अन्योल र अनिश्चितताका बिच इतिहासकै एउटा घोर भयानकताका करिब डेढ दर्जन दिन हामीले बिताइसकेका छौँ । यही बिचमा हामीले ठुला सांस्कृतिक र सामाजिक पर्व पनि मनायौँ । उमङ्ग बोकेर आएका चाडपर्वले नेपाल र नेपालीलाई भावनात्मक एकता र आगामी निकासको बाटो पहिल्याउने प्रेरणा पक्कै छोडी गएका छन् । समाज, संस्कार अनि सामाजिक संरचनाले हामीलाई यस्तो विश्वासको आभास गराउँछ ।
गत भदौ २३ र २४ गते देशमा के भयो ? अघिल्लो दिनको त्यो ‘नरसंहार’ अनि पछिल्लो दिनको त्यो विध्वंस । यी दुई दिन इतिहासका पानाबाट कहिल्यै मेटिने छैनन् । यो एउटा विशुद्ध नवपुस्ताले गरेको गैरराजनीतिक विद्रोह थियो । विद्रोहको स्वीकारोक्ति अनि त्यसको भावनालाई आत्मसात् गर्नु लोकतान्त्रिक राज्यको चरित्र हो । लोकतन्त्रको जगमा उभिएको नेपालको राजनीतिले देशमा भएका यस्ता हरेक विद्रोह र आन्दोलनलाई आत्मसात् गर्दै आएका छन् । एकाध असन्तुष्टि र असहमति लोकतन्त्रका आधारभूत मान्यता हुन् । त्यसलाई पनि स्वाभाविक मान्नु पर्छ । नवपुस्ता अर्थात् जेनरेसन जेड (जेनजी) ले गरेको त्यो विद्रोह राजनीतिको घेराभन्दा निकै पर थियो । व्यवस्थाप्रतिको असन्तुष्टिभन्दा पनि एउटै एउटै अनुहारबाट शासित नवपुस्ताको त्यो एउटा विद्रोह थियो । सुशासन र आत्मसम्मानका लागि नवपुस्ताले थालेको त्यो विद्रोहलाई कसले र कसरी बिचबाटै ‘हाइज्याक’ ग¥यो बिस्तारै छरपस्ट हुँदै गइरहेको छ । तथापि चुनाव घोषणा भइसकेको छ । देशमा अन्तरिम सरकार छ । अझै देशले केही समय राजनीतिक रिक्तता त झेल्नुपर्ने नै छ ।
२००७ सालअघि र त्यसपछिको समयमा नेपालले पटक पटक यस्ता आन्दोलनको सामना गर्दै आएको छ । सत्ताका पलटझपट र राजनीतिक महत्वाकाङ्क्षाको अभीष्टका कारण देशमा पटक पटक आन्दोलन भएका छन् । विद्रोह भएका छन् । यहाँसम्म कि देशले पटक पटक ‘सशस्त्र विद्रोह’ समेत भोग्दै आएको छ । राजनीतिक परिस्थितिले नै कतिपय अवस्थामा
‘निर्दलीय’ सरकारबाट प्रशासित हुनु परेको छ । पञ्चायतमा त ३० वर्षसम्म राजनीतिक दलमाथि बन्देज नै लगाइयो । तत्कालीन राजा ज्ञानेन्द्रबाट पनि त्यसको जमर्को भएकै हो । राजनीतिक चेतनाले माझिँदै गरेका नेपालीले त्यसलाई धेरै दिन सहन सकेनन् र फेरि २०६२/६३ मा जनआन्दोलन भयो । नागरिक विद्रोह कति शक्तिशाली हुन्छ भन्ने इतिहास फेरि त्यो बेला एक पटक दोहोरियो । २००७ सालको नागरिक विद्रोहले १०४ वर्षसम्म राज गरेको जहानियाँ राणा शासन अन्त्य गरिदियो । २०६२/६३ को अर्को त्यस्तै विद्रोहले २४० वर्षको राजतन्त्र नै उखेलिदियो । नेपालको इतिहासमा पहिलो पटक एउटा वंशीय राजनीतिक परम्पराको अन्त्य भएको थियो । पहिलो पटक देशले राष्ट्रप्रमुखका रूपमा (अन्तरिम सरकारका बेला गिरिजाप्रसाद कोइराला र पछि राष्ट्रपतिमा निर्वाचित डा. रामवरण यादव) सर्वसाधारण नागरिकका तहबाटै पायो । लोकतन्त्रको यो भाव यतिसम्म उदार रह्यो कि त्यो राष्ट्रप्रमुखको हैसियतमा नेपालले महिला (विद्यादेवी भण्डारी) लाई समेत पाइसकेको छ । जब कि विश्वका कैयौँ शक्तिशाली र आधुनिक भनिने देशमा समेत अहिलेसम्म कैयौँ राजनीतिक अधिकारबाट महिला पछि पारिएका छन् या त वञ्चित गरिएका छन् । त्यो जनविद्रोहको उपलब्धि स्वरूप स्थापित संविधान सभाबाट पहिलो पटक नेपाली नागरिक नै प्रत्यक्ष सहभागी भएर २०७२ सालको संविधान लेखियो । यो एउटा लोकतान्त्रिक, संवैधानिक सर्वोच्चता अनि नागरिक (सार्वभौम) सर्वोच्चताको एउटा मानक थियो ।
‘रातारात’ चमत्कार गरिदिने राजनीतिक दलका चर्का अनि कल्पनाशील भाषण र वाचाबाट आशातीत नागरिक मनहरू निराश हुँदै गए । हरेक क्रान्ति र परिवर्तनबाट नागरिकले धेरै आशा र विश्वास गरेका हुन्छन् । त्यसलाई समाल्न सक्ने व्यक्ति नै खासमा असल नेतृत्व हो । अर्थात् त्यसैलाई राजनेता भनिन्छ । २००७ सालदेखिका परिवर्तन हे¥यौँ भने हरेक सङ्क्रमणका बेला यस्ता नैराश्यता अनि असन्तुष्टिका कैयौँ पहाड हामीले देख्न सक्छौँ । ती कहिलेकाहीँ सडकमा पोखिन्छन् भने अचेल सामाजिक सञ्जालमा लेखिन्छन् । भदौ २३ को जेनजी आन्दोलन त्यसकै एक अध्याय हो । लामो समयदेखि भित्रभित्रै भुसको आगो जस्तो भएको नागरिक असन्तुष्टि सडकमा विस्फोट भयो । त्यसलाई अहिले प्रविधि (सामाजिक सञ्जाल) ले यसरी आगोसरी फैलाइदियो एकैछिनमा हाम्रा ७६ कलिला ज्यान मात्रै गएनन्, देशका महìवपूर्ण धरोहर संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबार क्षणभरमै खरानी भए । दुई तिहाइको सत्ता पनि ढल्यो । राष्ट्रपति संस्थामाथि पनि आक्रमण भयो । इतिहासका साक्षी बनेका पार्टीका नेतामाथि आक्रमण भयो । यो कसरी र किन भयो ? त्यसका अदृश्य पाटा खुल्दै जालान् । हामीले समयको गतिलाई चिन्न नसकेकै हो । इन्टरनेटको जमानामा जन्मिएको यो नवपुस्ताको भावनामाथि नेतृत्वबाट खेलबाड भएकै हो । यो निर्मम सत्यलाई स्वीकार्नै पर्छ ।
के भयो, किन भयो अनि कसरी भयो र कसले त्यस्तो गरायो ? यी प्रश्नका उत्तर बिस्तारै आउँदै गर्लान् । त्यसलाई इतिहासले पक्कै पनि समीक्षा गर्ने छ । त्यसपछि अहिले जुन सङ्क्रमणबाट राष्ट्र गुज्रिरहेको छ, त्यसलाई कसरी निकास दिने भन्नेतर्फ अब हामी सबै केन्द्रित हुनु पर्छ । जे नहुन थियो भयो तर नवनिर्माणको एउटा स्वीकारोक्ति भनेको जे हुन्छ, अब राम्रोका लागि हुन्छ भन्ने हो । किनकि हरेक राष्ट्रिय सङ्कटसँगै समाधान पनि हुन्छ । हामीले जहिल्यै समाधानको बाटो बन्द गरेर समस्या मात्रै खडा गरिरह्यौँ, नेतृत्वको यही कमजोरीको मार देशले खेप्नुपरिरहेको छ । अहिलेको सबै सङ्कट समाधानको एउटै मात्रै लोकतान्त्रिक र उत्तम बाटो वा निकास भनेको फागुन २१ को चुनाव नै हो । त्यो बाटो बन्द गरेर हामीले पुरानै गोरेटो खोस्रिन थाल्यौँ र अझ नजानिँदो तरिकाले नयाँ ‘ट्र्याक’ खोतल्न थाल्यौँ भने देश झनै बर्बादीको बाटोतिर जान्छ ।
अहिलेको आवश्यकता भनेको एउटा दुरदर्शी एवं दूरदृष्टियुक्त नेतृत्वको हो । त्यसको भारी नेपाली कांग्रेसले नै बोक्न सक्छ । बोक्नु पनि पर्छ । पार्टीमा त्यस्तै खालको नेतृत्व चाहिन्छ । कांग्रेस आफैँमा ऐतिहासिक र लोकतान्त्रिक पार्टी हो । कांग्रेसको जन्म नागरिकलाई अधिकार दिलाउने विद्रोहकै लागि भएको हो । विद्रोहकै जगमा कांग्रेस नागरिकको भरोसायोग्य पार्टी बनेको हो । त्यसैले कांग्रेसलाई ‘मास वेस पार्टी’ भनिएको हो । इतिहासका सङ्कटपूर्ण घडी र परिवर्तनका हरेक मोडमा कांग्रेसले निर्णायक भूमिका निभाउँदै आएको छ । राष्ट्रको एउटा जिम्मेवार पार्टी भएका नाताले अबको सङ्कट समाधानका लागि कांग्रेस फेरि एक पटक अघि बढ्नु पर्छ ।
यतिबेला कांग्रेसमा सर्वस्वीकार्य नेताको आवश्यकता छ । केन्द्रीय समिति बैठक चलिरहेको यो सन्दर्भमा पार्टीले त्यसका बारेमा पक्कै उपयुक्त निर्णय लिने नै छ । किनकि हरेक विद्रोह वा क्रान्तिपछि एउटा सर्वस्वीकार्य नेतृत्व जन्मिएको हुन्छ । २००७ को क्रान्तिपछि बिपी कोइराला स्वीकार्य नेताका रूपमा स्थापित भए । ०४६ सालको जनआन्दोलनले गणेशमान सिंहलाई सर्वस्वीकार्य नेता बनायो । २०६२/६३ को जनआन्दोलनबाट गिरिजाप्रसाद कोइराला सर्वप्रिय नेता बने । सशस्त्र सङ्घर्षले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेता बनायो । त्यसपछि भएको मधेश आन्दोलनले उपेन्द्र यादवको स्वीकारोक्ति बढ्यो । संविधान सभा निर्वाचनपछि २०७२ को संविधान जारी हुँदा सुशील कोइराला सर्वस्वीकार्य नेतृत्वका रूपमा स्थापित भए ।
इतिहासले बताउँदै आएको तथ्य हो, हरेक परिवर्तनपछि स्वीकार्य नेता स्थापित हुन्छ र उसले नयाँ मार्ग निर्देश गर्छ । अहिलेको यो सङ्क्रमणको अन्योल भनेको त्यस्तै सर्वस्वीकार्य नेता र नेतृत्व नहुनु हो । त्यसको पहल कांग्रेसले गर्न सक्छ । कांग्रेस मध्यमार्गी चरित्रको लोकतान्त्रिक पार्टी भएर पनि हो । यसले सबैको सहअस्तित्व स्वीकार गर्दै देशलाई निकास दिन मध्यस्थता पनि गर्न सक्छ । राष्ट्रिय सङ्कटका बेला पहिचान स्थापित गर्नु कांग्रेसको धर्म पनि हो । त्यसलाई जोगाइराख्न पार्टीले आफूभित्रको नेतृत्व सङ्कट निवारण गरोस् । कांग्रेसले नवपुस्ताको भावना अनि राष्ट्रिय सङ्कट समाधानका निम्ति सर्वस्वीकार्य ‘अभिभावक’ छानोस् । त्यसका लागि पार्टीको नियमित महाधिवेशन उपयुक्त थलो हो, जसले पार्टीलाई नयाँ दिशा दिने छ । दूरदष्टा नेतृत्व पनि स्थापित गर्ने छ । नयाँ नीतिसहितको नेतृत्व चयन गरी निर्वाचनमा जान सकियो भने त्यसले सकारात्मक परिणाम दिने छ ।
जेनजी आन्दोलनले युवाको चाहना अभिव्यक्त गरेको छ । त्यो चाहनालाई आदर्श मानेर दुर्गमका गाउँ, गरिब, विपन्न, किसान मजदुरका हितको कार्यक्रमसहितको यात्रा आजको आवश्यकता हो । जनाधार नभएका, भावनामा बग्ने र सुटबुट लगाएकाहरूलाई उत्कृष्ट ठान्ने संस्कृतिलाई अब पूर्णत बिदा गर्नु पर्छ । ठालु संस्कृतिकै कारण आज यस्तो परिस्थिति उत्पन्न भएको ज्ञात सबैलाई भएकै होला । समस्या खडा गर्ने होइन, समस्या बुझेर समाधान खोज्न सक्ने सामथ्र्य भएको कांग्रेस नेतृत्व नागरिकले चाहेको छ । कांग्रेसको मूल चरित्रका रूपमा रहेको विद्रोही चेतसहितको मध्यमार्गी धारलाई बुझ्न र बोक्न सक्ने क्षमतासहितको नेतृत्व समयको माग हो । आशा गरौँ, कांग्रेसले विधानको सम्मान गर्दै महाधिवेशनमार्फत योग्य र सक्षम नेतृत्व स्थापित गर्ने छ ।