• २४ वैशाख २०८१, सोमबार

फ्रेन्डसिप कप : नेपाल च्याम्पियन

blog

गुजरातविरुद्ध रन बटुल्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, चैत २५ गते । एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो । 

जितका लागि एक सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोली गुजरात निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५८ रनमा समेटियो । गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले २८ बलमा सर्वाधिक ४० रन बनाउनुभयो ।

यस्तै आर्य देसाईले ३६, रुद्रमयूर पटेलले १७  र जयमित पटेलले १५ रन बनाउनुभयो । बलिङमा नेपालका अविनाश बोहोराले तीन विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले एक एक विकेट झार्नुभयो  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाउनुभयो । यस्तै आशिफ शेखले ३४, कुशल मल्लले अविजित ३१, कुशल भुर्तेलले २१ र दीपेन्द्रसिंह ऐरीले सात रन बनाउनुभयो   

बलिङमा गुजरातका जयमति पटेल, सेन पटेल, तेजास पटेल र जाला युजराजसिंहले एक एक विकेट लिनुभयो । नेपाल गुजरातमाथि ह्याट्रिक जित निकालेको हो । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले हराएको थियो ।

नेपालले बरोडा क्रिकेट सङ्घलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित हराएर फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो ।