सुजन काफ्ले
चरीकोट, असोज २६ गते । दोलखाको तामाकोसी गाउँपालिकाले बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन ५० हजार अनुदान दिने भएको छ । शुक्रबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले पहिरोको उच्च जोखिममा रहेका घरहरूको अस्थायी आवास निर्माण गर्न गाउँपालिकाले ५० हजार रुपियाँ दिने निर्णय गरेको हो ।
यही असोज १८ गतेको अविरल वर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्बर २ को रातो पहिरो र वडा नम्बर १ को जोगिटार माझीगाउँ पहिरोका कारण १३ घरधुरी उच्च जोखिममा परेका थिए ।
पहिरोस्थल निरीक्षण, प्रहरी मुचुल्का र भौगर्भिक अध्ययन प्रतिवेदनबाट पहिचान भएका पहिरोबाट जोखिम घरपरिवारलाई तत्काल जोखिम भएको स्थानबाट स्थानान्तरण गरिने निर्णय गरिएको तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो ।
स्थान्तरण हुने घरहरूलाई स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि अनुसार तामाकोशी गाउँपालिकाको विपद्प्रकोप व्यवस्थापन कोषबाट अनुदान उपलब्ध गराइने अधिकृत दर्जीले बताउनुभयो ।
विपद् व्यवस्थापन समितिको बैठकले पहिरोबाट प्रभावित घर परिवारलाई ‘सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनर्स्थापना गर्न आवश्यक बजेट र पहलका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालय दोलखालाई पत्राचार गर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले पहिरोबाट हुने जोखिम र सम्भावित क्षतिको न्यूनीकरणका लागि बस्ती संरक्षण गर्न आवश्यक बजेट विनियोजन गरी पहिरो रोकथामका गर्न राष्ट्रिय विपद् जोखिम न्यूनस्करण व्यवस्थापन प्राधिकरण र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालय दोलखालाई पत्राचार गर्ने भएको हो ।
पहिरोबाट जोखिममा रहेको बस्तीहरूको अल्पकालिन रूपमा पहिरो न्यूनीकरण र रोकथामका लागि तत्काल गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्राविधिक मूल्याङ्कन र प्रतिवेदनको आधारमा पानी कटाउने र वृक्षरोपण कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा भू–संरक्षणसँग सम्बन्धित निकायहरूमा बजेट विनियोजनका लागि अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।