सिराज खान
नेपालगन्ज, फागुन ११ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनामा जिल्लामा विभिन्न प्रकारका १४३ वटा मुद्दा दर्ता भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले सो जानकारी गराउँदै जिल्लामा माघ महिनामा दर्ता भएका मुद्दाहरूमध्ये जघन्य अपराधका ६, गम्भीर अपराधका ५५ वटा र सामान्य अपराधका ८२ वटा मुद्दा रहेको बताउनुभयो ।
उहाँले ती मुद्दाहरूमा अनुसन्धानका लागि प्रहरीले १३३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको बताउनुभयो । प्रहरी प्रवक्ता पातलीका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा माघ महिनामै आर्थिक अपराधका ३४ वटा घटना दर्ता भएका छन् ।
सोही अवधीमा महिला बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित सात वटा मुद्दा पनि दर्ता भएको प्रहरीले जनाएको छ । सोहीप्रकार उक्त अवधीमा जिल्ला प्रहरी कार्यालयमा ३५३ वटा ठाडो उजुरी परेका थिए । बाँके प्रहरीका अनुसार त्यहाँ ३५३ ठाडो उजुरी परेकोमा प्रहरीले १६७ वटा उजुरी सोही महिनामा फर्स्यौट गरेको छ । एउटा सम्बन्धित निकायमा लेखिपठाएको र १८६ वटा उजुरी फर्स्यौट गर्न बाँकी छ ।
सोही अवधीमा लागु औषधतर्फ प्रहरीले १६३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर, ११३० क्याप्सुल ट्रामाडोल, ३८ ट्याब्लेट नाइट्राजेपाम र १८ ग्राम ८०० मिलिग्राम गाँजा बरामद गरेको थियो ।
यसैगरी माघ महिनामै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २०६ वटा उजुरी परेका थिए । ती मध्ये १८० वटा फर्स्यौट भएका छन् । २६ वटा मात्र फर्यौट हुन बाँकी रहेको बाँकेका प्रहरी प्रवक्ता दीपक पातलीले बताउनुभयो ।
सोही क्रममा घरेलु हिंसाअन्तर्गत ४० वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा परेकोमा २५ वटा उजुरीको मिलापत्रमार्फत समाधान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।