• २० कात्तिक २०८२, बिहिबार

राजा ताल निर्माण हुने

blog

प्रस्तावित राजा ताल निर्माणाधीन क्षेत्र ।

कविराज घिमिरे 

हिले, कात्तिक २० गते । सानो उपत्यका, रानी ताल, नागबेली पार्क, काली झरना । यो धनकुटाको चौबिसे गाउँपालिका वडा ६ स्थित राजारानीको पर्यटकीय पहिचान हो । अब यो पहिचानमा अर्को स्थान थपिने क्रममा छ त्यो हो राजा ताल । अहिले रानी ताल मात्र रहेको सो स्थानमा जब राजा ताल निर्माण हुन्छ तब मात्र सो स्थानको नामसमेत पूर्ण हुन्छ ।  सिमसारको रूपमा रहेको यो क्षेत्र तालको रूपमा विकास र संरक्षण गर्न लागिएको हो ।

गत वर्ष कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट यो परियोजना छनोटमा परेको थियो । ताल निर्माणमा अहिले चौबिसे गाउँपालिकाले समन्वय गरिरहेको छ । रु. ३५ करोड लगानी प्रस्ताव गरिएको यो आयोजना स्थानीय तहको समन्वयमा निजी क्षेत्र र लगानीकर्ताको सहकार्यमा अघि बढ्न लागेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो। अहिले जग्गाधनीहरूसँग प्रारम्भिक सर्वेक्षण र डिपिआर तयार गर्ने चरणमा छ । ताल निर्माणपछि पर्यटनलाई मात्र नभई सिँचाइ सुविधासहित बहुउपयोग गर्न सकिने गरी तयारी गरिरहेको उहाँको भनाई छ । “हामी ताललाई बहुउपयोग गर्ने गरी तयारी गरिरहेका छौं पर्यटन त मुख्य भयो त्यो बाहेक त्यहाँको पानी सिँचाइ गर्न पनि प्रयोग गर्ने तयारी छ,” अध्यक्ष  चेम्जोङ भन्नुहुन्छ ।

अहिलेसम्मको सर्वेक्षण अनुसार राजा ताल क्षेत्रमा ८२ जना व्यक्तिको करिब ११३ रोपनी जमिन सिमसार क्षेत्रको रूपमा छ । राजा र रानी ताल जोडिन गरी अभियान चलाए पनि धेरै बस्ती विकास भएका कारण सो सम्भव छैन । तर एकै स्थानमा बेग्लाबेग्लै राजा र रानी ताल बन्ने र जसले समग्र चौबिसे क्षेत्रकै पर्यटकीय सम्भावना राम्रो बनाउने स्थानीय पूर्णप्रसाद चेम्जोङ बताउनुहुन्छ । “हुँदा त दुवै ताललाई जोडेर एक विशाल ताल निर्माण गर्न पाए हुने तर त्यो अब बस्तीका कारण सम्भव छैन अब बेग्लाबेग्लै भए पनि बन्नुपर्छ यो समग्र चौबिसेको हितमा छ” चेम्जोङ भन्नुहुन्छ ।

सुरुमा ३५ करोड प्रस्ताव गरिए पनि लगानीकर्ताहरूले करिब रु. दुई अर्ब बराबरको लगानी गर्न सकिने जनाएका छन् । राजा ताल मात्र नभई नागबेली पार्कले समेत नयाँ रूप पाउनेछ । त्यस्तै राजारानीबाट मोरङको केराबारी सम्म पदमार्गसमेत निर्माण हुनेछ । राजा र रानी ताल क्षेत्र पूर्णरूपमा निर्माण भएमा रोजगारी सिर्जना, स्थानीय पर्यटन प्रवर्धन र गाउँपालिकाको समृद्धिमा टेवा पुग्ने युवराज कटुवालको भनाइ छ । 

सबै कार्य समयमै हुँदै गए आगामी दुई वर्षभित्रै राजारानीले नयाँ रूप पाउने गरी तयारी गरिएको पालिकाले जनाएको छ । पूर्वको पर्यटकीय नगरी भेडेटारबाट २४ किलोमिटरको दूरीमा छ । भेडेटार, राजारानी, रविराँके सडक निर्माणको क्रममा छ । राजमार्गसँगै जोडिएको यो ताल क्षेत्र चौबिसे गाउँपालिकाको महत्त्वपूर्ण पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । 

राजारानीबाहेक यो पालिकामा रहेको जेफाले डाँडा, काँगडा ताल, धप्पड तालसहित धेरै सिमसार क्षेत्र छन् । सबै कुरालाई एकै पटक जोडेर प्रचारप्रसार गर्न सके चौबिसेको मात्र नभई पूर्वी नेपाललाई नै फाइदा पुग्ने स्थानीय मणि चेम्जोङ बताउनुहुन्छ ।