प्रवीणकुमार शर्मा
रौतहट, फागुन ११ गते । रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समिति रौतहटको सोमबार बसेको बैठकले गौरमा जारी कर्फ्यु सोमबार बिहान १० बजेदेखि हटाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समिति रौतहटको निर्णय अनुसार फागुन ९ गते दिउँसो १ बजेदेखि गौरमा कर्फ्यु लगाइएको थियो । यस अघि जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार राति सूचना जारी गर्दै कर्फ्यु सोमबार बिहान ६ बजेसम्म रहने जनाएको थियो । सोमबार बिहान १० बजे पछिको अवस्था विश्लेषणका आधारमा आवश्यक निर्णय गरिने जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारीे सूचनामा उल्लेख गरिएको थियो ।
पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।
गत बिहीबार राति सवगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिद अगाडि अवरोध भएपछि चर्किएको विवादले उग्र रूप लिन थालेपछि जिल्ला सुरक्षा समिति रौतहटको निर्णय अनुसार कर्फ्यु आदेश जारी गरिएको थियो ।