• १७ कात्तिक २०८२, सोमबार

अर्थतन्त्रमा स्थिरताको खोजी

blog

विश्व अर्थतन्त्र अनेक अस्थिरताबाट गुज्रिएको छ । युद्धको छाया, कर विवाद, आपूर्ति शृङ्खलामा समस्या, अनुदार नीति, जलवायु परिवर्तनलगायतले अस्थिरतामा मलजल गरिरहेको छ । यसबाट विश्वका साना ठुला सबै अर्थतन्त्र गम्भीर रूपमा प्रभावित हुँदै छन् । रुस र युक्रेनबिचको युद्धले संसारलाई नै प्रभावित बनाइरहेको छ । सहज आपूर्तिमा समस्या उत्पन्न गरेको छ । इजरायल र हमासबिच युद्धविरामसँगै अवस्था नयाँ चरणमा प्रवेश गरे पनि मध्यपूर्व ढुक्क हुन सकेको छैन । युद्धका अवशेष आतङ्कवादको अनेक रूपमा देखिन सक्ने जोखिम बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ओभल अफिसको जिम्मेवारी लिएसँगै विश्व अर्थतन्त्र नै कर विवादमा पर्न गयो । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) का कतिपय प्रावधन ओझेलमा पर्न थाले । राष्ट्रपति ट्रम्पको गत साताको पूर्वी एसियाको भ्रमणका क्रममा दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ताले कर विवादमा अस्थायी समाधान खोजे पनि भावी दिशा सुनिश्चित छैन । अस्थिरताको बादल मडारिरहेकै छ ।

विगत तीन दशकयताको उदार अर्थतन्त्रको विश्व परिवेश आशलाग्दो थियो । उदारनीतिले लगानी प्रवर्धन गरेको थियो । नवीन प्रवर्तनले व्यापकता डिजिटल अर्थतन्त्र, नवसञ्चार क्रान्ति, एआई र रोबर्ट युगतर्फको आकर्षणले देखाउँछ । त्यसले विश्वभरनै लगानी आयाम बढाइरहेको थियो । पछिल्लो समयमा लगानी, आय, उत्पादन, नवप्रवर्धन र रोजगारीमा विश्वभर नै गम्भीर सङ्कट छ । अर्थतन्त्रलाई क्रियाशील बनाउँदै स्थिरतातर्फ उन्मुख गराउन लगानीको वातावरण अपरिहार्य हुन्छ । लगानीको वातावरणले अर्थतन्त्रमा उत्पादन बढाउँछ, नयाँ नयाँ रोजगारीको क्षेत्र सिर्जना गर्दै जान्छ ।

लगानीको वातावरण नहुँदा पहेँलो धातु सुनको भाउ उचाइमा पुगेको छ । विश्वका ठुला अर्थतन्त्र सुन सङ्ग्रहमा लागेका छन् । अर्थतन्त्रमा लगानीको वातावरण नहुँदा सुन र डलरको सङ्ग्रह हुने गरेको छ । सन् १९४४ को ब्रिटेनउड सम्झौताले सुन र डलरप्रति विश्वव्यापी विश्वास दिलाउने विश्व आर्थिक प्रणालीको विकास ग¥यो । अमेरिकी राष्ट्रपतिको गत वर्षको निर्वाचनपछि बिस्तारै डलरप्रति शङ्का बढ्न थाल्यो । ब्रिक्स अर्थतन्त्रमा आबद्ध मुलुकले वैकल्पिक मुद्रातिर खोजीनीति गर्दा डलरप्रति अटुट विश्वासमा समस्या सिर्जना भएको छ । त्यसले सुनमा विश्वास बढ्न थाल्यो । 

विश्वका ठुला अर्थतन्त्रले लगानीका वातावरण अभाव महसुस गर्दै सुनमा लगानी बढाइरहेका छन् । चीन, रसिया र भारत जस्ता मुलुकका केन्द्रीय बैङ्क अहिले सुन सङ्कलनमा लगेकै कारण यताको डेढ वर्षमा सुनको भाउ उचाइतिर गएको छ । इजरायल र हमासबिचको युद्धविराम सम्झौता, अमेरिका र चीनबिचको कर तथा व्यापार विवादमा अस्थायी समाधान आदिले सुन घट्न सक्ने र लगानीको वातावरण बन्न सक्ने अपेक्षा गरे पनि त्यसप्रति ढुक्क हुने अवस्था देखिन सकेको छैन । सुस्थिर नीतिबिना विश्व अर्थतन्त्रले दिगो विकासको दिशा लिन 

सक्ने छैन ।

सुनमा लगानीले अर्थतन्त्रमा रोजगारी र उत्पादनमूलक लगानीलाई विकर्षण गर्छ । यताका वर्षमा यो अवस्था विश्वभर नै देखिन लागेको छ । कुनै पनि लगानी सकभर उच्च प्रतिफलका निम्ति हुन्छ । उच्च प्रतिफल लगानीको मूल आधार हो । लागतको अनुपातमा उच्च लाभको प्रतिफल हुन नसक्दासम्म लगानीकर्तामा विश्वास बढ्न सक्दैन । त्यसले वैकल्पिक पुँजी सुरक्षातिर अग्रसर गराउँछ । विश्व अहिले यसै अवस्थातिर अल्मलिएको देखिन्छ । विगतमा युद्धको भयावह अवस्थाको छायाले सताइरह्यो । अहिले पनि युद्धको अवस्था हटिसकेको छैन । युक्रेनले रुसविरुद्ध प्रयोग हुने हतियारका निम्ति अमेरिकासँग गहन संवाद चलाइरहेको छ । रुस अनेक आर्थिक नाकाबन्दीले पनि गलेको छैन । यसले युद्ध लम्बिन सक्ने अवस्थाको सङ्केत गर्छ । त्यसैले पनि विश्व अर्थतन्त्रलाई अस्थिर बनाइरहेको छ । युद्ध र यसको छायाले सुस्थिर अर्थतन्त्रको गन्तव्यमा जान सकिँदैन ।

विश्व अर्थतन्त्रमा एकाएक अहिलेको अस्थिर अवस्था आएको होइन । अर्थतन्त्र गहिरो विश्वासको सङ्कटबाट गुज्रिनुमा अनेक विगतको कारण पनि छन् । खास गरी कोभिड १९ पछि विश्व अर्थतन्त्र थला नै बस्यो । श्रीलङ्का जस्ता मुलुक गहिरो आर्थिक सङ्कटमा परे । पर्यटन अर्थतन्त्रले पहिलेकै अवस्थामा आउन अहिले पनि कतिपय अर्थतन्त्र सङ्घर्ष गरिरहेको छ । नेपालमै पनि कोरोनाअघिको पर्यटनको अवस्था बल्ल आउन सक्ने आशामा छ । कोरोनापछि लयमा आउनै लाग्दा तीन वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व आपूर्ति शृङ्खलामा गम्भीर प्रभाव पर्न गयो । मुद्रास्फीतिको अवस्था सामना गर्न ब्याजदर बढ्न जाँदा अर्थतन्त्रमा लगानी घट्न थाल्यो । त्यसले गैररोजगारीको क्षेत्रमा लगानी रूपान्तरण हुन थाल्यो । आरम्भमा डलर र पछि सुनतर्फ आकर्षित विश्वले अर्थतन्त्रलाई थप प्रभावित गर्ने अनेक अवरोध बेहोर्न थाल्यो । अर्थतन्त्र अस्थिरताको भुमरीमा प¥यो ।

अमेरिकी राष्ट्रपति ट्रम्पका व्यापार नीति पछिल्लो समयमा विश्व अर्थतन्त्र अस्थिरताका थप कारण बनेका छन् । चीनसँगको व्यापार विवादको चुरो दुर्लभ खनिजसँग पनि जोडिएको छ । विश्वका दुर्लभ खनिज बजारमा चीनको बाहुल्यता छ । दुर्लभ खनिज भएको मुलुक युक्रेन युद्धमा रहेका कारण तत्कालै खनन र प्रशोधन हुन समस्या छ । अरू मुलुकले पनि यसमा लगानी बढाउन सकेका छैनन् । अमेरिकाले युक्रेनको दुर्लभ खनिजका निम्ति समझदारी गरिसकेको भए पनि तत्कालै त्यसलाई औद्योगिक उत्पादनस्तरमा लैजान सम्भव छैन । अस्टे«लिया जस्ता मुलुकमा लगानी बढाइ उत्पादनसम्म पुग्न समय लाग्ने छ । चीनको महत्वपूर्ण खनिज बजारमा बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउन अनेक प्रयास जारी देखिन्छ । सोही उद्देश्यसहित ग्रुप अफ सेभेन (जी–७) का ऊर्जा मन्त्री अघिल्लो साता टोरन्टोमा भेला भई गम्भीर रणनीतिक समीक्षा गरेका छन् । दुर्लभ खनिज नै नवऔद्योगिक उत्पानदनको मूल आधार हुन । प्रविधि–सौर्य प्यानल, विद्युतीय सवारीसाधन र सटिक मिसाइलसम्मका लागि आवश्यक कच्चा पदार्थमा दुर्लभ खनिजको उच्च प्रयोग हुन्छ । त्यसको विश्व बजार चीनमै ठुलो हिस्सा निर्भर छ । चीनले गत वर्षदेखि नै दुर्लभ खनिजमाथि निर्यात नियन्त्रण गर्दै लगेको अमेरिकी बुझाइ छ । 

गत साताको टोरोन्टो बैठकमा ट्रम्पको प्रशासनका प्रतिनिधिसमेत सहभागी रह्यो । त्यस बेला राष्ट्रपति ट्रम्प भने एसिया प्रशान्त क्षेत्रमा व्यस्त हुन भयो । थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम गराएको यश लिनु भयो । भारत र अमेरिकाबिच १० बर्से सुरक्षा सम्झौताले नयाँ परिवेश सिर्जना गरेको छ । चीनसँग कर विवादलाई अस्थायी थामथुम पारिएको विश्वास छ । चीनले दुर्लभ खनिजलाई निरन्तरता दिने दिशातिर कुरा मिल्दै गयो भने दुवै देशका कार्यकारी प्रमुखको पारस्परिक भ्रमण भई थप विश्वासको वातावरणसमेत बन्न सक्ने देखिन्छ । त्यसले विश्व अर्थतन्त्रको अस्थिरतालाई न्यूनीकरणमा सहयोग गर्न सक्ने भरोसा छ ।

जी–७ समूहका मन्त्रीहरूको टोरोन्टो बैठक सामान्य अवस्थामा बसेको थिएन । चीनले दुर्लभ खनिज तत्वहरू तथा अन्य खनिजको आपूर्तिमा देखाएको कडाइप्रति दबाब दिने मूल ध्येय नै देखिन्थ्यो । वैकल्पिक स्रोत र साझेदारीको खोजीमा जोड दिइरहँदा चीनप्रति दबाब दिने अमेरिकी रणनीति अनुमान गर्न सकिन्थ्यो । दक्षिण कोरियामा राष्ट्रपति सीसँग ट्रम्पको भेटपछि चीनसँग दुर्लभ खनिजको एक वर्षे सम्झौता भयो । यो राम्रो सङ्केत भए पनि अस्थायी समाधान मात्र हो । हरेक वर्ष यसबारे पुनः वार्ता हुने भनिएको छ । यो पनि भावी दिनमा विश्व अर्थतन्त्रलाई अस्थिर पारिरहने कारण पनि बन्न सक्ने छ । दुर्लख खनिजप्रति यसअघि नै विश्व संवेदनशील बनेको हो । गत जुन महिनामा पश्चिमी क्यानाडामा भएको शिखर सम्मेलनमा जी–७ नेताले ‘महत्वपूर्ण खनिज कार्य योजना’ घोषणा गरेका थिए । त्यहाँ ‘साझा राष्ट्रिय र आर्थिक सुरक्षाका हित’ निम्ति विविध आपूर्ति शृङ्खलाको निर्माणमा जोड दिइएको थियो । दुर्लभ खनिज अन्वेषण, खनन र औद्योगिक स्तरमा तत्कालै विश्व बजार समात्न सहज हुँदैन । चीनले यसमा ठुलो सफलता हासिल गरेको छ । चीनको आपूर्तिमै विश्व लगभग निर्भर छ । कुनै एक देशमा खनिज प्रशोधनको अत्यधिक निर्भरता आर्थिक र सुरक्षाका लागि जोखिमपूर्ण हुने धनी मुलुकको निष्कर्ष छ । 

चीनप्रति अमेरिकालगायत पश्चिमी राष्ट्रको मुख्य गुनासो भनेको बजार सिद्धान्तको पालनाप्रति देखिन्छ । धेरै देशसँग खनिज भण्डार हुँदाहुँदै पनि औद्योगिकस्तरको उत्खनन हुन सकेको छैन । दुर्लभ खनिजमा चीनको वास्तविक शक्ति प्रशोधन र शोधन क्षमता उच्च छ । अमेरिकाको कर विवादको लुप्त कारण यसैमा पनि केन्द्रित छ । कुनै पनि उच्च प्रविधियुक्त उपकरण र विशेष चुम्बक उत्पादनका अनेक कामका निम्ति अपरिहार्य यस्ता दुर्लभ खनिज आफूले लगानी गर्नुभन्दा विश्व सहज आपूर्तिमा दबाब सिर्जना गर्ने विगत अभ्यासले पनि अहिले विश्व अर्थतन्त्रलाई अस्थिरताको भुमरीमा पारेको छ । चीनले दुर्लभ खनिजको विश्व बजारमा प्रभुत्व लामै समयदेखि नै राखिरहेको छ । भण्डारण र बजार मूल्य नियन्त्रण गर्ने सामथ्र्यसमेत चीनसँग छ भन्ने विश्व बुझाइ छ । चीनको प्रभाव घटाउन अमेरिकी प्रयास गहन रणनीतिक छ । अमेरिका पहिलो भन्ने ट्रम्प नीतिको कार्यान्वयनमा चीनको विश्व बजारमा दुर्लभ खनिजको बाहुल्यता गम्भीर चुनौती हुन सक्छ भने अमेरिकी बुझाइ छ । विश्व अर्थतन्त्र अस्थिर बनाउन अनेक परम्परागत कारणमा दुर्लभ खनिज बजार पनि थप कारण बनेको यथार्थ बिर्सन मिल्दैन ।

विश्व अर्थतन्त्र अस्थिर बनाउने सबै खालका कारणको निरूपण आवश्यक छ । समकालीनमा पहेँलो धातु सुनमा बढेको लगानी अर्थतन्त्रको वास्तविक क्षेत्रमा रूपान्तरण नगरी रोजगारीको थप वातावरण बन्न सक्ने छैन । चीन र अमेरिका बिचको व्यापार युद्धमा अस्थायी निराकरण खोजिए पनि त्यसले दिगो भविष्य खोज्न सकिएको छैन । चीनभित्र बलियो उपभोक्ता बजार नहुँदा निर्यात खुम्चिएसँगै चीनको आर्थिक वृद्धिमा पनि प्रतिकूल असर परिरहेको छ । यसले नयाँ शताब्दीमा विश्व अर्थतन्त्रमा एसियाली प्रभावको आयाम लक्षित दिशामा अग्रसर हुन कठिन छ । विश्व अर्थतन्त्रका कतिपय छाया परिरहेको सन्दर्भमा गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछिको नेपाली अर्थतन्त्रसमेत लगानमैत्री सुनिश्चित दिशामा अग्रसर हुन सकेको छैन । अहिले विद्युत् महसुल विवादले दुई दर्जनभन्दा बढी उद्योगधन्दा बन्द भई हजारौँ श्रमिक कामबाट बाहिर छन् । श्रम सञ्चय गर्न सकिँदैन । यसले नाजुक नेपाली अर्थतन्त्रमा थप प्रतिकूल प्रभाव पारेको छ । सुस्थिर विश्व अर्थतन्त्रले नै विश्वभर लगानी बढाउँदै आय, उत्पादन, रोजगारी बढाउन सक्ने छ । नेपाल जस्ता साना अर्थतन्त्रको भविष्यसमेत शान्ति र सुस्थिर विश्व वातावरणमै सकारात्मक दिशामा अग्रसर हुने देखिन्छ ।


Author
जुनारबाबु बस्नेत

उहाँ गोरखापत्र दैनिकको नि. प्रधानसम्पादक हुनुहुन्छ ।