन्द्रमाको उज्यालोमा प्रसादको रुपमा राखी भक्तजनहरुमा बाँडिएको ऐतिहासिक संरक्षण क्षेत्र तथा बिकास समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

संस्कृति र आस्थाको सुन्दर सङ्गमको रुपमा परिचित यस पर्वले गोरखाको नेवार समुदायमा एकता, परम्परा र आस्थाको उज्यालो फैलाउने काम गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।