• ९ मंसिर २०८१, आइतबार

अवसर र चुनौतीको चुनावी उत्सव

blog

विनोदमोहन आचार्य

झन्डै पाँच वर्षको अन्तरालमा यही वैशाख ३० गते दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनप्रति यतिखेर प्रायः सबै दलका नेता, कार्यकर्ता, सम्भावित उम्मेदवार, आम नागरिक, सामाजिक सञ्जाल सबैको ध्यान खिचिएको प्रतीत भइरहेछ । संविधान एवं कानुनबमोजिम आफूलाई सुम्पिएको निर्वाचनसम्बन्धी जिम्मेवारी वहन गर्न निर्वाचन आयोगले लिएको अग्रसरता सराहनीय छ ।

यसैगरी आसन्न निर्वाचन स्वच्छ, स्वतन्त्र, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन सरकारले कुनै कसर बाँकी नराख्ने तथा यसका लागि आयोगलाई आवश्यक पर्ने जनशक्ति, बजेट आदि उपलब्ध गराउन सरकार तत्पर रहेको प्रतिबद्धता सरकारबाट भइसकेको छ । जसअनुरूप निर्वाचन प्रयोजनार्थ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत आ–आफ्नो कार्यक्षेत्रमा खटिइसकेका छन् ।

कुनै पनि निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं धाँधलीरहित रूपमा सम्पन्न भए÷गरिएको देखिनु नै पर्छ भन्ने राष्ट्रिय÷अन्तर्राष्ट्रिय मान्यता रहिआएको पाइन्छ । अतः आसन्न निर्वाचनको सन्दर्भमा सो सर्वस्वीकार्य मान्यतालाई कसरी जीवन्त तुल्याउन सकिन्छ भन्ने प्रश्न हाम्रोसामु खडा भएको छ ।

 बालिग मताधिकार

१८ वर्ष उमेर पुगेका सबै नागरिक संविधानतः बालिग मानिन्छन् । जसले हरेक निर्वाचनमा मतदान गर्न अधिकारसमेत राख्छन् । संविधानतः सो मताधिकार आफ्नो आस्था वा विचारका आधारमा प्रयोग गर्न सबै बालिग नागरिकलाई छुट छ । नेपालको संविधानको धारा १७ मा उल्लिखित स्वतन्त्रताको हकअन्तर्गत हरेक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता निहित रहेको पाइन्छ । मताधिकार प्रयोग पनि नैसर्गिक हकअन्तर्गत पर्ने देखिन्छ । मतदान वा मताधिकारको प्रयोगमा यति ठूलो शक्ति रहेको हुन्छ कि जसको जगमा लोकतन्त्रको रथ अघि बढ्न सम्भव हुन्छ ।

मतदानमा विवेकको खाँचो

समाज परिवर्तनशील छ । समाज परिवर्तन समयको माग हो । समाजलाई विकास र समृद्धिको गोरेटोमा डो¥याउन अथवा समाज परिवर्तनको धारलाई बदल्न सक्ने क्षमता, योग्यता तथा स्पष्ट भिजन भएका व्यक्तित्व नै सही अर्थमा असल नेता हुन् । यस प्रकार असल नेता चयन गर्न वा चुनेर पठाउन त्यस्तै इमानदार मानिसलाई दलले अघि सार्नुपर्ने हुन्छ । विडम्बना भनौँ, नेपालका प्रायः सबै दल बाहिरी आवरणमा जेजस्तो देखिए पनि आन्तरिक रूपमा विभिन्न गुट उपगुटले गाँजिरहेको आभास हुन्छ ।

सायद यसै कारणबाट होला, कतिपय दलमा राम्रा, योग्य असल पात्र छानीछानी टिकट प्रदान गर्न वा उम्मेदवार छनोट गर्न सकस परेको सुनिन्छ, देखिन्छ । असल पात्र चयन गर्नुपर्ने सवालको सन्दर्भमा राम्रालाई भन्दा हाम्रालाई छान्ने विगतदेखि विरासतका रूपमा रहेको नियत र नीति दुवै बदल्नु उत्तिकै जरुरी देखिन्छ ।

कुनै पनि निर्वाचनमा खासगरी दुई चरण महìवपूर्ण मानिन्छन्, जस्तै– उम्मेदवारको चयन र मतदान । उम्मेदवारको चयन नभई कुन उम्मेदवारलाई चुन्ने भन्ने निधो हुन वा गर्न सकिँदैन । यसर्थ योग्य, इमानदार र असल पात्रको चयन आजको समयको माग पनि हो । लोकतान्त्रिक प्रणाली अवलम्बन गरिएका मुलुकमा निर्वाचन भनेको पाँच वर्षपछि मात्र प्राप्त हुने एक अवसर हो । त्यसैले राम्रालाई पुरस्कृत र खराबलाई दण्डित गर्ने अवसर हो– निर्वाचन । मतदाताले मताधिकार प्रयोग गर्दा असाध्यै सावधानी अपनाउनुपर्ने हुन्छ ।

अतः उक्त अवसरको उपयोग गरिएन अथवा मतदान गर्दा सोअनुरूपको सुझबुझपूर्ण व्यवहार देखाइएन भने यसको परिणाममा योग्य, सक्षम असल नेता राजनीतिमा वा सरकारमा आउनबाट वञ्चित हुने प्रबल सम्भावना रहन्छ नै । 

यस्तै प्रसङ्गमा महान् दार्शनिक प्लेटोको “सक्षम वा योग्य व्यक्ति राजनीतिमा नआउनु वा आउन नसक्नु भनेकै असक्षम व्यक्तिबाट शासित हुनु हो” भन्ने भनाइ सान्दर्भिक देखिन्छ । यस पटकको स्थानीय निर्वाचनमा नेपाल राज्यभरका ७५३ पालिकाका ३५ हजारभन्दा बढी जनप्रतिनिधिको चयनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले आफ्नो 

मताधिकार प्रयोग गर्न पाउने छन् । यसअघिका मतदाताको तुलनामा यस पटक करिब ३६ लाख मतदाता थपिन पुगेका छन् ।

हाम्रो देशमा विगत केही वर्षदेखि आस्थाकेन्द्रित राजनीतिभन्दा पनि स्वार्थकेन्द्रित राजनीति प्रवृत्ति हावी हुने गरेको बुझिन्छ । स्वार्थकेन्द्रित राजनीति हावी भएका बेला सुशासनका मूल्यमान्यताअनुरूप शासन सञ्चालन हुनेभन्दा पनि भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्ने होडबाजी चल्नु सुखद होइन । 

त्यसैले उम्मेदवारको पृष्ठभूमि नुबझी अर्थात् बिनासुझबुझ मतदान गर्ने अथवा लहलहैमा वा क्षणिक प्रलोभनमा परेर गलत प्रवृत्ति भएका व्यक्तिलाई चुनेर पठाउने काम गरेमा त्यसको सम्भावित दुष्परिणामको सजाय मतदाता स्वयंले बेहोर्नुपर्ने हुन्छ नै । किनभने धान रोप्ने ठाउँमा कोदो रोप्ने, पछि आएर धान किन फलेन भनेर भन्न सुहाउला र ?

मतदानस्थल र सुरक्षा व्यवस्थापन

सुरक्षासम्बन्धी व्यवस्थापन कुनै पनि निर्वाचनका सन्दर्भमा एक महìवपूर्ण कडी हो । खासगरी उम्मेदवारको, मतदाताको, मतदानस्थलको, निर्वाचन सामाग्रीका अलावा निर्वाचनमा खटिने कर्मचारी आदिको सुरक्षा व्यवस्थापन आफैँमा एक चुनौतीपूर्ण विषय हो ।

यस पटकको उक्त निर्वाचनमा सुरक्षा एवं पायक पर्ने कोणबाट कुल १० हजार ७५६ मतदानस्थल छनोट गरिएको पाइन्छ भने त्यहाँ २१ हजार ९५५ मतदान केन्द्र रहनेछन् । सुरक्षा संवेदनशीलताको दृष्टिले मतदानस्थललाई खासगरी अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा छुट्याइएको बुझिन्छ ।

सम्बन्ध नवीकरणको मानक

हामीले स्वीकार्नैपर्छ कि, वर्षौंदेखि आजसम्म पनि देशका कुनाकाप्चा वा पाखा–पखेरीका कतिपय बस्ती विकास र आधुनिकीकरणको पारिलो घामका किरणबाट ओझेलमा परेका छन् । उम्मेदवार वा दलका नेतालाई आफ्नो गाउँघरका आँगनीमा भेट्दा गाउँका, आफ्ना पीडा, समस्या निर्धक्ककसँग राख्न पाउनु मतदाताका लागि राज्यबाट उपलब्ध महìवपूर्ण अवसर हो यो स्थानीय निर्वाचन । यसरी राजनीतिक दल, नागरिक समाज, नेता, सार्वभौम मतदाता, उम्मेदवार परस्परमा भेटघाट गर्ने, सम्बन्ध नवीकरण गर्ने एक संवैधानिक एवं कानुनी मानक नै हो– स्थानीय निर्वाचन ।

 निष्पक्षता र आचारसंहिता

निष्पक्ष निर्वाचन स्वयंमा चुनौती मात्र नभएर आजको परिप्रेक्ष्यमा यो एक महìवपूर्ण प्रश्न हो । निर्वाचनमा स्वच्छता एवं निष्पक्षता कायम हुन सकोस् भनेर नै निर्वाचन आयोगले हरेक निर्वाचनमा जस्तै यस पटक पनि आचारसंहिता जारी गरिसकेको सबैमा विदितै छ । निष्पक्ष निर्वाचनको मन्यताप्रति दलका नेता, कार्यकर्ता एवं उम्मेदवारमा विगतदेखि नै विचलन एवं व्यावहारिक अकर्मण्यता देखिने गरेको हुँदा यसमा निर्वाचन आयोगले असन्तुष्टि जनाउँदै आएको छ । 

आचारसंहिता एउटा नैतिक मार्गदर्शन हो । यसको उद्देश्य भनेको निर्वाचनका बेला सबै दलका नेता, कार्यकर्ता, उम्मेदवार सबै नैतिक आचरणप्रति निष्ठापूर्ण प्रतिबद्ध होऊन्, जसका कारण निर्वाचन निष्पक्ष एवं विश्वसनीय हुन सकोस् भन्ने नै हो । 

त्यसैले मतदानको सुनिश्चितताका साथसाथै दल र उम्मेदवारका बीच स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने, पाउने तथा आफ्ना एजेन्डा, घोषणा आदि मतदातामाझ पस्किन समान अवसर पाउनु नै निष्पक्ष निर्वाचनको एक स्थापित अवधारणा हो ।

अन्त्यमा निर्वाचनमा हार, जित स्वाभाविक परिणाम हो । यही मान्यताबाट प्रेरित भई निष्पक्ष निर्वाचनका खातिर आचारसंहिताको पूर्ण कडाइका साथ पालना गरी÷गराई आसन्न स्थानीय निर्वाचन सफल तुल्याउनु हामी सबैको दायित्व हो ।




Author

विनोदमोहन आचार्य