• १९ असार २०८२, बिहिबार

तनहुँमा सफल हुँदै अङ्गुर खेती

blog

तनहुँको घिरिङमा फलेको अङ्गुर । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन १८ गते ।
तनहुँमा अङ्गुर खेती सफल भएको छ । तनहुँको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा परीक्षणका लागि लगाइएको अङ्गुर खेतीले राम्रो उत्पादन दिन थालेको छ । खेती सफल भएसँगै जोखिम मोलेका किसान उत्साहित बनेका छन् ।

घिरिङमा करिब नौ हजार पाँच सय बरुवा रोपिएका छन् । काठमाडौँका कुमार कार्कीले सञ्चालन गरेका यस फर्ममा करिब ३२ प्रजातिका विभिन्न अङ्गुरहरु सुरुको वर्ष परीक्षणका लागि लगाइएको थियो । दुई वर्षदेखि व्यावसायिक रूपमा घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा खेती गरिएको थियो । पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष बोट ठुलो भएको र दाना पनि राम्रो लागेकाले दोब्बर उत्पादन हुने देखिएको सेन्टरका सञ्चालक कार्कीले बताउनुभयो । स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजारसम्म खरिद गरी बिरुवा हुर्काएको कार्कीले जानकारी दिनुभयो । नेपालमा अङ्गुर खेती असफल हुन्छ भन्ने धारणा र वातावरण प्रतिकूल भएको निष्कर्ष निकाल्दै अङ्गुर खेतीतर्फ सरकारले ध्यान नदिएको कार्की बताउनुहुन्छ ।

कार्कीले भन्नुभयो, ‘‘आफू पर्यटन क्षेत्रमा काम गरेको भएता पनि कृषि क्षेत्रमा नयाँ अनुसन्धानात्मक हिसाबले अङ्गुर खेतीमा आकर्षित भएको हुँ ।’’ खेतीका लागि एक करोड ५० लाख लगानी भएको छ । यहाँ उत्पादित अङ्गुर धादिङमा पठाउने गरिएको छ । धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार कम्पनीले धादिङमा ३८ करोड ५० लाख रुपियाँको लागतमा अङ्गुरखेतीसँगै ‘वाइन’ उत्पादन गर्दै आएको हो । कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।’’ कार्कीका अनुसार तनहुँ र धादिङमा गरी हालसम्म उक्त फर्ममा करिब ४० करोड लगानी भइ सकेको छ । पातले बन् भाइन्यार्ड वाइनरी नामक वाइन बजारमा ल्याइएको समेत कार्कीले बताउनुभयो । कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन क्षमता छ ।

हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खाने अङ्गुरमा फन्नि, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमान, लगायतका ३८ प्रकारको  बिरुवा हुर्काएर उत्पादन भइरहेको छ । अङ्गुर खेती सफल भएकोमा अत्यन्त खुसी लागेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो । थापाले भन्नुभयो, ‘‘परीक्षण सफल भई राम्रो दाना लागेकोले यस खेतीको विस्तार गर्ने योजना बनाउने तयारीमा छौं ।’’  यहाँको हावापानी उपयुक्त रहेकाले व्यावसायिक अङ्गुर खेतीबाट किसानको आयस्तर परिवर्तन गर्न सकिने देखिएको थापाको भनाइइ छ । 

कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत किरण परियारले जिल्लामा पहिलो पटक अङ्गुर खेती गरिएको हालसम्म सफल भएकोले यसमा गरिने लगानी राम्रो हुने देखिएको बताउनुभयो ।  बिरुवा रोपेको एक वर्षमा फल दिन सुरु गर्ने जसमा पहिलो वर्षमा प्रति बोट ३–४ केजी उत्पादन चैत वैशाख मा फूल फुलेसँगै तीन महिनामा फल टिप्न तयार हुने फार्मका प्राविधिक सान्नानी तामाङले जानकारी दिनुभयो । फागुनदेखि फूल खेल्ने र असारमा फल टिपिने उहाँले जानकारी दिनुभयो । अङ्गुर फार्म अवलोकन गर्न पुग्नुभएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले यो खेतीबाट यहाँका किसानले लाभ लिने सम्भावना देखिएको कृषिको अनुसन्धान गर्ने, तथा किसानलाई ज्ञान लिने थलोको रुपमा विकास गरी पर्यटनबाट समेत गरी दोहोरो आम्दानी लिन सकिने देखिएको बताउनुभयो ।

छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङमा समेत यसको खेती गर्न सकिने सम्भावना देखिएको त्यसतर्फ आफूले ध्यान दिएको बताउनुभयो । सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन् ।