सिराज खान
नेपालगन्ज, असार १८ गते । बाँकेको नरैनापुर–६ स्थित जयकिसान माध्यमिक विद्यालयमा प्राविधिक धारअन्तर्गत कृषिको बालीविज्ञान विषयमा पढाइ सुरु भएको छ। विद्यालयमा कृषिको बालीविज्ञान विषयमा कक्षा ११ र १२ को पढाइ सुरु भएपछि विद्यार्थीहरू उत्साहित भएका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ रोक्ने अवस्था आएको बताउनु हुने नरैनापुर–६ का दुर्गेशकुमार मौर्यले पालिकाले गाउँमै प्राविधिक शिक्षा सुरु गरेपछि अध्ययनलाई निरन्तरता दिएको बताउनुभयो । खेतीपातीमा आधारित परिवारमा हुर्किएका मौर्यले विद्यालयमा सिकेका कुरा घरमा अभिभावकलाई पनि सिकाउँदै आउनुभएको छ ।
पहिले कक्षा १० सम्म मात्र पढाइ हुने सो विद्यालयमा अब कक्षा १२ सम्मको प्राविधिक शिक्षाको व्यवस्था गरिएको छ । गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको पहलमा “जयकिसान नरैनापुर की शान, मेरी जान” भन्ने नारासहित कृषि शिक्षाको सुरुवात गरिएको हो ।
कक्षा १२ मा अध्ययनरत अनिस हलवाईले गाउँमै बसेर कृषिसम्बन्धी उच्चस्तरीय शिक्षा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालयकी शिक्षिका उषा विकका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा बाली विज्ञान विषय सुरु गरेपछि विद्यार्थीहरूको आकर्षण बढेको छ ।
बाली विज्ञान विषय सुरु गरिएपछि नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका ग्रामीण क्षेत्रका विद्यार्थीलाई टाढा जान नपर्ने, पढाइ बिचमै नछाड्नुपर्ने अवस्था सिर्जना भएको पनि शिक्षिका विकले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले कृषि प्राविधिक उत्पादनमा दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर बनाउने उद्देश्यसहित कक्षा सञ्चालन गरिएको बताउनुभयो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण थारुका अनुसार प्रारम्भमा ३६ विद्यार्थीबाट सुरु भएको कक्षामा अहिले ६० जना विद्यार्थी भर्ना भएका छन् ।
शिक्षा शाखाका अनुसार हाल नरैनापुरमा २१ सामुदायिक, २६ मदरसा र ३ संस्थागत विद्यालय सञ्चालनमा छन् । शिक्षा शाखाका उपप्रमुख कमल केसीका अनुसार विद्यालयमा सिकेका व्यवहारिक कृषि सिपले विद्यार्थीहरू आफ्ना अभिभावकलाई कम्पोस्ट मल, विषादी बनाउने जस्ता सिपमा तालिम दिन सफल भएका छन् ।