• १२ साउन २०८१, शनिबार

पोष्टमार्टम नहुँदा सुविधाबाट वञ्चित

blog

हरिकृष्ण ऐडि

मुगु, बैशाख ३ गते । गत माघमा मुगमकार्मारोंग गाउँपालिकाको मँह गाउँका एक महिलाको घरमा पोत्ने माटो लिनजाँदा माटोको ढिस्कोमा पुरिएर मृत्युभयो । कर्णाली प्रदेशले विपत, दुर्घटनामा परेका नागरिकलाई विपत कोषबाट दुई लाख रुपियाँसम्म राहत दिने प्रावधान बनाएको छ । तर मृतकका परिवारले उहाँको पोष्टमार्टम नगरेपछि सरकारी सुविधा प्राप्त गर्न सकेनन् । 

त्यस्तै घटनामा ज्यान गुमाएकी मुगमकार्मारोंग गाउँपालिका वडा नं ८ माँग्री गाउँकी २४ वर्षीया टोमा तामाङको परिवारले पनि राहत सुविधा नपाएको मुगुमकार्मारोङ स्वास्थचौकीका इन्चार्ज शोनाम तामाङले बताउनुभयो । उहाँकाअनुसार मुगमकार्मारोंग गाउँपालिकाको धर्मको ज्ञानले मृतकको शरीरलाई चिरफार गर्न नमिल्ने मान्यता रहेको बताउनुभयो ।

जिल्लामा रहेको बौद्ध धर्मावलम्बी लामा समुदायका परिवारहरु यहाँको धर्म  संस्कारअनुसार पोष्टमार्टम गर्न नमान्दा सेवा सुविधा लिनबाट बञ्चित हुँदैआएका छन् । लामा समुदायको धर्म रीतिरिवाजअनुसार पोष्टमार्टम नगरिदिँदा मृतकका आफन्तले सेवासुबिधा लिनबाट वञ्चित भएका हुन् ।

कतिपय अवस्थामा पोष्टमार्टमका लागि पालिकामा सुविधा नभएकाले २ दिन लगाएर सदरमुकाम पुगाउनुपर्ने र प्रक्रिया झन्झटिलो भएकाकारण पनि स्थानीयले पोष्टमार्टममा चासो नदेखाएको पाइएको स्वास्थ्यचौकी इन्चार्ज तामाङको भनाइ छ ।

जिल्लाको उत्तरी भेगमा पर्ने मुगमकार्मारोंग  गाउँपालिकाका २ हजार ३ सय ३० घरधुरिका परिवारले बौद्ध धर्म मान्दैआएका छन् । उक्त समुदायका लामा गुरुले  मृतकको  दाहसंस्कार गर्नलाई ज्योतिष विधिबाट निज मृतकको शरीरले के मागेको छ सोहीअनुसार गर्ने चलन छ  ।

यहाँका लामा समुदायको मान्यताअनुसार मान्छे मरेको दुई दिनसम्म स्वास जीवित  हुनेभएकाले दुई दिन अगाडि मृतकलाई दाहसंस्कार गर्दा मृतकको आत्माले दुःख दिने भएको स्थानीयको बुझाई छ । त्यहीकारण दुई दिनसम्म घरमै राखिने चलन रहेको स्थानीय सोनाम लामाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मुगुले मुगमकार्मारोंग गाउँपालिकाबाट कर्तव्य ज्यानबाहेक अन्य घटनामा पोष्टमार्टम गरेको हालसम्म १ वटा मात्र रेकर्ड रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो ।