• १७ असार २०८१, सोमबार

सहरबाट गाउँ फर्केर गाईपालन

blog

लीला श्रेष्ठको खेमु गाईपालन फर्म । तस्विर: हरिप्रसाद कोइराला

उर्लाबारी, वैशाख ४ गते । औसत मानिसहरू सहरबाट गाउँ पस्दैनन् । शहरबाट गाउँ पसेर कृषिकर्म गर्नेहरूप्रति समाजको दृष्टिकोण सकारात्मक हुँदैन । तर लगनशील भएर काम गर्ने हो भने पैसा कमाउन शहर पस्नुपर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको मोरङको रतुवामाई- ५ परेवाखोपीका लीला श्रेष्ठ । 

श्रेष्ठले २०७० देखि २०७५ सम्म उर्लाबारीको स्कुलडाँडामा होटल सञ्चालन गर्नुभयो । होटल गज्जब चलेको थियो । ग्राहकको उच्च चाप थियो । पाँच वर्ष पूर्वपश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारीको स्कुलडाँडामा होटल चलाउँदा श्रेष्ठको आम्दानी खातामा मात्र देखियो । हातमा पैसा छैन । त्यति हुँदा पनि श्रेष्ठ दम्पतीको होटल चलाउने धित मरेको थिएन । 

दैनिक सय लिटर दूध सहकारीमा बिक्री गरेर मासिक सरदर एक लाख ५० हजार रुपियाँसम्म आम्दानी गरी ६० हजार रुपियाँ मासिक खुद बचत गर्दै आएको श्रेष्ठले बताउनुभयो । 

चलिरहेको होटल बिक्री गरेर उहाँ गाउँ फर्किनुभयो र घरमै गाईपालन सुरु गर्नुभयो । २०७५ सालको मङ्सिरमा पाँच वटा गाई पालेर श्रेष्ठ अहिले नगरको नमुना गाई फर्म सञ्चालन गरिरहनुभएको छ । श्रेष्ठको खेमु गाई फर्ममा यतिबेला १५ वटा गाई छन् । जसमध्ये १२ वटा लैना छन् । दैनिक एक सय लिटर दूध बिक्री गरिरहनुभएका श्रेष्ठ भन्नुहुन्छ, सहरबाट गाउँ आएर गाईपालन सुरु गर्दा छिमेकी र आफन्तले नेवार माइलो सकिने भयो भनेर खिसी गरे । कसैले सानोतिनो व्यापार गर्न सुझाए । तर श्रेष्ठ दम्पती जे सोचेर गाउँ फर्किनुभएको थियो । त्यही काममा दत्तचित्त भएर लाग्नुभयो । हाल दैनिक सय लिटर दूध सहकारीमा बिक्री गर्नुहुन्छ । सामान्यतया प्रति लिटर ५५ रुपियाँमा दूध बिक्री हुने गर्छ । श्रेष्ठ भन्नुहुन्छ, मासिक सरदर एक लाख ५० हजार रुपियाँ आम्दानी हुन्छ । खर्च कटाउँदा ६० हजार रुपियाँ बचत भइरहेको उहाँले सुनाउनुभयो । 

लीलाले हालसम्मको सबै आम्दानी गाईपालन फर्म विस्तारमा खर्च गरिरहनुभएको छ । चार लाख रुपियाँमा सुरु गरेको फर्ममा ४० लाख लगानी पुगिसक्यो । बैंकले सहुलियत कर्जामा पत्यायो । सरकारले एक पटक घाँस खेतीका लागि ४० हजार र अर्को पटक गाईपालनका लागि दुई लाख ४० अनुदान दियो । अहिले पनि उहाँ घाँसका बिरुवा हरेक वर्ष बिक्री गरिरहनुभएको छ । 

श्रेष्ठले आफ्नो तीन बिघा खेतमा लगाएको परालले नपुगेर थप डेढ बिघा जग्गा ठेक्कामा लिएर घाँस लगाउनुभएको छ । उन्नत जातका  ५० माउ गाई पु¥याउने लक्ष्य राख्नु भएका श्रेष्ठले पशुका औषधि र प्राविधिकहरू गाउँगाउँमा उपलब्ध हुनुपर्ने बताउनुभयो । ठूला गाई फर्मलाई दक्ष पशु प्राविधिक आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, सरकारले दाना र चोकरको मूल्य वृद्धिसँगै दूधको मूल्य पनि बढाउनुपर्छ । अन्यथा किसानहरू पेशाबाट विमुख हुनेछन् ।