निराजन परियार
चौमाला (कैलाली), असार १८ गते । डुबान र बाढीले धनगढी उपमहानगरपालिकाले सडक निर्माणका लागि फालेको फोहोर स्थानीयको घर र खेतमा गएपछि स्थानीय हैरान भएका छन् । धनगढी उपमहानगरपालिका ६ को जाली गाउँमा सडक निर्माण गर्ने भन्दै नगरपालिका भरिको फोहर थुपारेर राखेको थियो ।
एकातिर कच्ची सडकसँगै पानी घरमा पसेर समस्या भएको छ भने अर्कोतिर सडक निर्माणको लागि फालेको फोहर घर आँगनमा र धानखेतमा पसेर ठुलो समस्या भएको स्थानीयहरूले बताएका छन् ।
धनगढी उपमहानगरपालिका ६ का वडा अध्यक्ष भागिराम चाैधरीले सडक र नालिको छेउमा १५ फिट गहिरो ठाउँ भएकाले त्यसलाई पुरेर बाटो बनाउन फोहोर थुपारेको बताउनुभयो । जम्मा गरेको फोहोर बगाएर स्थानीयको ५ बिघा जमिन र घरमा क्षति पुगेको छ । उहाँले नगरपालिकाकाले सरसफाइ गर्नलाई आवश्यक जनशक्ति नभएर ढिलो भएको र भोलिसम्म सबै सफा गरिदिने बताउनुभयो ।
स्थानीय हीरालाल चौधरीका अनुसार नगरपालिकाले तीन वर्ष अगाडि स्थानीयहरूलाई सडक निर्माणको सपना देखाएर नगरपालिकाभरिको फोहोर ल्याएर थुपारेको भए पनि अहिलेसम्म सडक निर्माण नभएको बताउनुभयो । उहाँले सडक निर्माण त परको कुरा सही ढङ्गले फोहोर पनि व्यवस्थापन नगर्दा आफूहरुलाई हरेक बर्खायाममा ठुलो समस्या हुने गरेको बताउनुभयो ।
अर्का स्थानीय राजेन्द्र चौधरीले आफ्नो खेतमा पानीसँगै लिएर आएको फोहोरले दुःख दिइरहेको यस बारेमा पटकपटक स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराउँदा कुनै चासो नदिएको आरोप लगाउनुभयो ।
वडाध्यक्षलगायतका जनप्रतिनिधिहरूलाई पटकपटक फोन गरेर फोहोर सही तरिकाले व्यवस्थापन गरिदिनुपर्यो भनिरहँदा समेत कुनै सुनवाइ नभएको स्थानीयहरूले गुनासो गरेका छन् । बर्खामासको समय भएकाले फोहोरले गर्दा स्थानीयहरूलाई विभिन्न सङ्क्रमणकालीन रोगहरूले समस्या निम्ताउनेसँगै लामखुट्टे पनि बढी सक्रिय हुने भएकाले थप चुनौती भएको स्थानीय तोयानाथ जोशीले बताउनुभयो ।
त्यस्तै, स्थानीय पशुराम चौधरीले एकातिर डुबानको समस्या अर्कोतिर धनगढी उपमाहानगरपालिकाकाले थुपारेको फोहोर बाढीले बगाएर खेतबारीसँगै घरमा बसेकोले टोल नै दुर्गन्धित भएको बताउनुभयो । अहिलेसम्म नगरपालिकाका यो विषयमा जानकारी गराउँदा पनि चासो समेत नभएको उहाँको भनाइ छ ।