भोजपुर, असोज २५ गते । यहाँको पौवादुङमा गाउँपालिका–१, श्यामशीलामा सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयवासी वर्षौँदेखि भोग्दै आएको स्वास्थ्य सेवाको समस्या समाधान भएको छ ।
पहिले सामान्य उपचारका लागि पनि श्यामशीला र वरपरका नागरिकलाई घण्टौँ पैदल यात्रा गरेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक विकटता र यातायातको असुविधाका कारण साधारण ज्वरो, पेट दुखाइकोसमेत औषधी नपाउँदा यहाँका नागरिकले समस्या भोग्दै आएका थिए । तर अहिले भने गाउँमै स्वास्थ्य चौकी सञ्चालनमा आएपछि आधारभूत स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध भएको छ ।
श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार स्थानीयको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिका र वडा कार्यालयको सक्रियतामा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । “पहिले सिटामोल, जीवनजलजस्ता सामान्य औषधी पाउन पनि अप्ठ्यारो हुन्थ्यो” वडाध्यक्ष तामाङले भन्नुभयो, “स्थानीयको सहजताका लागि सुविधा सम्पन्न भवन निर्माण गरेर सेवा प्रवाह गरिरहका छौँ । अहिले सामन्य उपचार गाउँमै पाउने वातावरण बनेको छ ।”
स्वास्थ्य चौकीमा आवश्यक उपकरण र आधारभूत स्वास्थ्य सेवाका सुविधा उपलब्ध छन् । यहाँ स्वास्थ्य चौकी सञ्चालन भएपछि श्यामशिला मात्र नभएर तिलाहार, भिरकोट, आमतेकलगायत आसपास बस्तीका नागरिकलाईसमेत प्रत्यक्ष लाभ पुगेको छ ।
स्थानीयवासीका अनुसार स्वास्थ्य चौकीको स्थापना यहाँका बासिन्दाको लामो समयदेखिको माग थियो । गाउँमा स्वास्थ्य सेवा उपलब्ध भएपछि गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र आकस्मिक बिरामीलाई समयमै उपचार पाउन सहज भएको स्थानीयवासी पासाङदिकी शेर्पाले बताउनुभयो ।
स्वास्थ्य चौकी सञ्चालनपछि जनचेतना कार्यक्रम, औषधी वितरण र नियमित स्वास्थ्य परीक्षणका लागि सहजता भएको उहाँको भनाइ छ । नागरिकलाई सहज स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक संरचना निर्माणसँगै सेवालाई जनतस्तरसम्म पुर्याउन जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । रासस