हरिप्रसाद कोइराला
उर्लाबारी, बैसाख, ३ गते । ५० वर्ष भन्दा अघि भारतीय डाकाको रखवारी गर्न निर्माण गरिएको टुङघरको प्रयोग हाल आएर बदलिदै गएको छ । त्यसताका दक्षिण पूर्वी मोरङका लारिकट्टा, कर्सिया, सिंगारी, सौंठा र कल्याणपुरमा भारतीय डाकाले धेरै दुख दिने गरेको अग्रजहरु बताउनुहुन्छ ।
खेतबाट धानका बिटा हराउँथे । दैनिक जसो गाई गोरु चोरी हुन्थे । रातभर टुङमा बसेर गाउँलेहरू आफ्नो गाउँमा सुरक्षा दिन्थे । डाका आइहाले भने टुङमा बसेका ब्यक्तिले गाउँलेलाई बोलाउँथे र गाउँलेहरू संगठित भएर डाका खेदाउँथे । उसबेला जीवन रक्षा गर्नु मुख्य साधननै टुङघर थियो । तर,त्यहीँ टुङघर अहिले भ्युटावरमा रुपान्तरण भएको छ । अहिले टुङको आवश्यकता नभए पनि भावी पिढीले टुङ देखुन भनेर स्थानीयले २०६४ सालमा पक्की टुङ बनाउन सुरु गरेको रतुवामाई– १ का वडासदस्य घनश्याम गौतम बताउनुभयो ।
वर्षैभरि भारतीय डाकाहरूले दुःख दिन थालेपछि कल्याणपुर क्षेत्रका वासिन्दाले डाकाको रखवारी गर्न २०२६ सालमा काठको टुङघर निर्माण गरेको स्थानीय बताउँछन् । तर, उसबेला बनाइएका टुङघरहरू अहिले कतै पनि देखिँदैनन् । त्यसो त दक्षिणी मोरङका सिमावर्ती गाउँहरूमा चोर डाकाको कुनै समस्या छैन् । २०२६ सालमा सबैभन्दा पहिले कल्याणपुरमा टुङघर बनाइएको थियो । विभन्न कारणले टुङ भत्किएपनि त्यसपछि सोही स्थानमा स्थानीयबासीले कंक्रिटको टुङघर बनाउन थालेको स्थानीय राजेन्द्र बरालले बताउनु भयो । पुरानो टुङ कल्याणपुरमा निर्माण भएको र अन्तिमसम्म रहेकोले टुङको परिचय जिवीत राख्न कल्याणपुरबासीले सोही स्थानमा कंक्रिटको टुङ बनाएका हुन् ।
हेर्दा भ्युटावर जस्तै दखिने टुङघर दक्षिणी मोरङको भारतीय सीमावर्ती रतुवामाई नगरपालिका– १ कल्याणपुरमा रहेको छ । स्थानीय बासिन्दाले २०६४ मा निर्माण थालेको टुङघर १० वर्षपछि अर्थात २०७४ मा मात्र निर्माण सम्पन्न गरे । हिजोआज स्थानीयहरुलेनै टुङलाई भावी सन्ततिका लागि उदाहारण स्वरुप देखाउन संरक्षण गर्न थालेका छन् ।