• १८ असार २०८१, मङ्गलबार

आचारसंहिता पूर्णरुपमा पालन गर्ने राजनीतिक दलको प्रतिबद्धता

blog

आचारसंहिताबारे जानकारी दिनुहुँदै मुख्य निर्वाचन अधिकृत

राजन रावत

हुम्ला हुुम्ला, वैशाख ६ गते । जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले राजनीतिक दलहरुसँग आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलले सो प्रतिबद्धता व्यक्त गरेका हुन ।

नेकपा एमालेका उपाध्यक्ष डबल रावतले स्थानीय निर्वाचनका लागि आयोगले जारी गरेका आचारसंहिता पूर्णरुपमा पालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि निर्वाचनमा सहभागी सबै दलले आचारसंहिता पालन गर्नुपर्ने बताउनुुभयो । उहाँले जनताको मन जितेर विजेता प्राप्त गर्नु नै पहिलो आवश्यकता भएको जानकारी दिनुहुँदै आफ्नो पार्टीले आचारसंहिता पालनमा आयोगलाई सहयोग गर्ने बताउनुुभयो ।

यसअघि मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश पौडेलले आयोगद्वारा जारी गरिएका ६१ बुँदे आचारसंहितामा मुख्य–मुख्य बुँदामाथि प्रकाश पार्नुभयो । सो क्रममा उहाँले लोकतन्त्रको सुनौलो पक्ष आवधिक निर्वाचन भएको र त्यसमा दलहरुले आचारसंहिता पालन गर्न आग्रह गर्नुभयो । उहाँले कुनै पनि पक्षबाट आचारसंहिता उलङ्घनका उजुुरी कार्यालयमा आए त्यसलाई कारवाही प्रकृयामा समेत लैजाने बताउनुुभयो ।

उहाँले गत चैत २५ गते रातिबाट आचारसंहिता लागू भइसकेको र त्यसमा हालसम्म दलहरुले पालन गर्नु निष्पक्ष निर्वाचनका लागि सकरात्मक पक्ष भएको बताउनुुभयो । सम्बद्ध पक्षबाट निर्वाचनको अधविमा आचारसंहिता उलङ्घन भए विवाद त्यहीबाट सुुरु हुने जसबाट निर्वाचन बिथोलिने भएको बताउँदै उहाँले निर्वाचनमा भाग लिने सबै दलहरुलाई यसमा सचेत रहन आग्रह गर्नुभयो ।

आचारसंहिताबारे जानकारी दिन आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा निर्वाचन कार्यालयमा आवश्यक कागजात बुुझाएका १३ दलहरु मध्य नौ वटा दलको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी एकीकृत, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाललगायतको सहभागी रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, सुरक्षा निकाय प्रमुख र उपलब्ध नाम्खा र खार्पुनाथ गाउँपालिकाका निर्वाचन अधिकृतको समेत सहभागीता रहेको थियो ।