• १२ असोज २०८१, शनिबार

नवौँ राष्ट्रिय खेलकुद समयमै : सदस्य सचिव घिसिङ

blog

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको विषयमा भएको छलफलमा सहभागी । तस्बिरः राष्ट्रिय खेलकुद परिषद्

काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै आयोजना  हुने बताउनुभएको छ । आइतबार प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौँ राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले उक्त कुरा बताउनुभएको हो ।

गत साता बसेको मन्त्रीपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । ‘राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ । हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आआफ्नो स्तरबाट तयारी अगाडि बढाउन आग्रह गर्छु,’ घिसिङले भन्नुभयो । प्रतियोगिता र पूर्वाधारको व्यस्थापन र समन्वय गर्न आवश्यक रहेकोले सरोकारवालासँग पहिलो बैठक बोलाईएको पनि घिसिङले बताउनुभयो । 

बैठकले राखेपको छिट्ट बस्न लागेको बोर्र्ड  बैठकका लागि एजेन्डा तय गर्न सहज भएको पनि घिसिङले बताउनुभयो । ‘नवौँ राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको छ । राखेप खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको छ,’ उहाँले भन्नुभयो । 

बैठकमा सहभागी प्रदेशका सदस्य सचिवहरुले कर्मचारी व्यवस्थापन गरिदिनु पर्ने, पूर्वाधारको मर्मत सम्भार गर्नु पर्ने, छनोट प्रतियोगिताको विधि, प्रतियोगिता र पूर्वाधारमा समन्वय, आयोजक प्रदेशलाई १-२ खेल थप्न पाउने प्रावधान बनाउनु पर्ने, एनआरएनलाई पनि समावेश गर्न पहल गर्नु पर्ने, ऐनमा भएका जटीलतालाई फुकाउनु पर्ने, खरिदलगायतका कुरा निर्देशिकामा स्पष्ट हुनु पर्ने, गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व गर्ने गरी सबै जिल्लामा प्रतियोगिता सञ्चालन गर्नु पर्नेलगायतका विषयमा धारणा राख्नुभएको थियो । 

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले राष्ट्रिय खेलकुदको महत्व, सहभागी हुने टिम, खेल संख्या, खेलाडीलगायत सहभागी संख्या, नवौं राष्ट्रिय खेलकुदको स्वरुपलगायतका विषयमा प्रकाश पार्नुभएको थियो । बैठकमा ६ प्रदशेका सदस्य सचिव, नेपाल ओलम्पिक कमिटी, नेपाल प्रहरी, नेपाली सेना र एपीएफका प्रतिनिधिको उपस्थिति रहेको थियो । मधेस प्रदेशमा सदस्यसचिव नियुक्त भइ नसकेकाले महिला, बालवालिका तथा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख ठूलोबाबु दाहाल बैठकमा उपस्थित हुनुहुन्थ्यो ।