• ११ फागुन २०८२, सोमबार

सप्तरीमा निर्वाचन सुरक्षाका लागि सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), फागुन ११ गते । फागुन २१ मा हुने निर्वाचनको सुरक्षाका लागि सप्तरीमा ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी ७ हजार ३ सय ३५ जना सुरक्षाकर्मी परिचालन हुनेभएको हो ।

निर्वाचन सुरक्षामा यहाँ ७ सयको सङ्ख्यामा नेपाली सेना परिचालन हुने राजविराज स्थित बरखगणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार नेपाल प्रहरीका १ हजार ५ सय ८८ र निर्वाचन प्रहरी ३ हजार ८ सय ३७ जना परिचालन गरिने छ ।

निर्वाचन सुरक्षाकै लागि जिल्लामा सशस्त्र प्रहरी ८ सय २५ र सशस्त्रसँगै निर्वाचन प्रहरी ३ सय ८५ जना परिचालन हुने सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिनुभयो । यसरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी कुल ७ हजार ३ सय ३५ जना सुरक्षाकर्मी सप्तरीका परिचालन हुने बताइएको छ ।

सप्तरीमा रहेको स्थायी २९६, अस्थायी २ गरी २९८ मतदान स्थल मध्ये सुरक्षा विश्लेषणको आधारमा २०९ वटालाई अति सम्वेदनशील र ८३ सम्वेदनशील सुचीमा राखिएको छ । मतदाताहरूले सहज, भयरहित र निष्पक्ष मतदान सम्पन्न गराउन सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक पुरीले बताउनुभयो ।