हुम्ला, असोज २५ गते । हिमाली जिल्ला हुम्लामा तातो तेल पिउने पर्व मनाइएको छ । दसैँपछि मनाइने पूर्णिमाको अन्तिम दिन धामी नाच्ने र धामीले कराहीमा आगोमा उमालेको तेल पिएपछि उक्त पर्व सम्पन्न हुन्छ ।
अदानचुली गाउँपालिका–१ का कालीबहादुर थापाले गाउँका सर्कीका धामीले पूर्णिमाको दिन आगोमा तताएको उम्लेको तातो तेल पिएर आफ्नो सत देखाएपछि पर्व सम्पन्न भएको बताउनुभयो । गाउँमा राम्रो हुने वा कुनै अप्ठ्यारो पर्ने बेला सर्कीका धामीले यसरी तातो उमालेको तेल पिउने गरेका उहाँको भनाइ छ ।
ठुलो कराहीमा उमालेको पौने लिटर तेल अट्ने घन्टमा तेल निकालेर धामीले पिउने गर्छन् । यस्तो कार्य गर्नाले गाउँमा नराम्रा कुरा टरेर जाने विश्वास छ । तेल पिउने समयमा कसैले पनि धामीलाई छुन हुँदैन । धामीले गरेको यस्तो सत हेर्नका लागि अन्य जिल्लाबाट पनि भक्तजन आउने गर्छन् ।