दोलखामा पर्ने शैलुङ त्यो जिल्लाको मात्र होइन, देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यमा विकास गर्न सक्ने प्रशस्त सम्भावना देखिन्छ । केही वर्षयता शैलुङको सुन्दरता तीव्र प्रसार हुँदै छ । त्यहाँ पुग्ने नेपालीको भिड शक्रबार र शनिबार त थामिनसक्नु हुन्छ । रामेछापसँगै जोडिएको दोलखाको पश्चिमी छेउ शैलुङ पर्यटकीय गन्तव्य विकास हुँदै जाँदा काभ्रे, सिन्धुली, सिन्धुपाल्चोकलगायतका जिल्लाले पनि प्रत्यक्ष र अप्रत्यक्ष पर्यटकीय लाभ लिन सक्छन् । होटेल व्यवसाय चल्छ । स्थानीय कृषि उपजले बजार पाउँछ ।
कुनै पनि मुलुकमा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोयबाटै त्यो मुलुकको आर्थिक विकासका पाइला अगाडि बढ्दै जान्छ । कतिपय मुलुकको तीव्रत्तर विकाससमेत हुन्छ । विश्व विकासको इतिहासले यस्तै बोल्छ । त्यस्ता स्रोतसाधनको सदुपयोय गर्ने नीति, योजना र कार्यक्रम आवश्यक पर्छ । समयमै गरेको स्रोतसाधनको व्यवस्थापनले नै देशको विकास अगाडि पुग्छ । सन् १९७० को दशकदेखि खाडी मुलुकका देशले जीवाश्म इन्धनको उत्खनन र प्रशोधन गरी विश्व बजार प्रभावित पार्न सके । खाडी मुलुक अहिले विश्वका सम्पन्न मुलुकमा पुग्दै छन् । दक्षिण कोरियाले कठिन मेहनतबाट औद्योगिक युगको प्रारम्भ गर्न सक्यो । विश्वमा यस्ता अनेक उदाहरण छन् । नेपालसँग जलस्रोत थियो, छ । तीन दशकअघि नै १०/२० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकेको भए नेपालको विकासको रेखाचित्र अर्कै हुनुहुन्थ्यो । जलसम्पदासँगै नेपाललाई सुन्दर प्राकृतिक सम्पदालाई पर्यटकीय उत्पादनमा रूपान्तरण गर्न ढिला हुँदै छ । कृषि अर्को सम्भावना हो । कृषिमा त अर्गानिक विविधता पक्रन सक्दा विश्वकै पर्यटनसँगै आन्तरिक पर्यटनको समेत विशाल सम्भावनाबाट समृद्धिको मार्ग खुल्न सक्ने थियो । राजधानी काठमाडौँबाट १२५ किलोमिटर पूर्वमा रहेको शैलुङको पर्यटकीय आयाम चिनारी गर्ने क्रममा कृषि र जलस्रोतको समेत विषय विमर्श नगरे अन्याय हुन्छ ।
दोलखामा पर्ने शैलुङ त्यो जिल्लाको मात्र होइन, देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यमा विकास गर्न सक्ने प्रशस्त सम्भावना देखिन्छ । केही वर्षयता शैलुङको सुन्दरता तीव्र प्रसार हुँदै छ । त्यहाँ पुग्ने नेपालीको भिड शुक्रबार र शनिबार त थामिनसक्नु हुन्छ । रामेछापसँगै जोडिएको दोलखाको पश्चिमी छेउ शैलुङ पर्यटकीय गन्तव्य विकास हुँदै जाँदा काभ्रे, सिन्धुली, सिन्धुपाल्चोकलगायतका जिल्लाले पनि प्रत्यक्ष र अप्रत्यक्ष पर्यटकीय लाभ लिन सक्छन् ।
होटेल व्यवसाय चल्छ । स्थानीय कृषि उपजले बजार पाउँछ । शैलुङको माथिल्लो पूर्वी फेद कालापानी बजारमा पर्यटीय चहलपहलका होटल पसल खुल्न थालेका छन् । स्थानीयका निम्ति रोजगारी र स्वरोजगारीका अनेक बाटा खुल्न थालेका छन् । खाना खाने र बास बस्ने होटेल विस्तार हुँदै छन् । चियाचमेनाको ससानो अस्थायी पसल बिहानैदेखि शैलुङको थुम्कामै पुग्न थालेका छन् । आन्तरिक पर्यटनको चाख र चहलपहल बढेको छ । युवाको असाध्य आकर्षण छ । सामाजिक सञ्जालले सीमाहीन प्रसार गरिरहेको छ । शैलुङको सुन्दर मोहले धेरैलाई तानिरहेको छ ।
शैलुङ तामाङ बसोबास बाहुल्य क्षेत्रमा पर्छ । सय वटा थुम्का भएको लेकाली ससाना डाँडाको भूमि भएकाले शैलुङ नाम रहेको भन्ने भनाइ छ । छयाङ्ग खुलेका बेला शैलुङका थुम्काबाट उत्तरतिर चाँदी जस्ता टल्कने हिमशृङ्खला देखिन्छ । उत्तरीतिरको सामुन्नेमा गौरीशङ्कर हिमाल देख्न सकिन्छ । हिन्दु धर्मालम्बीका निम्ति गौरी र शङ्कर भन्नु पार्वती र शिव हुन् । पार्वती र शिवको अलौकिक दर्शन आफैँ रहेको स्थानबाट आँखाको समानान्तरमा देख्न सक्ने अलौकिक आनन्दको विशिष्टता छ । त्यसको सुन्दरताले त मनमोहक नै बनाउँछ । आफैँसँग मिठा कुराकानी गरे झैँ लाग्छ । ती हिमाललाई आँखाले तान्दै अँगालो हालौँ जस्तो लाग्छ । एक स्थानबाट यति धेरै हिमशृङ्खला आँखै अगाडि सायदै देख्न पाइन्छ । पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल र लाङटाङ देखिन्छ । सामुन्नेमा गौरीशङ्कर अनि त्यस पूर्वमा सगरमाथा र नुम्बुर हिमालले मन लोभ्याउँछ । नेपाली भूमिको महाभारत पर्वत शृङ्खलाबाट तिब्बत क्षेत्रको हिमाल सायदै देखिएला । त्यो अपूर्व अवसर पनि तिनै थुम्काबाट देख्न सकिन्छ । कति आनन्द ?
शैलुङ समुद्री सतहबाट ३१५० मिटरमा अवस्थित छ । कालापानीबाट उकालो लागेपछि उकालो हिँडाइको सकस र मनोरम दृश्यका रस्वादनसँगै पौने घण्टादेखि एक डेढ घण्टासम्म पुग्न सकिन्छ । प्राकृतिक बनोटसँगै धार्मिक स्थल अनेक छन् । खुट्किला खुट्किला चढ्न सुरु गरिन्छ । यो पूर्वाधारले मिनी ग्रेटवालको चिनारी पाएको छ । यो विस्तारको क्रममा छ । उकालैमा भीमसेनको तरबारको आकृति बाटैमा देख्दा आनन्द लाग्छ । बुद्धको पाइला उकालैमा पर्छ अनि गाई ढुङ्गा देख्न सकिन्छ । बाघ ढुङ्गा, जुरे ढुङ्गाको आकृतिसँग आआफ्नै कथा लुकेका छन् । बुद्ध र हिन्दु धर्मका अनेक किंवदन्तीले शैलुङको सय थुम्का र वरपरका भूमिलाई पवित्र बनाएको छ । शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठका अनुसार पूर्वाधार विकासले गति लिएसँगै यो क्षेत्रको पर्यटकीय विकास नयाँ चरणमा प्रवेश गर्ने छ । पालिकाको प्रयास सराहनीय छ तर पर्याप्त छैन । अझ बढी लगानीको आवश्यकता छ । काठमाडौँ लामोसाँघु जिरी सडकको मुढेबाट कालापानीसम्मको सडक स्तरोन्नति हुँदै छ । पर्यटकीय पूर्वाधारको यो मूल आधार पनि हो । रामेछापतर्फबाट पनि दोरम्बा र सुनापति पालिकाले पूर्वाधार विकासमा काम गर्दै छन् । त्यस भेगबाट पनि पर्यटकीय उत्पादनको अनेक आयाम विस्तार सम्भव छ ।
पूर्वमा सगरमाथा हिमशृङ्खलादेखि बिस्तारै पश्चिमतिर आँखा घुमाउँदै पश्चिममा अन्नपूर्णसम्म एकटकले हेर्न सकिने थुम्काको शिरमा बौद्ध गुम्बा छन् । बोन सम्प्रदायका माने सम्पदा प्रशस्त छन् । कति मासिँदै गएको भनेर चिन्ता बढ्दो छ । पर्यटन विकाससँगै अध्ययन अन्वेषणका निम्ति इतिहास जीवन्त राख्ने चुनौती पनि छ । आन्तरिक पर्यटनको अहिलेको आकर्षणले भोलिका दिनमा बाह्य पर्यटकको हब बन्न सक्छ यो सुन्दर र पवित्र क्षेत्र । प्रकृतिले दिएको यो अनुपम सम्पदामा मानवीय अतिक्रमणबाट भने जोगाउनै पर्छ । त्यो अग्लो थुम्कामा दर्शन टुप्पो अर्थात् भ्यु टावर बनाउनुको औचित्य सायदै पुष्टि हुन्छ । कङ्क्रिटको त्यो पूर्वाधार भद्दा जस्तो जाग्छ । बरु पर्यावरणीय पवित्रतालाई हानिनोक्सानी नगरी अस्थायी स्तरीय कफी सप, रेस्टुराँको अवधारणा अगाडि बढाउँदा पर्यटकीय उत्पादनमा विविधता आउँछ । पदयात्रालाई प्रोत्साहन हुन्छ र गर्नु पनि पर्छ । योग, ध्यान, अध्ययन, अन्वेषण र मनोरञ्जनका विविधता समेट्ने पर्यटकीय प्याकेज विकास गरी सेवा क्षेत्रको अर्थतन्त्र विस्तारले रोजगारीको नयाँ क्षेत्र खुल्ने छ । दोलखामा अरू धार्मिक, प्राकृतिक तथा सांस्कृतिक स्थल पनि रहेका कारणले बाह्य तथा आन्तरिक पर्यटकको बसाइ दिन लामो बनाउने काइदामा नेपाल पर्यटन बोर्डलगायतको गहन गृहकार्य जरुरी छ ।
शैलुङ र शैलुङ जस्ता नेपालको धेरै भूभाग मनोरम पर्यटकीय गन्तव्य नेपालको हिमाली र पहाडी भेगमा धेरै छन् । नेपालको पत्रकारिताको इतिहास विसं १९५८ आरम्भ गर्दै १२५ औँ वर्षका यात्रामा रहेको गोरखापत्रले शैलुङमा मङ्सिर ६ गते साहित्यिक सम्मेलन आयोजना ग¥यो । गोरखापत्रले यो नयाँ इतिहास रचेको हो । अघिल्लो वर्ष तनहुँको बन्दीपरमा मधुपर्क सम्मेलन आयोजना गरेको अनुभवलाई संस्थागत गर्दै शैलुङमा आयोजना गरेको गोरखापत्र साहित्यिक सम्मेलनले शैलुङको पर्यटन विकास र प्रसारमा नयाँ आयाम विस्तार गरेको छ । मिडिया, साहित्य र पर्यटनको त्रिवेणी बनेको यो साहित्यिक महोत्सव छ । लब्धप्रतिष्ठित साहित्यकारले शैलुङको थुम्कोमा बिहानीको पारिलो घामसँगै आआफ्ना सिर्जना सुनाउँदा त्यसको सुवास क्षितिजको अनन्तसम्म पुग्ने सञ्चार सारिणीमा सम्पे्रषण हुँदै थिए, निरन्तर नयाँ सिर्जना अनेक मिडियामा छाइरहेका छन् । अझ पछि छाउने छन् ।
गोरखापत्रले पत्रकारितासँगै भाषा, साहित्य र सिर्जनामा युगीन योगदान गर्दै आएको छ । गोरखापत्रका प्रकाशनहरूको आयाम फराकिलो हुँदै छन् । गोरखापत्र दैनिक नेपाली भाषासँगै थप ४६ देशभाषामा मिडिया सामग्री विस्तारित हुँदै छन् । दी राइजिङ नेपालले छ दशकदेखि नेपाल दृष्टिकोण संसारभर फैलिएको अङ्ग्रेजी भाषाको माध्यमले सेवा दिइरहेको छ । मधुपर्कका साहित्यिक मानक अमापणीय छ । युवामञ्चले युवा अनि मुनाले बालबालिकाको बहुपक्षीय आयाम समेट्दै छ । गोरखापत्र र राइजिङ नेपालको अनलाइनले डिजिटल सञ्चार र पत्रकारिताको विश्वव्यापी पहुँचलाई विश्वासिलो बनाउँदै छन् । स्वयम्मा यति समृद्धि मिडिया हाउस पर्यटकीय मनोरम गन्तव्य शैलुङ पुग्दा जिल्लाबासीको हार्दिक स्वागत पाएको छ । गाउँपालिका प्रमुख अनि प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिताले साहित्यिक सम्मेलनको स्वादमा शैलुङ रमाएको छ । पर्यटकीय आयाम फराकिलो हुँदै जाने स्थानीयको विश्वास छ ।
विशिष्ट पक्ष के थियो भने गोरखापत्रको मङ्सिर ६ गते शनिबारका पृष्ठ शैलुङका लेख रचनाले समृद्ध थिए । खोज अन्वेषणमा समेत आधारित शनिबारीय अङ्कलाई कालापानी बजारमा रुचिका साथ पढिँदै थियो । प्रतिष्ठित लेखक तथा साहित्यकारका लेख रचनाले भरिएको त्यो अङ्क स्थानीय दुर्गा माध्यमिक विद्यालयको आँगनमा सजिए । दोलखाली पाठकका निम्ति ती विशेष नै भए । गोरखापत्रले दुर्गा माध्यमिक विद्यालयको पुस्तकालयलाई अझ समृद्ध बनाउन पुस्तक, पत्रपत्रिका हस्तान्तरण ग¥यो । शैलुङको गोरखापत्र साहित्यिक सम्मेलनको बिहानी दुर्गा माविका भाइबहिनी स्काउट टोली र विद्यालय परिवारको उत्साहजनक सहभागिता स्वयम्मा उल्लेखनीय थियो । दिउँसो तिनै विद्यार्थीले पुस्तक हस्तान्तरणको सङ्क्षिप्त तर सुन्दर कार्यक्रमलाई बढी महत्वको बनाइदिएका थिए । राजधानीबाट शैलुङ साहित्यिक सम्मेलनमा सहभागी स्रष्टाको सहभागिताले पुस्तक हस्तान्तरण कार्यक्रम विशेष बनेको थियो ।
नेपाल अनेक पर्यटकीय गन्तव्यले भरिएको मुलुक भए पनि अझै ती गन्तव्यलाई मुलुकका आर्थिक अवसरमा रूपान्तरण गर्ने सिलसिलाले गति लिन सकेको छैन । शैलुङ र शैलुङ जस्ता पर्यटकीय गन्तव्य नेपाली युवाको रोजगारीमा रूपान्तरित हुनु पर्छ । त्यसका निम्ति स्थानीय उत्पादनलाई बढोत्तरी दिने गरी पर्यटकीय आयाम फराकिलो पार्नु जरुरी छ । नेपालका ग्रामीण पर्यटकीय गन्तव्यमा स्थानीय कृषि उपजलाई बढीभन्दा बढी प्रयोग गर्न सक्ने गरी लगानी ढाँचा तयार गरिनु पर्छ । आयातित वस्तु तथा सेवा अनि बाह्य औद्योगिक उत्पादन गाउँमा लगेर विकास गरिने पर्यटनले वास्तविक मूल्य अभिवृद्धि गर्न सक्दैन । त्यसले त परनिर्भरता र पर्यावरणीय जोखिम बढाउँछ । प्राकृतिक सुन्दर सम्पदा अतिव्रmमित हुन्छन् । जैविक विविधताका हिसाबले हेर्दा वनजङ्गल, जडीबुटी, जङ्गली जनावर र चराचुरुङ्गीको भण्डार शैलुङलाई संसारकै नयाँ र आकर्षक पर्यटकीय गन्तव्य बनाउन अब ढिला गर्नुहुन्न ।