• १ मंसिर २०८२, सोमबार

ब्राजिल कोपका बहुआयाम

blog

  • यो सम्मेलनमा नेपालले ध्यानाकर्षण गर्ने विश्वकै अग्लो शिखर सगरमाथा र हिमशृङ्खला पनि हो । सगरमाथा संवाद गरियो ।
  • नेपालको हिमशृङ्खला विश्व पर्याचक्रको मूल मियो हो । परिवर्तित जलवायुका कारण नेपालसहित दक्षिण एसियालगायतमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर भएको छ ।
  • पृथ्वी विश्वका सबै मानव, अनेक सभ्यताको त साझा घर हो नै साथसाथै, विश्वका करोडौँ जीवप्राणी, बोटबिरुवादेखि जङ्गलको पनि घर हो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको ३० औँ सम्मेलन  (कोप–३०) ब्राजिलको बेलेम सहरमा चलिरहेको छ । सोमबार अर्थात् कात्तिक २४ गते सुरु भएको सम्मेलन मङ्सिर ५ गतेसम्म चल्ने छ । कृषि तथा पशुपन्छी मन्त्री डा. मदन परियार नेतृत्वको उच्चस्तरीय टोलीले सम्मेलनमा नेपाली कार्यसूचीलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गरिरहेको छ । कोप ३० का निम्ति नेपालले गएको जेठको सगरमाथा संवाददेखि नै तयारी गरिरहेको विदितै छ । तयारीका क्रममा नेपालले जमिन सुहाउँदो जलवायु परिवर्तनका असर न्यूनीकरणलाई उच्च प्राथमिकता दिएको देखिन्छ । जलवायु अनुकूलन तथा वित्तका निम्ति बढी नै जोड दिइने छ । मन्त्री डा. परियार विगतका कोपमा पनि धेरै पटक सहभागी हुनुहुन्छ । अनुभवी नेतृत्वको सहभागिताले नेपालको कार्यसूचीले बढी प्राथमिकता पाउन सक्ने स्वाभाविक विश्वास पनि छ । गत भदौ २३ र २४ गतेपछि नवयुवापुस्ताको विद्रोहपछि बनेको वर्तमान सरकार नवयुवाको भावना र दृष्टिकोणलाई उच्च प्राथमिकता दिएको छ । कोप तयारीका क्रममा पनि नवयुवा पुस्तासँगै गहन विमर्श भएको थियो । सबै क्षेत्रको सुझाव लिइएको थियो । ब्राजिल कोपमा नेपालको छरितो प्रतिनिधित्व छ । नवयुवापुस्ताको समेत कोपमा सहभागिता रहेकाले यसले आगामी दिनमा जलवायु परिवर्तनका अनेक आयाम देशीय भावना अनुरूप अगाडि बढ्ने विश्वास गरिएको छ ।

कोपको ब्राजिल सम्मेलनको अनेक विश्वव्यापी चित्र र चरित्र देखिँदै छ । दक्षिण अमेरिकी भूक्षेत्रमा भएको यो जलवायु सम्मेलनमा व्यापक प्रदर्शनले विश्वव्यापी चर्चा पाउँदै छ । प्रदर्शनकारीले हाम्रो जङ्गल बेच्नका निम्ति होइन भनेका छन् । सुरक्षा घेरालाई समेत तोड्न गरिएकाले सुरक्षा चुनौती बढेको छ । यसले जलवायु वार्ताका अनेक सेसनलाई प्रभावित गर्न सक्ने आकलन पनि गरिएको छ । बिबिसीका अनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मीसमेत घाइते भएका छन् भने सम्मेलन कक्षमा केही भौतिक क्षतिसमेत भएको छ । युवा तथा अनेक वेशभूषाका आदिवासीले नेतृत्व गरेको प्रदर्शनलाई नियन्त्रण र व्यवस्थित गर्न सुरक्षाकर्मीले निकै मेहनत गर्नु परेको छ । सुरक्षाकर्मीको भनाइ उद्धृत गर्दै रोयटर्सले दिएको समाचार अनुसार विगतमा कोपमा यस तहको सुरक्षा चुनौती देखिएको थिएन । यसले आगामी दिनमा विश्वमञ्चमा हुने कार्यक्रमलाई समेत सुरक्षा चुनौतीलाई अझ बढाउन सक्छ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) का कतिपय आरम्भिक वार्ता चरणमा प्रदर्शनले उग्र रूप लिने गरेबाहेक अन्य सम्मेलनमा उति प्रदर्शन देखिने गरेको थिएन । 

ब्राजिल कोप सम्मेलनमा दुई सय मुलुकको प्रतिनिधिमूलक सहभागिता रहेको छ । पेरिस सम्झौताले जलवायु परिवर्तन प्रभाव रोक्ने दीर्घकालीन सोचका साथ गरेको सम्झौताको एक दशक बितेको छ । यो सम्मेलनपूर्व औद्योगिक युगभन्दा यता विश्वतापमानमा १.५ सेल्सियस बढेको अवस्थालाई रोक्ने कार्ययोजनामा गम्भीर समीक्षा गर्ने भनिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यकारी प्रमुखमा निर्वाचित भएलगत्तै अमेरिका पेरिस सम्झौताबाट बाहिर आएको घोषणाले विश्वव्यापी प्रतिकूल प्रभाव पारेको छ । जीवाश्म इन्धनको उत्खनन र प्रयोगमा अझ व्यापकता आउन सक्ने अमेरिकी नेतृत्वको दृष्टिकोणले बढी चिन्ताजनक छ । ब्राजिल कोपमा अमेरिकाले उच्च अधिकारी सहभागिता नभएको सन्दर्भमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने विश्व परिवेशमा अनेक प्रश्न उठेका छन् । कतिपयको विश्लेषण त ब्राजिल कोप असफल हुन सक्ने भन्ने पनि छ ।

ब्राजिल सम्मेलनमा अमेजन जङ्गलको मुद्दाले ज्यादै नै व्यापकता पाएको छ । दक्षिण अमेरिकाको जल र जीवनको आधार अमेजन वन क्षेत्रमा जीवाश्म उत्खननप्रति व्यापक आपत्ति प्रकट हुन थालेको छ । यसले त्यस क्षेत्रको वन फँडानी र अतिक्रमनले व्यापकता पाउन सक्ने प्रदर्शनकारी तथा सहभागीको समान चासो छ । यो वन फडानीले पर्याचक्रममा गम्भीर प्रतिकूल प्रभाव पर्न सक्ने भनिएको छ । विश्वतापमान र अझ धु्रवीय तापमान बढ्न सक्ने चिन्ता प्रकट अस्वाभाविक छैन । तत्काल पैसाका निम्ति वन अतिक्रमन र जीवाश्म इन्धनका निम्ति वन फडानीका गतिविधिप्रति आक्रोश बढेको छ । रोयटर्ससँग एक प्रर्दशनकारीले पैसा खान नमिल्ने भनेका छन् । उनका अनुसार जलवायु परिवर्तनका प्रभावले कृषि क्षेत्र गम्भीर प्रतिकूल असरतर्फ अगाडि बढेको छ । त्यसले भविष्य पुस्ताले पैसा खाएर बाँच्न नसक्ने आक्रोश व्यक्त गरेका छन् । जलवायु परिवर्तनका असरले कृषि उत्पादन र उत्पादनकत्वमा परेका दुष्प्रभावको यो आक्रोश अस्वाभाविक पनि छैन ।

जलवायु परिवर्तनका असरले विश्व अर्थतन्त्र नै गम्भीर प्रतिकूल प्रभावतर्फ अग्रसर छ । नेपाल यसमा अपवाद छैन, बरु अझ बढी प्रभावित छ । हिमाली क्षेत्र व्यापक प्रभावित छ । सोलुखुम्बुको थामेमा गएको बाढी होस् वा रसुवा र मुक्तिनाथमा बेमौसममा आएको बाढी होस्, जनजीवन दुरुह हुँदै छ । सेता हिमालमा हिउँ पग्लेर काला पहाड बन्दै छन् । बाढी, पहिरो र डुबान व्यापक हुँदै छ । कृषि उत्पादन र उत्पादकत्व घट्दै छ । पूर्वाधारमा व्यापक क्षतिले आवागमन र आपूर्ति प्रणालीमै चुनौती थपेको छ । साउनमा पानी नपरेर मधेशमा धान खेतीका निम्ति अति नै प्रतिकूल प्रभाव परेको घटना बिर्सन सकिन्न । अति कठिन सङ्घर्षमा लगाएको खेती उठाउने बेलामा कात्तिकमा अविरल वर्षाले क्षति पु¥यायो । हिमाली क्षेत्रमा भर्खर सुरु भएको पर्यटन सिजनमै हिम वर्षाले प्रतिकूल प्रभाव पा¥यो । पर्यटकलाई विभिन्न हिमाली क्षेत्रबाट उद्धार गर्नु प¥यो । आय घट्यो ।

नेपालमा अझै पनि ६० प्रतिशत मानिस कृषिमै निर्भर छन् तर जलवायु परिवर्तनका बहुआयामिक असरले कृषि क्षेत्र प्रभावित छ । कृषि क्षेत्रबाट विस्थापनको क्रम पनि बढ्दो छ । विशेष गरी नवपुस्ता कृषिप्रति आकर्षित देखिन सकेको छैन । जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न, जलवायु अनुकूलनका कार्ययोजना अगाडि बढाउन सकिएको छैन । जलवायु वित्तका अनेक विश्वव्यापी कोषलाई सहज तवरले ल्याउन सकिएको छैन । कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत हाराहारी योगदान रहेको कृषि क्षेत्र जलवायु परिवर्तनका असरकै कारण प्रभावित हुँदै जाँदा देशको अर्थतन्त्रमै दीर्घकालीन असर पर्दै जान सक्ने छ । कृषि क्षेत्रले दिएको रोजगारी र स्वरोजगारी गुम्दै जाने जोखिम अझ बढ्न सक्ने छ । उद्योग र सेवा क्षेत्रसमेत राम्ररी फस्टाउन नसकेको अहिलेको तितो यथार्थमा थप युवा बिदेसिनुपर्ने हुन सक्छ । यो अवस्थालाई कोप सम्मेलनमा अझ गहन तवरले देशीय दृष्टिकोण राखेर उपाय खोज्ने दीर्घकालीन कार्ययोजनामा काम गर्नु आवश्यक छ ।

अमेरिकाले पछिल्लो समयमा खनिज इन्धन उत्खननका निम्ति थप प्रयास अगाडि बढाएको छ । सम्मेलन आयोजक मुलुक ब्राजिलले समेत कोइला, तेल र ग्यास उत्खननका निम्ति अनुमति दिइरहेको छ । त्यसप्रति तीव्र आक्रोश देखिनु अस्वाभाविक होइन । चीन, अमेरिका, भारत जस्ता मुलुक अहिले पनि उच्च रूपमा कार्बन उत्सर्जन गर्ने मुलुक हुन् । विकसित देशले हरित ऊर्जाप्रतिको दीर्घकालीन कार्ययोजनामा स्पष्ट मार्गचित्र अगाडि बढाउन सकेका छैनन् । औद्योगिक देशले विगत डेढ सय वर्षमा खनिज इन्धनको अति उत्खनन गरेरै सम्पन्नता हासिल त गरे तर विश्वको तापमान बढाउँदै अहिलेको जलवायु सङ्कट निम्त्याएका हुन् । अन्याय गरेका हुन् । उनीहरूले जलवायु वित्तमा ठुलो राशि योगदान दिएर क्षति बेहोर्दै आएका मुलुकको विकासमा सघाउनु पर्छ । यो जलवायु न्यायको पनि विषयसमेत हो ।

नेपाल जस्ता मुलुकले जलवायु परिवर्तनका निम्ति कारण बन्ने दुस्प्रभाव गरेका छैनन् तर जलवायु परिवर्तनका असरबाट भने सबैभन्दा बढीपीडित छन् । गत वर्षको असोज १० देखि १२ गतेसम्मको काठमाडौँ उपत्यका र वरपर बाढी, पहिरो र डुबानले ठुलो जनधनको क्षति भयो । तीन दिनमै ४६ अर्ब रुपियाँको भौतिक पूर्वाधार नष्ट भयो । यो पटकको असोजको मध्यपछि पनि अविरल वर्षाले ठुलो क्षति भयो । कात्तिकमा पनि बेमौसममा ठुलो वर्षा भयो । यस्ता अनेक जलवायु जोखिमका गम्भीर अध्ययन भएको छैन । विश्वमञ्चलाई विश्वासिलो तवरले जानकारी दिई जलवायु वित्तका कोषलाई अनुदानका रूपमा देशभित्र ल्याउन प्रयासमा ब्राजिल कोप सहयोगी हुनु पर्छ ।

यो सम्मेलनमा नेपालले ध्यानाकर्षण गर्ने विश्वकै अग्लो शिखर सगरमाथा र हिमशृङ्खला पनि हो । सगरमाथा संवाद गरियो । बाह्य विज्ञ र प्रतिनिधिको सहसभागितासहितको निष्कर्ष कोपका निम्ति गहन गृहकार्य पनि हो । कोपमा हिन्दकुश हिमशृङ्खलाको पग्लँदो हिउँ विश्वव्यापी समीक्षा गर्न सकिने छ । जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौता विषयमा नेपालको बढी चासो हुनु पर्छ । नेपाललाई जलवायु वित्तको ठुलो आवश्यकता बुझाउन सक्नु पर्छ । जलवायुका विषयमा पारदर्शिता, अनुकूलन ढाँचा, पर्वतीय हिउँ पग्लने जोखिम, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरण तथा जलवायु न्यायमा आधारित नेपाली कार्यसूची नेपालको मात्र होइन, विश्वका धेरै मुलुकका साझा समस्या पनि हुन सक्छन् ।

कोप सहभागितामा विगतदेखि नै नेपालले उच्च प्राथमिकता दिएको देखिन्छ । यो पटकको कोपमा राजनीतिक र प्राविधिक सत्रलाई अलग गरियो । नेपालको ध्यान बढी प्राविधि सत्रमा गएको छ । कोपमा नेपालले गहन राष्ट्रिय स्थितिपत्र प्रस्तुतले भावी दिशा निर्देश गर्ने छ । नेपालले हिमाललाई नै पहिलो प्राथमिकतामा पारेको छ । वैज्ञानिक अध्ययनले हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा ०.३ डिग्री सेल्सियसदेखि ०.७ डिग्री सेल्सियसभन्दा बढी हुने छ । नेपालको हिमशृङ्खला विश्व पर्याचक्रको मूल मियो हो । परिवर्तित जलवायुका कारण नेपालसहित दक्षिण एसियालगायतमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर भएको छ । यसप्रति गहन वैज्ञानिक अध्ययन भएको छैन, हुनुपर्ने छ । 

कोप ३० लाई अमेरिकी राष्ट्रपतिलगायत विश्वका धेरै राजनेताको सहभागिताा रहेन । यसले जलवायु परिवर्तनका विश्वव्यापी असर न्यूनीकरण गर्ने साझा पहलमा अनेक प्रश्न पनि उठेका छन् । पृथ्वी विश्वका सबै मानव, अनेक सभ्यताको त साझा घर हो नै साथसाथै, विश्वका करोडौँ जीवप्राणी, बोटबिरुवादेखि जङ्गलको पनि घर हो । व्यापक पर्याचक्रले दिँदै आएको सन्तुलन जलवायु परिवर्तनका असरले प्रतिकूलनतिर लैजाँदै छ । विश्व अर्थतन्त्रमै यसको प्रतिकूल असर पर्दै र फैँलँदै छ । आय, उत्पादन र रोजगारीमा प्रतिकूल असर परिरहेको छ । जलवायु परिवर्तनका असर झन् झन् सघन हुँदै छन् । ब्राजिल कोप विगतका प्रतिबद्धता कार्यान्वयनमा सघन हुने विश्वास छ । ब्रह्माण्डमै एक मात्र प्राणीको साझा घर पृथ्वीको संरक्षण नै कोपका वार्ताकारको निष्कर्षका मुख्य लक्ष्य हुनु पर्छ । पृथ्वीका अनेक भूक्षेत्रमा तापमान बढ्दै गई जैविक विविधता नष्ट हुँदै छ । पृथ्वी जोगाउँदै भावी पुस्तालाई सुरक्षित गरिनु जरुरी छ ।

  

Author
जुनारबाबु बस्नेत

उहाँ गोरखापत्र दैनिकको नि. प्रधानसम्पादक हुनुहुन्छ ।