गोरखापत्र अनलाइन
काठमाडौं, असोज २४ गते । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका बेला प्रहरीलाई गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री र आफूले नदिएको प्रष्ट पार्नुभएको छ ।
सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्नुहुँदै पूर्वगृहमन्त्री लेखकले सो कुरा बताउनुभएको हो । ‘जेनजी आन्दोलनको मागहरु जायज थिए, शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए, तर आन्दोलनमा घुसपैठ भयो भन्ने जेनजी नेतृत्वले नै भनिरहेकाले मैले थप भन्नु परेन’ उहाँले भन्नुभयो ।
गत भदौ २३ गते र २४ गते भएको आन्दोलनमा आफूले नैतिकताले २३ गते नै पदबाट राजीनामा दिइसकेको स्मरण गराउनुहुँदै उहाँले भन्नुभयो, “प्रहरीलाई गोली हान्ने आदेश हाम्रो थिएन, आदेश गर्ने विषय पनि होइन । प्रधानमन्त्री र मैले आदेश दिएका छैनौं, म यो स्पष्ट पार्न चाहन्छु ।” घटनाहरु दुःखद भएकाले म आफू पनि निकै दुःखी बनेको उहाँले बताउनुभयो ।
मुलुकको नयाँ घटनाक्रमलाई लिएर काँग्रेसको बैठक नियमित बसिरहेको बताउँदै उहाँले पार्टी पदाधिकारी र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरुसँग निरन्तर छलफल जारी रहेको उहाँले बताउनुभयो । नेपाली काँग्रेस र संविधानको रक्षा र लोकतान्त्तिक पद्धतिका लागि सबै दलहरुबिच एकताको खाँचो रहेको उहाँले बताउनुभयो ।
समस्याको समाधानका लागि बृहत्तर एकता र संवादको खाँचो रहेको बताउँदै उहाँले जेनजी पुस्ताको माग सम्बोधन गर्न पनि संवादको आवश्यकता रहेको बताउनुभयो । ती मागहरु लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा सम्बोधन हुने उहाँको भनाइ छ ।
उहाँले कसैले कसैप्रति प्रतिशोध साँध्नुभन्दा पनि जिम्मेवारीका साथ सबै दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । संकटका बेला मुलुकलाई समाधान दिन सबै दलको जिम्मेवारी रहेको बताउँदै उहाँले त्यसका लागि सरकारले सामूहिक संवाद गर्नुपर्ने उहाँको सुझाव छ ।
मुलुकको संविधान बमोजिम र कानुनी शासनको माध्यमबाट नै मुलुकको निकास सहज हुने बताउँदै उहाँले वर्तमान सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । ‘मुलुक अहिले गम्भीर अवस्थामा छ, यो अवस्थालाई बुझेर संयमित रुपले निकास खोल्नुपर्छ, लोकतान्त्रिक मूल्य मान्यतालाई ध्यान दिएर समाधान खोज्नुपर्छ’ उहाँले भन्नुभयो ।
पूर्व गृहमन्त्री लेखकले आन्दोलनका क्रममा शाहदात प्राप्त गर्नुभएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो । आन्दोलनलगत्तै उहाँको आमाको निधन भएपछि उहाँ किरियामा रहनुभएको थियो । उहाँले आज लामो समयपछि आफ्नो धारणा रार्वजनिक गर्नुभएको हो ।