• १९ वैशाख २०८१, बुधबार

सुनको मूल्यको नयाँ रेकर्ड कायम

blog

काठमाडौँ, वैशाख १ गते ।  यो वर्ष बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । वर्षको अन्तिम दिन चैत ३० गते नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख ३९ हजार रुपियाँको रेकर्ड कायम गर्न पुगेको छ ।

 एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ३३ हजार तीन सय रुपियाँले  बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । चालु आर्थिक वर्षको सुरुवातदेखि निरन्तर बढ्दै गएको छ । अमेरिकी फेडरल रिजर्ब बैङ्कले ब्याजदर घटाउने हल्लाले लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित हुनु, मुद्रा स्फीति दर, केन्द्रीय बैङ्कले सुनको मौज्दात बढाएका कारणले गर्दा पनि सुनको मूल्य एक्कासि बढ्न गएको हो । 

डलरको सट्टा लगानीकर्ताले सुनको लगानी बढाउँदै जानु, रुस–युक्रेनको युद्ध, भारत र चीनले सुनको खरिद बढाएको, अमेरिका र चीनको व्यापारिक गतिविधिलगायतका कारणले सुनको मूल्य बढ्दै गएको छ । 

सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक वर्षमा सुनको मूल्य अप्रत्याशित रूपमा बढेर नयाँ रेकर्ड कायम भएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको उहाँको भनाइ छ । एक वर्षको अवधिमा तोलामा सुनको मूल्य ३३ हजार रुपियाँले बढ्न गएको उहाँको भनाइ छ । मूल्य बढेपछि सुनको कारोबार ठप्प रहेको उहाँको भनाइ छ । सुनको मूल्य बढ्दै गएकाले बैङ्कमा ब्याजदर घट्दै गएकाले ग्राहकले बैङ्कबाट पैसा निकालेर सुनतर्फ लगानी गर्ने गरेको उहाँको भनाइ छ । 

नेपालमा पनि बैङ्कले वैशाखबाट ब्याजदर घटाएसँगै त्यसको असरले सुनको माग अझै बढ्ने देखिएको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश हेर्दा मूल्य लगातार बढ्दै गएपछि आगामी दिनमा सुनको मूल्य एक लाख पचास हजारसम्म पुग्ने अनुमान विज्ञहरूको रहेको छ । सुनको मूल्य बढ्दै गएपछि गत फागुन महिनादेखि बैङ्कले सुनको आयात गर्न छाडेका छन् । व्यक्तिगत प्रयोगका लागि नभएर व्यावसायिक रूपमा सुनमा लगानीकर्ताको माग बढ्दै गएको व्यवसायीको भनाइ छ । 

महासङ्घका अनुसार सुनको मूल्य लगातार बढ्दै गएर चालु आवको चैत महिनामा प्रतितोला एक लाख ३९ हजार रुपियाँ पुगेको छ । गत वर्षको सो अवधिमा प्रतितोला एक लाख पाँच हजार सात सय रुपियाँमा कारोबार भएको थियो । 

चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा प्रतितोला एक लाख १० हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य भदौ महिनामा बढेर एक लाख १३ हजार रुपियाँमा कारोबार भएको थियो । यस्तै असोज महिनामा सामान्य घटेर एक लाख नौ हजार छ सय रुपियाँमा कारोबार भएको थियो । कात्तिक महिनामा सुनको मूल्य पुनः बढेर एक लाख १६ हजार रुपियाँमा कारोबार भएको थियो । 

मङ्सिर महिनामा बढेर एक लाख १९ हजार रुपियाँमा कारोबार भएको थियो । पुस महिनामा सुनको मूल्य बढेर एक लाख २० हजार सात सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको । माघ महिनामा सुनको मूल्य सामान्य घटेर एक लाख १८ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो । फागुन महिनामा सुनको मूल्य बढेर तोलामा एक लाख २५ हजार रुपियाँ पुगेको थियो । फागुन महिनादेखि निरन्तर उकालो लागेको सुनको मूल्यले लगातार बढेर चैत महिनाको अन्त्यमा एक लाख ३९ हजार रुपियाँ पुगेको छ । 

एक महिनाको अवधिमा सुनको मूल्य तोलामा १९ हजार रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउँदा आन्तरिक बजारमा पनि सुनले हरेक दिनजसो रेकर्ड कायम ग¥यो । २०८० सालको वैशाखको सुरुवातमा एक लाख १० हजार रुपियामाँ कारोबार भएको सुनको मूल्य चैतको अन्तिम दिन आइपुग्दा प्रतितोला २९ हजार रुपियाँले बढेर एक लाख ३९ हजार रुपियाँ कायम भएको महासङ्घको तथ्याङ्क छ ।

यस्तै जेठ महिनामा सुनको मूल्य बढेर प्रतितोला एक लाख १३ हजार तीन सय रुपियाँसम्म पुगेको थियो । सो महिना सुनको मूल्य प्रतितोला एक लाख आठ हजार रुपियाँदेखि एक लाख १३ हजार तीन सय रुपियाँसम्म कारोबार भएको महासङ्घको तथ्याङ्क छ । असारमा सुनको मूल्य घटबढ भई प्रतितोला एक लाख नौ हजार चार सय रुपियाँदेखि एक लाख १२ हजार पाँच सय रुपियाँ कायम भएको थियो । विगतका वर्षमा सुनको मूल्य एक वर्षमा पाँच हजारदेखि १० हजार रुपियाँसम्म बढेको पाइन्छ । महासङ्घ अनुसार विगतका वर्षमा  सुनको मूल्य प्रतितोला १० हजार रुपियाँसम्म बढ्ने गरेकोमा यो वर्ष तोलामा तेब्बरले बढेको तथ्याङ्क छ ।