• २ जेठ २०८१, बुधबार

सौन्दर्यका लागि प्रविधि प्रयोग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ८ गते । युवा पुस्ता सुन्दरता तथा फेसनका प्रवृत्तिलाई पछ्याउन मन पराउँछन् । आफू राम्रो बन्न कुनै पनि हदसम्म जान युवा पुस्ता सुन्दरताको विभिन्न प्रविधि अपनाउने गरेको पाइन्छ । 

राम्रो बन्न सौन्दर्यसामग्री प्रयोग नगरी अन्य विधिद्वारा आकर्षक देखिने ट्रेन्ड बढिरहेका बेला सुन्दरता थप्न नयाँ प्रविधिसँगै नयाँ शैलीको थालनी भएको छ । माइक्रोब्लेडिङ, हेयर ब्रिडिङ तथा एक्सटेन्सन, हेयर ट्रान्सप्लान्ट, बोटोक्स, आइल्यासेस–एक्सटेन्सन, नेल एक्सटेन्सन तथा आर्ट, बडी स्लिमिङ, केमिकल पिलिङ आदि प्रविधिले मानिसलाई सुन्दर बनाउनेमात्र होइन, सधैँ जवान देखाउने र सौन्दर्यमा निखार थप्ने काम गरिरहेका छन् । 

सौन्दर्य विशेषज्ञ सुष्मा महरा भन्नुहुन्छ, “सौन्दर्य जगत् विशाल र कल्पनाबाहिरको छ । हामी थोरै नेपालीमात्र भर्खरै यसमा सक्रिय हुँदै छौँ । यदि हामीले यससम्बन्धी ज्ञान र सूचना प्राप्त गर्न सक्यौँ भने हामी सधैँ सुन्दर देखिनुका साथै आफ्नै देशमा रोजगारी प्राप्त गर्न सक्षम हुन्छौँ । महिलाका लागि यो व्यवसाय सुरक्षित र सहज छ ।”

अहिले नेपालमा त्यस्ता थुप्रै ब्युटी क्लब, स्टुडियो तथा स्लिमिङ सेन्टरले सेवा प्रदान गरिरहेका छन् । जसले शरीर घटाउनेदेखि शरीरको सेप निकाल्ने, छालालाई आकर्षक देखाउने, केशै नभएकाको केश उमारेर लहराउँदो केशको रहर मेटिदिने, साना आँखा भएकालाई ठूलो र आकर्षक आँखा बनाइदिने, बाक्लो तथा लोभलाग्दो आँखीभौँ र आइल्यासेस सिर्जना गर्ने यस्ता स्थानमा दक्ष विशेषज्ञ र पछिल्ला प्रविधि देख्न पाइन्छ । नेपाल तथा दुबईमा नेल आर्ट र एक्सटेन्सनको काम गरिरहेका सुनीलजङ्ग मल्लका अनुसार अहिले नङ बनाउनेको सङ्ख्या ७० प्रतिशतले बढेको छ । केही समयअघि आर्टमा मात्र सीमित यो कला अहिले जेल, एक्रेलिक हुँदै मार्बल डिजाइनसम्म आइपुगेको छ । 

अहिले विवाहमा नेल आर्ट गर्नेको लर्को लाग्ने गर्छ । यसैगरी, परमानेन्ट आइल्यासेस एक्सटेन्सनप्रति पनि युवावर्गको मोह उत्तिकै बढेको महराले जानकारी दिनुभयो । “आफ्नो प्राकृतिक आइल्यासेसमा उस्तै परेला जोड्नु हो,” उहाँले भन्नुभयो, “यसबाट कृत्रिमपन देखिँदैन ।” महराले परमानेन्ट आइल्यासेस एक्सटेन्सनका लागि उच्च गुणस्तरको ग्लुको सहायताले व्यक्तिको आफ्नै परेलाको आधा भागमा एक/एक गर्दै अर्को परेला टाँस्दै गइन्छ । यो काम गर्दा अत्यन्त संवेदनशील हुनु जरुरी छ ।