• १२ साउन २०८१, शनिबार

फोहोर नछुट्याइए कारबाही

blog

भउचप्रसाद यादव

काठमाडौँ, वैशााख ३ गते ।  काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार महानगरले यो निर्णय केही दिनभित्रै कार्यान्वयनमा ल्याउने छ ।

उहाँले भन्नुभयो, ‘‘अब फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउँदै जाने नीति महानगरले लिएको छ । अब घरवालाले नै फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ ।’’ कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्दा सोको व्यवस्थापनमा समेत सहज हुने बताउँदै उहाँले छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले व्यवस्थापन गर्न थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

कुहिने र नकुहिने वर्गीकरण नगरी फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म फोहोर ल्याए सम्बन्धित  व्यक्तिको घरमा नै पुनः फर्काइने बताउँदै उहाँले सो व्यक्तिलाई कारबाहीस्वरूप पाँच सय रुपियाँ जरिवानासमेत गर्ने जानकारी दिनुभयो । महानगरको निर्णयलाई नमानेको अवस्थामा फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्डजरिवाना गर्ने महानगरले जनाएको छ ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ । यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन ।  एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पु¥याउने गरिएको छ । 

उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेस्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र  बूढानीलकण्ठ गरी चारवटा नगर क्षेत्रबाट ३५÷३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ । यी नगरहरू फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौँको चन्द्रागिरि, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्रबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौँ स्थानमा परेका छन् ।