• ११ पुस २०८१, बिहिबार

कृषि कर्मको उपेक्षा

blog

लोकनारायण सुवेदी 

 कृषि कर्म विश्वमै जीवनको विकल्परहित आधारभूत कर्म हो । जीवन धान्न र चलायमान गराउने अक्सिजन र पानीपछि खाद्य पदार्थ नै हो । त्यो कृषिबाहेक अन्य कतैबाट प्राप्त हुँदैन । कृषिले दिने ऊर्जाले नै मानिस जीवित छ । उसको जीवन चलेको छ । यसलाई हामीकहाँ सामान्य, गाउँले किसानको उपेक्षित र तिरष्कृत कर्मजस्तै मात्र मानिएको छ र तदनुकूल व्यवहार गरिएको छ । फलतः यसले पाउनुपर्ने, प्राथमिक स्थान, सम्मान र शतत् सहयोग पाउन सकेको छैन । कतै पाएको छ भने पनि त्यो पनि व्यापारिक र नाफाको एउटा बजारमुखी दृष्टिकोणले मात्र पाएको छ । स्वयं कृषि र किसानको समग्र हित हुने गरेर कतै पाएको छैन । 

यस सम्बन्धमा शब्दावली, पदावली जेसुकै प्रयोग गरिएका किन न हुन् ती किसानबाट अलग्गिएका बजारसँग जोडिएका र मुनाफाका साधन बन्ने गरी बनाएका जस्ता लाग्छन् । प्रकृतिपछिको यो मानवनिर्मित अर्थात् श्रमजीवी किसानले निर्माण गरेको यो– दोस्रो प्रकृति– खाद्यान्न, पक्वान्न, मिष्ठान्न–अन्न, सागपात, फलफूल, दूध, माछा, मासु जुन रूपमा भए पनि ती प्रचीन, आधुनिक या अत्याधुनिक कल कारखानाका उपज बिल्कुलै होइनन् । तिनलाई दोस्रो प्रकृति–प्रकृतिका अधिशासित नियमको नियमित अनुपालन गरेर गरिने प्रकृतिसँग जोडिएको जीवन्त कर्म मान्नुपर्छ । जीवनको जीवन्त आधार यो कृषिको अभावमा अरू जतिसुकै अत्याधुनिक धेरै नाफा कमाउने विशालकाय उद्योगधन्धा नै किन नहुन् तिनको कतै केही चल्दैन, हलचल बन्द हुन्छ । ती मृत प्राय बन्छन् र सकिन्छन् । त्यसैले कृषिलाई जीवनदायिनी कर्म र किसानलाई जीवनदायिनी शक्ति भनिएको र मानिएको हो ।

किसानले आफूलाई त्यस्तो शक्ति मान्दैन, मान्न दिइएको छैन । उसले आफूलाई काम नलाग्ने धन्धा गर्न अभिशप्त गवार, गाउँले, अशिक्षित रातोदिन झरी बादल, घाम खडेरी, हावा हुरीसँग खेल्ने एउटा कमजोर र छरपस्ट जमात मान्छ । त्यस्तै मान्ने बनाइएको छ । उसले आजका सबै ‘सभ्य’ मानिने र ठानिने सहरवासी, नगरवासीलाई कृषि उपजको आपूर्ति गर्दछ । त्यो अकिञ्चन जमातले आफ्नो कर्म गर्न छोड्यो भने कथित सभ्यको अस्तित्व नरहने कुरा उनीहरूले सोचेकै छैनन्, सोचेकै हुँदैनन् । तिनमा रहेको निष्कपट उच्च मानवीयताले उनीहरूलाई त्यस्तो सोच्ने कुनै कुसंस्कार दिएकै छैन । बरु त्यसको विपरीत ती प्रकृतिसँग खेल्ने, त्यसैमा रमाउने र अधिकांशतः अवोध प्राणी नित्य निरन्तर कृषि कर्ममा लागेका हुन्छन् ।  प्रकृति अनुकूल भइदियो भने खुसी हुन्छन् । प्रतिकूल भइदियो भने पनि त्यसको सामना गर्न उनीहरू बाध्य छन् । रुन्छन्, कराउँछन्, छाती पिट्छन् र फेरि सम्हालिँदै प्रकृतिकै काखमा हिलो, धूलोसँग खेल्छन् । यो साल बिग्रियो अर्को साल कसो नबन्ला भनेर आशावादको स्वप्नमय संसारमा डुब्छन् । यो तिनको नित्य कर्म हो रहँदै आएको छ ।

हो, हाम्रो समाज पनि एक जमानामा उत्तम खेती, मध्यम व्यापार, निच नोकरी मान्ने प्रचलन थियो । त्यसैले समाजले त्यतिबेला कृषिलाई सर्वोपरि स्थानमा राखेको कुरा यसबाट प्रष्ट हुन्छ तर आज त्यसको ठीक विपरीत कृषि कर्म सबैभन्दा निच, व्यापार मध्यम नै र नोकरी सर्वोत्तम बन्न पुगेको छ । कृषिजस्तो आधारभूत कर्मलाई आधारभूत स्थान दिइएको त्यो जमानाको सही कुरालाई आज पनि पुनस्र्थापना गरेर कृषि कर्म र किसानलाई चौतर्फी रूपमा निरन्तर सहयोग गरेर उन्नत तुल्याउन सकिएन भने मानव अस्तित्व नै ठूलो सङ्कटमा पर्ने कुरा दिन प्रतिदिन सन्निकट हुँदै गइरहेको छ । विश्वको बढ्दो जनसङ्ख्या र जमिनको धान्न सक्ने क्षमता र कृषिले दिने समग्र उत्पादन अपुग हुने स्थितिको आकलन गरेर नै संयुक्त राष्ट्रसङ्घले पनि अरू धेरै खान हुने  स्रोत (एडिबल्स) अहिले अस्तित्वमा भइरहेका बाहेक अरू थप झारपात, बोटबिरुवा, पशुपंक्षीसमेतलाई खाद्यवस्तुमा जोड्न बाध्य बनेको  देखिँदैछ । यसले पनि कृषिको विश्वव्यापी महìव, आवश्यकता तथा बढ्दो औचित्य र ज्वलन्त रूपमा चालिनुपर्ने थप  कदमलाई दर्शाउँछ ।

त्यसैले हाम्रो कृषि क्षेत्रमा सरकारी स्तरमा रहेको व्याप्त भ्रष्टाचार र कमिसनखोरीको महाजाल तथा किसान चुसाहा प्रवृत्ति समाप्त पारेर कृषि र किसानमा नयाँ आशा र विश्वासको सञ्चार गर्न यो कृषिलाई आकर्षक तुल्याउने किसमले अघि बढ्नुपर्ने आवश्यकता छ । यस सन्दर्भमा भूमिसँग जोडिएको असमान वितरण, स्वामित्व र भू–उपयोगको समस्या, उत्पादकत्वको समस्यालाई हल गर्नुपर्ने पहिलो सर्वोपरि आवश्यकता छ । यसैलाई विगतदेखि नै वैज्ञानिक क्रान्तिकारी भूमिसुधार भनिँदै आएको हो । यसका अतिरिक्त अर्कोतिर कृषिलाई दिगो र उत्पादनशील तुल्याइराख्न किसानलाई लाभकारी मूल्य प्राप्त हुने किसिमको सुनिश्चित बजार व्यवस्थापन, क्षतिपूर्तिको व्यवस्थाका साथ उन्नत र गुणस्तरीय प्राङ्गारिक, जैविक मल, बीउ, निरन्तर दिगो सिँचाइ प्रविधिको उपाय, रोग कीरा लाग्न नदिने र लागि हालेमा नियन्त्रण गर्ने जैविक प्रविधिको उन्नत उपाय अवलम्बन गरिनु  अत्यावश्यक छ । 

यी सबै कार्यका लागि जल–ऊर्जा शक्ति किसानको प्राथमिकतामा पर्नुपर्छ र कृषि, वन वातावरणलाई जोगाउन विद्युत्को उपयोग गर्ने गरी मूलतः आन्तरिक खपतका लागि विद्यत् उत्पादन कृषिसँगै जोडिएको अर्को महìवपूर्ण र आधारभूत राष्ट्रिय कदम हो । अन्यथा हामी मौसमअनुकूल हुँदा धानबालीलगायत बालीनाली सप्रिने, राष्ट्रिय आम्दानी (जीडीपी) बढ्ने, अर्थतन्त्र सामान्य सुनिने र अनुकूल नहुँदा ती सबै कुरा बिग्रने स्थितिभन्दा माथि उठ्न हामी कदापि सक्ने छैनौँ । अनि आजसम्मको कृषिप्रति गर्ने गरिएको अपहेलना र तिरष्कारकै निरन्तरताबाहेक थप अरू केही थप हुने छैन । त्यसैले आज किसान वर्ग नै कृषिको चौतर्फी समुन्नति, प्रगति र आमूल परिवर्तनका लागि पहिल्यै कहिल्यैभन्दा जागरुप, सङ्गठित र सङ्घर्षशील हुनुको कुनै विकल्प छैन । 

कृषि र किसान सामन्तवाद र साम्राज्यवादबाट मुक्त नभई सही अर्थमा कृषि र किसानको व्यापक समुन्नति हुन सक्ने वातावरण नबन्ने मात्रै होइन, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या पनि सही अर्थमा समाधान हुन सक्दैन । त्यसैले नै किसानका विभिन्न तह र तप्का नयाँ जनवादी क्रान्तिका मेरूदण्ड हुन् भन्ने महìवपूर्ण विश्लेषण गरिएको र निष्कर्ष निकालिएको हो । यो शक्तिलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाकको   महìवपूर्ण आन्दोलनको संवाहक र पहरेदारका रूपमा लिएर अघि बढ्नुपर्छ भन्ने मान्यता विकसित गरिएको हो । विश्वमा पछिल्लो समयमा  कोभिड–१९ महामारीका कारणले उत्पन्न समस्याले गर्दा कृषिमा ध्यान केन्द्रित गर्न विश्वव्यापी रूपमा नै कृषि र किसानमाथि गम्भीर ध्यानाकर्षण गरिरहेको सन्दर्भमा यी कुरालाई जीवन्त र गहन रूपमा मनन गर्न सकियो र सिकियो भने मात्र जैविक विविधताले भरीपूर्ण हाम्रो मुलुकलाई पन सही दिशामा अग्रसर तुल्याउन सकिन्छ । अन्यथा देश र जनताको अस्तित्वमै भयावह  सङ्कट उत्पन्न हुनेछ ।