• २४ वैशाख २०८१, सोमबार

विदुर र धीरको जोडीलाई स्वर्ण

blog

विदुर विष्ट र धीरबहादुर गुरुङको जोडी ।

काठमाडौँ, वैशाख १२ गते । विदुर विष्ट र धीरबहादुर गुरुङको जोडीले १०औँ सिटिजन्स बैँक खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा बुधबार स्वर्ण जित्नुभएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा विदुर र धीरको जोडीले ध्रुव गुरुङ र प्रकाश बोगटीको जोडीलाई २–६, ६–२ र १०–७ को सेटमा पराजित गर्नुभयो । 

सिटिजन्स बैँकको मुख्य प्रायोजनमा नेपाल टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा आध्या पौडेल र समृद्धि महर्जनले सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । आध्याले प्रकृति श्रेष्ठलाई ६–२, २–६ र ६–१ तथा समृद्धिले प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सेटमा हराउनुभयो । अभिलाषा विष्ट र सुनिरा थापा पनि बाइ पाएर सेमिफाइनलमा पुग्नुभयो । 

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा र कर्मा घले उपाधिका लागि भिड्नु हुनेछ । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठले फाइनल स्थान पक्का गर्नुभयो । ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठ तथा छेवाङ लामा र महेश श्रेष्ठको जोडीले उपाधि भिडन्त पक्का गर्नुभयो । 

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, सिमान्त गुरुङ, अनिल साइ र सन्तोष खत्री सेमिफाइनलमा प्रवेश गर्नुभयो । सोही उमेर समूहको पुरुष डबल्समा अनिल साइ र सिमान्त गुरुङ, सन्तोष खत्री र छेवाङ लामा, भीष्मजंग गुरुङ र देव क्षेत्री तथा जितेन्द्र परियार र इलम दिक्षीतको जोडीले सेमिफाइनल यात्रा तय गर्नुभयो । 

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार वाइबा र प्रदीपबहादुर शाह फाइनलमा पुग्नुभयो । ५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार वाइबा र हिमाल शाह, जीवन घिमिरे र शिवप्रसाद सेढाईं, कमल थापा र छ्याम्बा धुन्डुप तथा चन्द्र शाही र सोमबहादुर लालचनको जोडी फाइनलमा पुग्नुभयो ।