• २ वैशाख २०८३, बुधबार

थारू संस्कृतिको संरक्षणमा तीन युवती

blog

आफ्नै मौलिक वेशभूषामा अनिमा, प्रमिला र ममता चौधरी । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, वैशाख २ गते ।
शान्तिनगर गाउँपालिका–६, गिधनियाकी अनिमा चौधरी, प्रमिला चौधरी र ममता चौधरी आफ्नो अध्ययनसँगै थारू भाषा, साहित्य, वेशभूषा तथा कला–संस्कृतिको संरक्षणमा सक्रिय अभियान सञ्चालन गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती बबई क्याम्पसमा अध्ययनरत यी तीन थारू युवतीले आफ्नै पहिचान जोगाउने लक्ष्यसहित युवापुस्तालाई प्रेरित गरिरहेका छन् ।

क्याम्पसमा हुने औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा उहाँहरू परम्परागत थारू वेशभूषामा सजिएर सहभागी हुने गर्नुहुन्छ ।

“हामी आफ्नै वेशभूषामा सजिएर कार्यक्रममा पुग्दा हाम्रो संस्कार र संस्कृति झल्किन्छ,” अनिमाले भन्नुभयो । उहाँका अनुसार समुदायका मौलिक गीतहरू माँगर, सजना, मैना, छोक्रा, हुर्डुङ्ग्या, मघौटा र सख्या प्रस्तुत गर्ने गरिएको छ ।

“अहिले केही युवा आफ्नो मातृभाषामा बोल्न पनि लजाउँछन्, तर हामीलाई भने आफ्नै भाषा र संस्कृति देखाउन पाउँदा गर्व लाग्छ,” उहाँले भन्नुभयो । बदलिँदो सामाजिक परिवेशमा मौलिक पहिचान जोगाउने चुनौती भए पनि सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रममा निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ छ ।

यस्तै, अनिमाकी साथी प्रमिला चौधरी पनि सोही अभियानमा सक्रिय रूपमा जुटिरहनुभएको छ । परम्परागत गहना र पोशाकले समुदायको पहिचानलाई थप आकर्षक बनाउने उहाँले बताउनुभयो ।

“घाँटीभर सुट्या माला, चोल्या, उज्जर गोन्या र टेनीह्या झुल्वा लगाउँदा आफ्नै संस्कृतिसँग जोडिएको अनुभूति हुन्छ,” उहाँले भन्नुभयो । त्यसैले औपचारिक कार्यक्रमहरूमा आफ्नै वेशभूषामा सहभागी हुने गरिएको उहाँको भनाइ छ ।

“हाम्रो भाषा र संस्कृतिको संरक्षण हामीले नै गर्नुपर्छ भन्ने सोचले हामी अग्रजहरूसँग सिक्दै अघि बढिरहेका छौं,” प्रमिलाले थप्नुभयो ।

अनिमा, प्रमिला र ममतासँगै ममता चौधरीले पनि अध्ययनसँगै संस्कृतिको संरक्षणलाई आफ्नो दायित्वका रूपमा लिएको बताउनुभयो ।

“हामी कलेजका मात्रै विद्यार्थी होइनौं, हाम्रो भाषा, साहित्य र संस्कृतिका पनि विद्यार्थी हौं,” उहाँले भन्नुभयो । कक्षाको पढाइसँगै समुदायको परम्परागत संस्कारलाई व्यवहारमै उतार्ने प्रयास गरिरहेको उहाँको भनाइ छ ।

यी तीन युवतीको पहलले स्थानीय तहमा मात्र नभई व्यापक रूपमा सांस्कृतिक चेतना फैलाउने संकेत देखिएको छ । परम्परा र आधुनिकताको बीचमा आफ्नै मौलिक पहिचान जोगाउने उनीहरूको अभियान प्रेरणादायी उदाहरण बनेको छ । पछिल्लो समयमा आधुनिकताको प्रभावसँगै थारू कला, संस्कृति र गीत–संगीत हराउँदै गएको भए पनि यसको संरक्षणमा युवापुस्ताको भूमिका महत्वपूर्ण मानिन्छ ।

युवापुस्ताले आफ्नो भाषा, भेषभूषा र संस्कृतिलाई गर्वका साथ अंगाल्न सके मात्र यस्ता मौलिक सम्पदाहरू दीर्घकालीन रूपमा जोगिन सक्ने देखिन्छ ।