• १२ साउन २०८१, शनिबार

गुराँसे जङ्गलमा साइकल मार्ग

blog

ठाकुरप्रसाद आचार्य

बेनी, वैशाख ८ गते । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीस्थित गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालनमा ल्याइएको छ । घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकलाई लक्षित गरेर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालनमा ल्याइएको हो । घोडेपानी पुग्ने पर्यटकले साइकलमा यात्रा गर्दै पाखा र भीरमा फुलेका गुराँस, घनाजङ्गल, चराचुरुङ्गी र हिमालको दृश्यावलोकन गर्न पाउने भएका छन् । 

अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीदेखि वडा नं. ७ स्थित प्यारीवाराही ताल जोड्ने साइकल निर्माण भएसँगै पर्यटक उत्साहित भएका छन् । पछिल्लो समय सडक यातायातले पदमार्ग मासिएका बेला साइकल मार्गले पर्यटकलाई राहत मिलेको छ । घोडेपानी आउने पर्यटकको बसाइ लम्ब्याउने र पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यले साइकल मार्ग निर्माण गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजाले बताउनुभयो । 

सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीवाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको साइकल मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले बताउनुभयो । उहाँका अनुसार घोडेपानीबाट साइकलमा कालीसार चौर हुँदै नाका, प्यारीवाराहीदेखि रानीवास र घोडेपानी फलेट घरसम्म साइकलमा घुम्न सकिनेछ । “यो राउन्ड साइकल मार्ग निकै रमाइलो र रोमाञ्चक हुन्छ,” उहाँले भन्नुभयो, “हिमालको दृश्य, घना गुराँसको जङ्गल, चराचुरूङ्गीका साथै मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।”

नयाँ वर्षको अवसरमा पोखरा साइकल सिटीका १४ जनाको टोली साइकल चढेर घोडेपानी पुगेको स्थानीय सुरेन गुरुङले जानकारी दिनुभयो । गुराँसको जङ्गलभित्र साइकल चढेर प्यारीवाराही ताल पुगेका सिटीका सहसचिव धर्मसिंह लामीछाने नेतृत्वको टोली पुनहिल घुमेर कास्कीको उल्लेरी हुँदै पोखरा फर्किएको उहाँले बताउनुभयो । 

“गुराँसको जङ्गलभित्र पृष्ठभूमिमा हिमाल हेर्दै साइकलमा यात्रा गर्न पाउनु यहाँको आकर्षण हो,” स्थानीय गुरुङले भन्नुभयो, “अन्नपूर्ण राउन्डको भ्रमणमा आउने पर्यटकलाई साइकल मार्गले आकर्षित गर्ने विश्वास लिएका छौँ ।” स्थानीय होटल व्यवसायीले पर्यटकलाई साइकल भाडामा दिएर घुम्ने व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो । गतवर्ष प्रदेश सरकारको २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीवाराही ताल जोड्ने तीन÷तीन किलोमिटर दूरीको डेढ मिटर चौडाइ भएको घोडा र साइकल मार्ग निर्माण गरिएको थियो ।

गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीवाराही ताल जोड्ने मार्गमा चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेलासमेत बनाइएको उपभोक्ता समितिका अध्यक्ष पुनले बताउनुभयो । पछिल्लो समय सडक यातायातका कारण पर्यटकलाई धुलोधुवाँले सास्ती भएकाले पर्यटकको सुविधाका लागि प्रदेश सरकारको बजेटमा साइकल मार्ग निर्माण गरिएको उहाँले बताउनुभयो ।