• ९ मंसिर २०८१, आइतबार

अर्थतन्त्रको दिशा (सम्पादकीय)

blog

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र श्रीलङ्काको पछिल्लो आर्थिक स्थितिले यस क्षेत्रका धेरै राष्ट्रलाई झस्काएको छ । भावी आर्थिक सङ्कटको अवस्थाबाट मुक्ति पाउन विभिन्न उपाय अवलम्बन गरेका पनि छन् । अधिकांश उपभोग्य वस्तुको आयात गर्नुपर्ने हुँदा देशको ढुकुटीमा पर्याप्त मात्रामा विदेशी मुद्राको सञ्चिति अर्थतन्त्रका लागि उपयुक्त मानिन्छ । विदेशी मुद्रा पर्याप्त हुँदा आवश्यक वस्तु वा सेवाको आयात गर्न समस्या पर्दैन । अन्य विभिन्न कारणसँगै रुस र युक्रेनबीचको द्वन्द्वले अन्तर्राष्ट्रिय क्षेत्रमा महँगी बढेको छ । महँगीसमेतले बढ्दो आयातसँगै नेपालजस्ता मुलुकलाई विदेशी मुद्राको सञ्चितिमा प्रतिकूल प्रभाव पर्नु स्वाभाविकै हो । यस्तै कोभिड सङ्क्रमणको गति न्यून भएलगत्तै वृद्धि भएको आर्थिक गतिविधिका कारण चलायमान भएको अर्थतन्त्रले गर्दा पनि माग बढेर आयातमा चाप परेको छ । यी सबै कारणले विदेशी मुद्रा सञ्चितिमा चाप परेको वास्तविकता नेपालले भोगिरहनु परेको हो । अहिलेको अवस्थामा विश्वका विकसित तथा धनी मुलुकहरूले समेत अर्थतन्त्र सही दिशामा लैजान निकै असजिलो स्थितिको सामना गरिरहनु परेको विश्वव्यापी यथार्थ हो । 

नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कलाई आधार मान्दा नेपालसँग हाल झन्डै १२ खर्ब रुपियाँ अर्थात् साढे नौ अर्ब डलरभन्दा बढी विदेशी मुद्रा सञ्चिति छ । यो रकमबाट मुलुकले झन्डै सात महिनाका लागि विदेशी वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ । यता भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा मात्र १४ खर्ब रुपियाँभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको देखिन आएको छ । यही अनुपातमा आयात वृद्धि कायम रहेमा चालू आर्थिक वर्षमा नेपालले २० खर्ब रुपियाँभन्दा बढी विभिन्न वस्तु तथा सेवाको आयातमा खर्चिनेछ । विदेशी मुद्रा सञ्चितिको अवस्था तथा आयातको अनुपातको विश्लेषण गर्दा यसलाई अनुकूल स्थिति भन्न सकिने अवस्था पक्कै पनि छैन । यसका निम्ति आयातका वस्तुमा नियन्त्रण तथा कडाइ गर्नुपर्ने वा यस्तै अन्य केही उपाय अपनाउनु पर्ने विकल्प सरकारसँग छ र सरकारले त्यस दिशातिर काम थालिसकेको छ । 

पर्याप्त विदेशी मुद्रा सञ्चितिको अभावमा श्रीलङ्काले स्कुल र कलेजको परीक्षा सञ्चालनका लागि आवश्यक कापी तथा मसी खरिद गर्न नसकेको परिस्थिति जानकारीमै छ । यो परिस्थिति आकलन गर्दा नेपालले पनि समयमै पनि केही शिक्षा लिनै पर्ने अवस्थालाई नकार्न सकिँदैन । यसर्थ अहिलेको अवस्थामा सन्तुलित अर्थतन्त्रका निम्ति आयातमा नियन्त्रण, अनावश्यक खर्चमा कटौती, इन्धन उपभोगमा मितव्ययिता पूर्वसतर्कताका आधार हुन सक्छन् । यी पूर्वसतर्कताका उपाय अवलम्बनबाट आउँदा दिनमा अर्थतन्त्रमा समस्या सिर्जना नहुने परिस्थिति आउनेमा विश्वस्त हुन सकिन्छ । नियन्त्रणात्मक उपाय अवलम्बनका अभावमा मुलुकसँग विषम आर्थिक स्थितिको सामना गर्नुबाहेकको विकल्प हुने छैन । 

अहिलेको विदेशी मुद्रा सञ्चिति निकै गम्भीर अवस्थामा नभए पनि भविष्यका लागि सचेत हुनुपर्ने अर्थविद्हरूको भनाइले पनि मुलुकको अर्थतन्त्रमा सुधारको अपेक्षा गर्न सकिन्छ । अर्थमन्त्री जनार्दन शर्माको बुझाइ पनि यही छ । यसका अतिरिक्त सरकारद्वारा विदेशी मुद्रा सञ्चिति वृद्धिका लागि अनावश्यक विदेश भ्रमणमा विचार पु¥याउनु थालिएको छ । त्यसै गरी आयातमा नियन्त्रण तथा कडाइका उपायहरूले पक्कै पनि सकारात्मक परिणाम ल्याउने तथ्यमा अर्थमन्त्री शर्मा आशावादी हुनुले मुलुकमा जटिल आर्थिक समस्या आइनपर्ने तथ्यमा विश्वस्त हुन सकिन्छ । सरकारको नियन्त्रणात्मक कदमजस्तै वर्तमानको विषम परिस्थितिबाट पार पाउने मुख्य उपाय विलासी तथा अनावश्यक वस्तुको आयातमा पूर्ण नियन्त्रण नै समेत हो । समयमै परिस्थिति अनुरूप सरकारले यसमा अझै कडीकडाउ गर्नु समग्रमा सन्तुलित अर्थतन्त्रका लागि उत्तम हुनसक्छ । 

सरकारद्वारा अवलम्बन गरिने यस्ता कदमका अतिरिक्त पछिल्लो समयमा विप्रेषण आप्रवाहमा देखिएको सुधार, बाह्य पर्यटक आगमनमा वृद्धिका साथै बाह्य लगानीमा देखिएको वृद्धिले पनि नेपाली अर्थतन्त्रलाई सही एवं सन्तुलित दिशा दिन सक्छ । अर्थमन्त्री शर्माका विचारजस्तै यी तथ्यहरूका सकारात्मक परिणाम तीन चार महिनापछि नेपाली अर्थतन्त्रमा देखिने अपेक्षा गर्न सकिन्छ । सरकारले नियन्त्रण मात्र गरेर हुँदैन, आर्थिक सुधारका नीतिगत पाइलासमेत अगाडि बढाउनु पर्छ । रोजगारी बढाउने र स्वदेशी उत्पादन बढाउने नीतिले नै अर्थतन्त्रले सही मार्ग  अवलम्बन गर्न सक्छ ।