हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ६ जना महिलालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
३९ मतदान स्थल रहेको मुस्ताङमा एक मतदान अधिकृत जगेडामा राख्ने गरी ४० मध्ये ६ जना निर्वाचन अधिकृत र ७ जना सहायक निर्वाचन अधिकृतमा महिला रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।
महिला निर्वाचन अधिकृतहरूमा शुसिला ज्ञवाली, सकुन्तला अधिकारी, जिता गिरी, डा. समिक्षा कँडेल, रन्जिता पोखरेल र सोभा पुन रहनुभएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्र ज्ञवालीले बताउनुभयो। निर्वाचन अधिकृत ज्ञवालीले भन्नुभयो, ‘‘निर्वाचनको तालिमपछि उहाँहरूलाई मतदान केन्द्रको जिम्मेवारी प्रदान गरिने छ,बिरामी वा अन्य जटिल समस्या भएमात्रै मतदान अधिकृत हेरफेर हुन्छ ।’’
उच्च हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रको जिम्मेवारी लिने मतनान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारीलाई लेक लाग्ने जोखिमलाई समेत मध्यनजर गरी आवश्यक स्वास्थ्य जानकारी सहित हावापानी सुहाउँदो वातावरण बनाउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ती लिएपछि मतदान अधिकृतले मतदान स्थलको अनुगमन, कर्मचारी व्यवस्थापनसहित निर्वाचन सम्पन्न अगाडि र पछाडि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्नुपर्ने छ ।
मुस्ताङमा खटिएका महिला निर्वाचन अधिकृतमा स्वास्थ्य, प्राविधिक सहित तीनै तहका सरकार मातहतका अधिकृत स्तरका कर्मचारी हुनुुहुन्छ । मुस्ताङमा स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि विभिन्न चरणको तालिम, नमुना अभ्यास सहितका कार्यहरू समेत भएका छन् ।
जिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेको छ ।