• २० कात्तिक २०८२, बिहिबार

एक हप्तामा साढे चार हजार क्विन्टल धान खरिद

blog

खाद्यको मोहनपुर गोदाममा धान खरिद गरिँदै ।

 अविनाश चौधरी

धनगढी, कात्तिक २० गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक हप्ताको अवधिमा कैलालीमा चार हजार ४०० दशमलव ३९ क्विन्टल धान खरिद गरेको छ । 

यस वर्ष किसानको उत्पादन बढेको बेला कोटा घटाएर धान खरिद गरिरहेको खाद्यले जिल्लाको छ वटा स्थानबाट धान खरिद गरेको हो । 

धनगढी उपमहानगरपालिकाको मोहनपुर, गौरीगङ्गा, टीकापुर, सत्ती, भजनी र जोशीपुरबाट धान खरिद भइरहेको जनाएको छ ।

छ वटै ठाउँमा धान बिक्री गर्ने किसानको भीडभाड रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख दीपक थापाले बताउनुभयो । 

उहाँले बेलुकासम्म धान खरिदको काम भइरहेको जानकारी दिनुभयो । खाद्यले नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा ( मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ दशमलव ८१ रुपियाँमा ) धान खरिद गरिरहेको छ । 

नेपाल सरकारले गत साउनमै धानको समर्थन मूल्य निर्धारण गरेको थियो । तर निजी गल्ला व्यापारीले समर्थन मूल्यभन्दा झन्डै एक हजार रुपियाँ कममा किसानको धान खरिद गर्दा धेरै किसानले सस्तोमै धान बिक्री गरिसकेका छन् । 

खाद्यले धान खरिद गर्न ढिलाइ गरेपछि काम चलाउनका लागि उनीहरूले अघि नै धान बेचेका हुन । सरकारले यसवर्ष सुदूरपश्चिम प्रदेशमा धान खरिद कोटा ३५ हजार क्विन्टलमात्रै निर्धारण गरेको छ ।

गतवर्ष सरकारले यस प्रदेशका लागि ५५ हजार क्विन्टल धान खरिद कोटा निर्धारण गरेको थियो । तर खाद्यले ३४ हजार ५०१ दशमलव ८४ क्विन्टल धानमात्र खरिद गर्न सकेको थियो । 

केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले किसानको धान बढीभन्दा बढी खरिदका लागि धान खरिद कोटा बढाएर कम्तीमा तीन लाख क्विन्टल पुर्‍याउन अनुरोध गर्ने निर्णय गरेको थियो । 

सो निर्णयसहितको पत्र लेखेर केन्द्रीय कार्यालयमा पठाएको प्रमुख थापाले जानकारी दिनुभयो । उहाँले अहिले प्रथम चरणको कोटाअनुसार धान खरिद भइरहेको जनाउँदै केन्द्रीय कार्यालयले कोटा थप गरेमा थप धान खरिद गर्ने बताउनुभयो । 

“अहिलेलाई हामी हाम्रो बजेट र कोटानुसार मात्रै धान खरिद गर्दैछौँ”, प्रमुख थापाले भन्नुभयो ।” खाद्यले स्थानीय तहले सिफारिस गरेको आधारमा एक किसानबाट बढीमा ५० क्वीन्टल सम्ममात्रै धान खरिद गरिरहेको छ । 

किसान सूचीकृत फाराम भरेर धान खरिद गर्ने कार्य भइरहेको जनाइएको छ । किसानलाई भुक्तानी बैङ्कमार्फत हुने थापाको भनाइ छ । 

उहाँले एक हप्ताभित्रै धानको भुक्तानी दिने कार्य सुरु गर्ने उल्लेख गर्नुभयो । “बैङ्कमार्फत भुक्तानीका लागि सबै विवरण सङ्कलन गरिरहेका छौँ”, थापाले भन्नुभयो,“ चाँडै भुक्तानी दिने काम पनि सुरु हुन्छ ।”