• ६ जेठ २०८१, आइतबार

बजार भाउ बढ्दा उपभोक्ता मारमा

blog

काठमाडौँ, वैशाख ७ गते । दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि । सानोतिनो कमाइले परिवार धान्न गाह्रो भएको अनुभव सहकारीमा पैसा सङ्कलनको काम गर्ने विष्णुमाया क्षेत्रीले सुनाउनुभयो । दैनिक एक हजार रुपियाँले चार जनाको परिवारलाई सामान्य खाएर दुई छाक टार्न गाह्रो भएको अनुभव विष्णुमायाको छ । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” 

सबैभन्दा सस्तो (मोटा) चामल एक वर्षको बिचमा केजीमै २० रुपियाँ बढेर प्रतिकेजी ६५ बाट ८५ रुपियाँ पुगेको छ । दाल, गेडागुडी, चिनी, तेल, पिठो र अन्य खानेकुरा तरकारी सबै यसै गरी बढेका छन् । विष्णुमायाले काम गर्ने सहकारीले तीन वर्षदेखि मासिक २० हजार रुपियाँ तलबमा काम लगाउँदै आएको छ । विष्णुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको चर्को मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।  

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षको बिचमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशतले महँगिएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश शाहीले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशत महँगो भएको पाइएको जानकारी दिनुभयो । 

सङ्घका अनुसार २०८० वैशाखमा प्रतिकेजी ६५ रुपियाँ रहेको चामल अहिले बढेर ८५ रुपियाँमा कारोबार भएको छ । सो अवधिमा स्टिम जिरा मसिनो चामल प्रतिकेजी ९० रुपियाँबाट बढेर एक् सय रुपियाँमा किनबेच भएको छ भने चिनी प्रतिकेजी रुपियाँबाट बढेर १०८ देखि ११० रुपियाँमा कारोबार भएको छ । सङ्घका उपाध्यक्ष शाहीले पछिल्लो समयमा गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार गरिने बिस्कुट र पाउरोटीका परिकार नघटेको बताउनुभयो । दाल, गेडागुडी, चिउरालगायतका सामान १० देखि १५ प्रतिशतसम्म महँगिएको उहाँको भनाइ छ ।

लैनचौरमा खुद्रा व्यापार गर्दै आएका वरिष्ठ उपाध्यक्ष शाहीले अधिकांश खाद्यवस्तुको भाउ महँगो भएकाले उपभोगमा ठुलो ह्रास आएको अनुभव सुनाउनुभयो । वर्षौंदेखि सोही चोकमा व्यापार गर्दै आएका शाहीले भन्नुभयो, “हरेक महिना चार केजी दाल, चार केजी गेडागुडी किन्ने उपभोक्ताले आधा घटाएर दुई/दुई केजीमा सीमित गरेका छन् । राम्रो ब्रान्डको चामल किन्नेले सस्तो ब्रान्डको चामल किन्न थालेका छन् ।” 

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले महँगो भएका विषयमा बढी खाद्यवस्तु मात्रै बाहिर आउँछन् तर एक वर्षको बिचमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीलगायतका सबै वस्तुको भाउ बढेको बताउनुभयो । उहाँले सरकारसँग बजारमा कुन वस्तुको कति माग हो, कति खपत हुन्छ भन्ने कुनै तथ्याङ्क नभएका कारण बजार केही मुठीभर व्यापारीको नियन्त्रणमा भएकाले उपभोक्ता सधैँ मारमा पर्नुपर्ने अवस्था रहेको बताउनुभयो । 

त्यसो त नेपाल राष्ट्र बैङ्कले गएको चैतमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार उपभोक्ताले प्रयोग गर्ने आधारभूत वस्तुको मूल्यवृद्धि गत वर्षको फागुनको तुलनामा यस पटक घटेको देखिन्छ । यस्तो मूल्यवृद्धि गत फागुनमा ७.४४ प्रतिशत थियो तर यो वर्षको फागुनमा ४.८४ प्रतिशत मात्र छ । त्यसलाई आधार मानेर नेपालमा मूल्यवृद्धि गत वर्षभन्दा घटेको भन्न सकिन्छ ।

मूल्यवृद्धिको अवस्था

राष्ट्र बैङ्कका अनुसार फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत छ । उक्त महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसलाको भाउ सबैभन्दा धेरै बढेको छ । त्यस्ता वस्तुको भाउ २८.१७ प्रतिशत बढ्दा तरकारीको मूल्य १४.०७ प्रतिशतले र दाल तथा गेडागुडीको भाउ ११.२२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ७.११ प्रतिशतले भाउ बढेको छ । 

प्रतिवेदन अनुसार मूल्यवृद्धि काठमाडौँ उपत्यकामा ४.८८ प्रतिशत, तराईमा ४.४२ प्रतिशत, पहाडमा ५.४९ प्रतिशत र हिमालमा ४.४२ प्रतिशत भएको छ । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनका अनुसार बजार अनुगमन अनुसार मूल्यवृद्धि त दोहोरो अङ्कमै भएको छ तर कसरी पाँच प्रतिशत हाराहारी मात्र भएको विवरण आयो । 

राष्ट्र बैङ्कले एक दशकअघि तय गरेका आधारहरू अन्तर्गत मूल्य सङ्कलन र विश्लेषण गर्ने गरेको छ । सो बैङ्कका अनुसार बैङ्कले मूल्य मापनका लागि देशका विभिन्न ६० वटा केन्द्रबाट नियमित रूपमा मूल्य सङ्कलन गर्ने गरेको छ । त्यस्ता केन्द्रहरू ग्रामीण र सहरी तथा भूगोलका आधारमा पनि मिलाएर तय गरिएको छ । त्यस्ता स्थानबाट कुल ४९६ वटा वस्तु तथा सेवाको मूल्य सङ्कलन हुने गर्छ । तीमध्ये ४०२ वटा वस्तु हुन् भने ९२ वटा सेवा हुन् । नेपालको कुनै पनि घरपरिवारले औसतमा गर्ने खर्चका आधारमा ती वस्तु तथा सेवाको भार तोकिएको हुन्छ ।