• २५ असोज २०८२, शनिबार

कुलुङका तीन ‘तोस’

blog

नेपालका १४० जातजाति, १२४ भाषाभाषी एवं १० धार्मिक समूहमध्ये प्राचीन किराँत/किराँती जाति हो– कुलुङ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार कुलुङ जातिको जनसङ्ख्या ३३ हजार ३८८ छ । कुलुङ मातृभाषा बोल्नेको सङ्ख्या ३७ हजार ९१२ र ‘पूर्खाको भाषा कुुलुङ’ भनी लेखाउनेको सङ्ख्या ४० हजार ४७९ जना रहेको छ । कुलुङ जातिको संस्कार, संस्कृति, परम्परागत कानुन, चालचलन आदिका बारेमा खासै अभिलेखीकरण भइसकेको छैन । कुलुङ जातिका पिता–पुर्खाले विगत लामो समयदेखि रासोबोसो गरिआएको आफ्नो उद्गम थलो अर्थात् ऐतिहासिक भूमि ‘महाकुलुङ’ रहेको छ । जुन सोलुखुम्बु जिल्लाको तत्कालीन पाँच गाउँ विकास समिति जस्तै पावै, सोत्तो (सोताङ), बुङ, छेस्काम (छेस्खाम), गुदेल (गुङतेल) हो । सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्छ । जुन भूक्षेत्र अहिले चाहिँ सोताङ गाउँपालिका र ‘महाकुलुङ गाउँपालिका’ मा पर्छ ।  

निश्चय नै कुलुङ जातिमा रहेको जनविश्वास अनुसार र परम्परादेखि मान्दै आएको अनेकौँ संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, पूजाआजा, मूल्यमान्यता आदि रहेका छन् । त्यसमा प्रमुख रूपमा ‘तोस’ पनि एक रहेको छ । त्यसो त तोस पनि तीन प्रकारको रहेको छ । जस्तै ‘येनाम तोस’, वर्षा लाग्नुअघि जेठ महिनाभित्र गरिने, ‘थो तोस’ वर्षायाम सकेपछि असोज महिनाको पहिलो हप्ताभित्र गरिसक्ने र ‘फुर तोस’ फागुन महिनामा गरिन्छ ।  समग्रमा हेर्दा खेरी यी तीन तोसले कुलुङ जातिको जीवनचक्र र जीवनशैलीका साथै चराचर जगत्लाई प्रतिनिधित्व गरेको हुन्छ । 

येनाम तोस/सिल तोस  

येनाम तोस खास गरीकन वर्षायाम लागेपछि कुलुङ जातिमा गर्न नहुने कामका लागि समाजलाई मार्गदर्शन गर्न एक किसिमले परम्परागत कानुनका रूपमा लागु विधिविधान हो । यसरी लागु गरिने कानुनलाई ‘वाधा’ पनि भन्ने गरिन्छ । त्यसैले येनाम तोसलाई ‘वाधा’ अन्तर्गतको तोस पनि भन्न सकिन्छ, हो पनि त्यही नै । हुन त ‘येनाम तोस’ लाई नेपाली भाषामा भन्नुपर्दा खेरी ‘उभौली पूजा’ पनि भन्न सकिन्छ । येनाम तोस खास गरी मकैको धान चमर आएपछि गर्ने गरिन्छ । जे होस्, कुलुङ जातिमा बर्सातको समयअघिको तोस अर्थात् येनाम तोसपछि धेरै कुरा बार्नुपर्ने हुन्छ । जस्तै केही खाने कुरा बार्नु पर्छ । त्यसरी बार्नुपर्ने खाने कुरामा सिस (भटमास), गोयोङ (किनामा), योक्सी (पिँडालु/काण्डु), कर्कलो (पिँडालुको पात) आदि हुन् । त्यस्तै विवाह गर्नु हुँदैन । कोही मरिहालेमा विधिविधान नपुर्‍याई सद्गद गर्नुपर्ने हुन्छ । सुँगुर, कुखुरालगायत पशुपन्छी बोकेर खोला तर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । खास गरी बाजागाजामा पनि कुलुङ जातिका मौलिक बाजा जस्तो कि पुङ (भैँसीको सिङ, अझ पहिले पहिले अर्नाको सिङ बजाइन्थ्यो), हरगेल (झ्याम्टा), थुल (ढोल), (दङगम बिनायो), मुर्चुङ्गा, ङप्तीरी (मुरली) टुङ्नालगायत बाजा बजाउन हुँदैन, समाजले नै दिँदैन ।

यसरी हेर्दा खेरी कुलुङ जातिका पिता–पुर्खाले मनोविज्ञान बुझ्ने हो भने नेपालीमा रहेको एक उखान ‘असार महिनालाई मानो खाएर मुरी उब्जाउने समय’ भने जस्तै कुलुङ जातिका पिता–पुर्खाले पनि जेठ महिनाको अन्तिमदेखि भदौ महिनाको अन्तिम समयलाई खेतीपाती लगाउने मुख्य समय भएकाले यस्तो नियम ल्याएको, लागु गरेको हुन सक्ने देखिन्छ ।  

थोनाम/थो तोस 

थोनाम/थो तोस चाहिँ येनाम तोसमा लगाइएको बाधा फुकाउने तोस हो । वर्षायामभरिको बन्देजपछि असोज पहिलो हप्ता हुने तोसले सबै खाले बार बन्देज खुला गर्छ । जस्तै येनाम तोसमा खान बन्देज लगाइएको खाना खान मिल्ने, हिँडडुल गर्न पाइने, कुल कुटुम्ब तथा नातागोतासँग भेटघाट गर्न पाइने, खोलानाला तर्न पाइने हुन्छ । साथै लेकको चरिचरन (गोठ) मा लगिएको भेडा, बाख्रा, च्याङ्ग्रा, गाईभैँसीलाई थोनाम÷थो तोस गरेपछि मात्रै तल झार्ने, सार्ने प्रचलन रहेको छ । त्यस्तै लिस (कोदो) टिप्ने, खोबम (मकै) भाँच्ने, बाम (फापर), जौ, तोरी आदि छर्ने काम पनि असोजको थोनाम तोसलगत्तै सुरु हुन्छ । त्यसैले सकेसम्म असोज महिनाको २, ३, ४ गतेभित्रै सबै कुलुङ गाउँमा थो÷थोनाम तोस गर्ने गरिन्छ । थोनाम/थो तोस गर्दा सो वर्ष मरेका सबै मृत आत्मालाई नोक्छो (पुजारी) ले बोलाउने गर्छन् । त्यसैले थो तोस गर्दा सो वर्ष मृत्यु भएका घरबाट एक चोक्टा मासु अनिवार्य रूपमा लानुपर्ने हुन्छ । जुन मासुको चोक्टालाई कुलुङ भाषामा ‘छप्छौ’ भन्ने गरिन्छ । 

त्यस्तै थो तोस गरेपछि हर्गेल (झ्याम्टा), पुङ (भैँसीको सिङ), दङ्गम (बिनायो), मुर्चुङ्गा, शङ्ख, बाँसुरी आदि बाजा बजाउने बाटा पनि खुल्छन् । साथै कुलुङ संस्कार संस्कृतिमा अनिवार्य मानिएको कचुर काट्ने र बोक्ने बाटो पनि खुल्छ । माटो र घरपालुवा जनावर बोक्न पाइन्छ । बर्खा लाग्नुअघि बन्देज गरिएका सबै खाना खान पाइन्छ । त्यसैले कुलुङ जातिमा जब असोजको थोनाम/थो तोस हुन्छ तब कुलुङ जातिभित्र सबै काम पाउने गर्ने स्वतन्त्रता मिल्छ । 

फुर तोस/लोनाम तोस 

फुर तोसलाई जी तोस (सह ल्याउने) तोस पनि भनिन्छ । समाज विकास क्रम हेर्ने हो भने हाम्रा पुर्खा सिकारी युगपछि कृषि युगमा प्रवेश गरेका हुन् भन्ने आममान्यता रहेको छ, मान्ने गरिन्छ । हो कृषिकर्म गर्ने क्रममा कुलुङ जातिका पुर्खाले जङ्गल फाँड्ने, भस्मे फाँड्ने खोरिया खन्ने र त्यसरी फाँडेको जङ्गल, भस्मे र खोरियामा जुनेलो, कागुनी, फापर, जौ, मकै, कोदो आदि अन्नबाली छर–फोक गर्थे । त्यसैले सोहीबेलादेखि कुलुङ जातिमा फुर तोस/लोनाम तोस गर्न थालिएको मानिन्छ । त्यसरी फुर तोस÷लोनाम तोस गर्दा गाउँलेले छरेको बिउबिजन खेर नजाओस्, चरा, मुसा र किरा–फट्याङ्ग्राले नखाओस्, बिउबिजन राम्रोसँग उम्रियोस्, माटा उर्बर होस्, बेला छँदै पानी परोस्, धर्तीलाई कुनै हानि नोक्सानी नहोस् भनेर पिता पुर्खा खुसी होऊन्, उनीहरू नरिसाऊन् भनेर कामना गर्ने गर्छन् । 

तोस कसले गर्छ ? 

वास्तवमा ‘तोस’ एक जनाले मात्रै गर्न मिल्छ । पण्डित अथवा लामाले सबै कर्मकाण्ड गरे जस्तो कुलुङ जातिमा एकै व्यक्तिले सबै संस्कार, संस्कृतिमा हात हाल्न मिल्दैन । त्यसैले तीन वटै ‘तोस’ गर्न ‘तोस नोक्छो’ रहेको हुन्छ । त्यसरी तोस गर्ने तोस नोक्छो पनि जो पायो त्यो व्यक्ति हुन सक्दैन । तोस नोक्छो हुने जो कोही व्यक्तिलाई सपनामा अदृश्य शक्तिले अधिकार दिएको हुन्छ भन्ने कुलुङ जातिमा आमविश्वास रहेको छ ।  

‘तोस’ भनेको मुख्य तथा भूमि र प्रकृतिलाई पुज्ने, बितेर गएका पिता पुर्खालाई सम्झिने र उनीहरूलाई खुसी बनाउने विधि र प्रक्रिया हो, भूमि तथा पिता पुर्खालाई मान्ने एक कर्म पनि हो । यसरी हेर्दा ‘तोस’ केवल कुलुङ जातिको भूमि पूजा मात्रै नभए कुलुङ जातिलाई एकट्ठा बनाएर सबैलाई सामाजिक संस्कार र नियमभित्र बाँध्ने परम्परागत कानुन र विधिविधान पनि हो । त्यसैले ‘तोस’ केवल एक घरको कथा होइन, एक टोलको कथा मात्रै पनि होइन । यो त समग्रमा कुलुङ जातिका गाउँबस्तीलाई एकताको सूत्रमा बाँध्ने अचुक अस्त्र र कडीका रूपमा पनि रहेको छ, रहिरहने छ ।