• १२ साउन २०८१, शनिबार

जीवनलाई मिठास बनाउने साहित्य सृजना गरौँ : पूर्व मन्त्री पोखरेल

blog

कला, साहित्य र संस्कृतिको प्रभाव र महत्त्व सम्बन्धी प्रदेश स्तरीय खुला साहित्यिक बहस कार्यक्रममा सहभागी राजनीतिकर्मी र साहित्यकारहरू । तस्बिर: प्रकाशविक्रम शाह

धनगढी, चैत १८ गते । पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोख्रेलले साहित्य जीवनलाई उदास, निराश भन्दा मिठास र उत्साहित बनाउने खालको  साहित्य सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।

मार्क्सवादी अध्ययन फाउन्डेसन र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा शनिवार धनगढीमा आयोजित कला, साहित्य र संस्कृतिको प्रभाव र महत्त्व सम्बन्धी प्रदेश स्तरीय खुला साहित्यिक बहस कार्यक्रममा बोल्दै उहाँले संस्कृति युग सुहाउँदो र हस्तान्तरण हुने खालको हुनुपर्नेमा पनि जोड दिनुभयो । 

कतिपय कला, संस्कृति महँगा छन् जो संस्कृति युग सुहाउँदो हुँदैन त्यसलाई बचाउन कठिन हुन्छ उहाँले भन्नुभयो, यो क्षेत्र नेपाली भाषाको उत्पत्ति भएको क्षेत्र हो किन यहाँको संस्कृति अप्ठेरोमा छ, यहाँको स्रष्टा कहाँ, कस्तो अवस्थामा छन्, किने यो क्षेत्र पछाडि परेको हो छलफल गर्न जरुरी छ । 

सुदूरपश्चिम छाउपडी प्रथाका कारण बदनाम छ यस्ता विकृति, विसङ्गतिमाथि प्रश्न गरेर समाधानका उपाय पनि खोज्नुपर्छ उहाँले भन्नुभयो, यो क्षेत्रमा शिक्षा, स्वास्थ्य र पोषणमा पनि कमजोर छ त्यसलाई पनि विज्ञान, प्रविधिसँग जोडेर माथि उठाउन जरुरी छ । 

उहाँले औद्योगीकरण नहुँदासम्म जीवनस्तरमाथि नउठ्ने बताउँदै त्यसका लागि पनि साहित्य लगायतका क्षेत्रले दबाब सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले हरेक कुरा मानिसकै लागि हुने भएकोले साहित्य र संस्कृति पनि मानिसकै हित हुने गरेर रचना हुनु पर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिमको साहित्य क्षेत्रलाई अझमाथि उठाउन प्रदेशको सामाजिक विकास समितिले साहित्यकारसित छलफल गरेर नीति बनाउने प्रयास गर्ने बताउनुभयो । 

अर्का प्रदेश सभा सदस्य शिवसिंह ओलीले सङ्घीय सरकारले झैँ प्रदेश सरकारले पनि सुदूरपश्चिमका साहित्यकार सम्मान गर्ने गरेर काम गर्न जरुरी भएको बताउनुभयो ।सो अवसरमा मार्क्सवादी अध्ययन फाउन्डेसनका अध्यक्ष केशवनाथ योगीले कला साहित्यको प्रभाव र महत्त्व, लोकेन्द्रप्रसाद जोशीले सुदूरपश्चिम र हाम्रो संस्कृति बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि लक्षिराम आचार्य, लालबहादुर जाग्री, तीर्थराज जोशी, तीर्थराज पाण्डे लगायतले टिप्पणी गर्नु भएको थियो ।

साहित्यकार गणेश नेपालीले भने संस्कृति, परम्परा मान्दा दलित समुदायले भोग्नु परेका समस्या कार्यपत्रमा छुटेको बताउनुभयो । उहाँले भन्नुभयो, कतिपय चाडपर्व सुदूरपश्चिमकै भनिन्छ , हामी दलितले पनि ती पर्व हाम्रा पर्व भनेर गर्व गरेका छौ तर दलित समुदायले ती चाडपर्व मनाउन पाउँदैनन् , ती चाडपर्व हामीले पनि मनाउन पाए ती संस्कृतिको संरक्षणमा मद्दत पुग्छ ।

कार्यक्रममा धेरै नेपाली समाज निराशावादी, अश्लीलतालाई महत्त्व दिने र संवेदनाहीन बन्दै गएको चिन्ता व्यक्त गरेर त्यसको समाधानमा पहल गर्नुपर्ने बताइएको थियो ।