• १३ पुस २०८१, शनिबार

कलाकारको नयाँ वर्ष

blog

काठमाडौं,  वैशाख १ गते । 

शुभकामना भरी हरेक स्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकुँ म। 

शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकुँ म।  

स्वरका धनी तारा देवीको मधुर आवाजमा रहेको यो शुभकामना गीत आजको सन्दर्भ अर्थात् नयाँ वर्षसँग ठ्याक्कै मेल खाएको छ । नयाँ वर्षलाई नयाँ जोश, उमंग र नयाँ काम थालनीको लागि राम्रो दिनको रुपमा लिने गरिन्छ । वर्ष दिनको योजना पनि नयाँ वर्षकै दिनदेखि नै सुरु गर्ने मानिसहरुको सोच हुन्छ । यो दिनमा शुभकामना आदानप्रदान मात्र नभएर नयाँ काम सुरु गर्ने सोच पनि धेरैको राखेको हुन्छ । त्यसमा पनि सेलिब्रेटीको जीवनमा के हुँदैछ भन्ने सबैको चासो रहन्छ । यसै अवसरमा हामीले कलाकारहरुलाई जिज्ञासा राखेका थियौं नयाँ वर्ष कसरी मनाउँदै हुनुहुन्छ भन्ने विषयमा उहाँहरुको जवाफ । 

करिश्मा मानन्धर : नयाँ वर्षको लागि मैलै खासै केही प्लान बनाएको छैन । टुँडिखेलमा योगाको कार्यक्रम रहेको छ । त्यही व्यस्त हुन्छु । सकेसम्म एक्सरसाइजहरु गर्ने, स्वस्थ्य र खुशी रहने प्रयास गर्ने योजना छ । मेरो नयाँ वर्षको तीन वटा रिजोलुसन छ । पहिलो समाज रुपान्तरणको लागि केही गर्ने सोच छ । कोभिडले सबैलाई अत्याएको थियो । यो नयाँ वर्षको मेरो रिजोलुसन भनेको स्वस्थ रहौं, चिन्ता मुक्त बनौं र आत्मबल बढाएर सकारात्मक सोच राखौं । अर्को रिजोलुसन भनेको राजनीतिमा पनि सक्रिय भएको नाताले सबै जनताको विश्वास जित्न सफल हुने प्रयास गर्नेछु । जनताको मनमा राम्रो प्रभाव पार्न सकुँ । समाजको लागि केही गरौं, महिलाको अगुवाई गरौं भन्ने सोचले राजनीतिमा लागेको हुँ । अर्को म आफ्नो पढाईलाई निरन्तरता दिन्छु । सकेसम्म क्लास छोड्न नपरोस । 

दीपाश्री निरौला : म बिहानै ‘प्रबल जनसेवा श्री’ पुरस्कार थाप्न राष्ट्रपति भवन जाँदैछु । यो पुरस्कार मेरो नयाँ वर्षको उपहार भयो । यसपछि घरमा पूजा राखेको छु । यसमै व्यस्त हुन्छु । अनि दिपक जीको जन्मदिनको शुभकामना दिँदै नयाँ वर्षलाई स्वागत गर्दै साथीभाईसँग रमाइलो गर्ने सोच छ । 

हरिहर शर्मा: म धर्मकर्ममा विश्वास गर्ने मान्छे । त्यसैले नयाँ वर्षको उपलक्ष्यमा मैलै घरमा पूजा आयोजना गरेको छु । धर्म र होम मै दिन बित्छ । नयाँ वर्ष शुरु भएको दिनमा राम्रो काम गरे वर्षभरि राम्रो हुने र मिठो खाए वर्षैभरि मिठो खान पाइन्छ भन्ने मान्यता छ । त्यही भएर भोलि घरमा मिठो परिकार खाएर नयाँ वर्षलाई स्वागत गर्नेछु । मन प्रसन्न राख्नुपर्छ । जे भयो सबै बिर्सेर अगाडि बढ्नुपर्छ । नयाँ वर्षको सुरुको दिनमा खुशी भइयो भने वर्षभरि नै खुशी रहन्छौं भन्ने मान्यतालाई प्राथमिकता दिन्छु । 

प्रियांका कार्की: म नयाँ वर्षको दिन कहिले पनि बाहिर जाँदिन । धेरै भिडभाड हुन्छ । म नयाँ वर्ष कुरेर रिजोलुसन बनाउने मान्छे होइन । आफूलाई गर्न मन लागेको र गर्नुपरेको काम तुरुन्तै गर्छु । मैले आजसम्म नयाँ वर्षको रिजोलुसन बनाएको छैन । यो वर्षको पहिलो दिन मेरो घरमै परिवारसँग रमाईलो गर्ने सोच छ । 

दयाहाङ राई:  मेरो खासै नयाँ वर्षको प्लान केही पनि छैन । धेरै ठूलो प्लानकहिले पनि बनाउँदिन । मेरो जीवनमा जे जस्तो आउँछ त्यस्तै टर्छ । नयाँ वर्षको पहिलो दिन दिनहुँ जस्तो घर र अफिस गरेर नै बिताउने सोच छ । 

गौरी मल्ल: म सुटिङ मै व्यस्त छु । वर्षको अन्त्य पनि काम नै हुन्छ र वर्षको शुरुवात पनि काम बाट नै हुन्छ । मेरो अरुको जस्तो नयाँ वर्षको रिजोलुसन बनाउन पर्छ जस्तो लाग्दैन । पहिलेदेखि नै अनुशाशित जीवन जिउँदै आएको छु । ममा त्यस्तो नराम्रो बानी त्याग्नुपर्ने केही पनि छैन त्यसैले नयाँ वर्षको पार्टी र रिजोलुसन भन्ने केही हुँदैन । नयाँ वर्षको पहिलो दिन ‘प्रबल जनसेवा श्री’ पुरस्कार बाट सम्मानित हुँदैछु । यसका लागि भोलि बिहानै राष्ट्रपति कार्यलय जान्छु । यसमै मन खुशी छ । 

सुरक्षा पन्त: भोलिदेखि मेरो औपचारिक रुपमा नयाँ फिल्मको सुटिङ शुरु हुँदैछ । त्यसैले म सुटिङमै व्यस्त हुन्छु । सुट छिटो सकियो भने घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्ने प्लान छ । मेरो नयाँ वर्षको रिजोलुसन भनेको ‘वर्क हार्ड’, अनि व्यस्त रहने । 

मुकुन भुषाल: नयाँ वर्षको लागि ‘इभ’ मा साथीहरुसँग बाहिर घुम्न जाने अनि उतै रमाइलो गरेर नयाँ वर्षको दिन फर्किने प्लान छ । मेरो नयाँ वर्षको रिजोलुसन खासै केही छैन । सँधै यो गर्छु, त्यो गर्छु, नराम्रो बानी छोड्छु भनेर हुने पनि हैन । जे गर्छ समयले गर्छ, हाम्रो बसमा केही छैन भन्ने हो छोड्ने हो ।