• २७ वैशाख २०८१, बिहिबार

इलाम –२ उपनिर्वाचन

उच्च सुरक्षा टोलीद्वारा मतदानस्थलको निरीक्षण

blog

इलाम निर्वाचन क्षेत्र नं. २ का मतदानस्थलमा उच्च सुरक्षा अधिकारीको टोलीले निरीक्षण गर्नुहुँदै । तस्विरः प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), वैशाख १५ गते । इलाम निर्वाचन क्षेत्र नं. २ का मतदानस्थलमा उच्च सुरक्षा अधिकारीको टोलीले निरीक्षण गरेको छ । उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन इलाम २ का मतदान केन्द्रमा केन्द्रमा उच्च सुरक्षा निकायको संयुक्त टोलीले अनुगमन तथा निरीक्षण गरेको हो । 

नेपाली सेनाको २१ नम्बर बाहिनीका प्रमुख सहायक रथी युवधिरमानसिं अधिकारी, नेपाल प्रहरीका कोशी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरीका डिआइजी अन्जनीकुमार पोखरेलसहित राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले इलाम महेन्द्ररत्न बहुमुखी क्यापससहितका मतदान केन्द्रमा पुगेर अनुगमन गर्नुभएको छ ।  

प्रदेश प्रहरीका एसपी भीम दाहालसँगै इलामका सबै सुरक्षा निकायका प्रमुखले मतदान केन्द्रको अवलोकन गर्नुभएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी यादव, इलामका एसपी वासुदेव खतिवडा, सशस्त्र प्रहरी बलका एसपी प्रदीप खड्का  राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक तुलसी प्रसाईँ, रणसार्दुल गण इलामका गणपति प्रल्हाद घले सहभागी टिमले अनुगमन गर्नुभएको छ । 

जिल्लाका ६ पालिका भित्रका ४२ वटा वडामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । निर्वाचन क्षेत्रका तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाका हिसाबले सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । १ लाख १५ हजार ८ सय ८७ मतदाता सङ्ख्या रहेकोमा हालसम्ममा ३७ हजार (३० प्रतिशत) मत खसेको छ ।